बागलुङका भुवन कँडेल पोर्चुगलको भिला रियाल पुग्दा अत्यधिक चिसो थियो। मौसमी भिसामा गएका उनको स्पेनको सिमाना नजिक पर्ने भिला रियालमा स्याउ टिप्ने काम थियो।
चिसो धेरै थियो। पानी पनि खुब पर्थ्यो। चिसो र वर्षासँग जुध्दै खुला बगैंचामा कठ्यांग्रिँदै काम गर्नुपर्थ्यो।
'हामी माइनस ३ डिग्रीसम्मको चिसोमा काम गर्थ्यौं। तुसारो जम्थ्यो। काम गर्न धेरै गाह्रो हुन्थ्यो,' भुवनले भने।
उनी सन् २०१९, सेप्टेम्बरमा गएका हुन्।
बगैंचामा करिब २५ जना नेपालीको समूह थियो। खाना आफै पकाएर लैजानुपर्थ्यो। खाना खाँदासम्म चिसोले सेलाइसकेको हुन्थ्यो।
भुवनको तलब करिब ६ सय युरो थियो।
उनले दुई महिना स्याउ टिप्ने काम गरे। निकै गाह्रो हुन थालेपछि उनी विकल्प खोज्न थाले। सोही क्रममा उनले लिस्बनस्थित एउटा चारतारे होटलमा भाँडा माझ्ने काम पाए।
त्यो तारे होटलमा काम पाउन कि पोर्चुगिज भाषा जान्नुपर्थ्यो कि त्यहाँको बसोबास कार्ड हुनुपर्थ्यो। भुवनसँग दुवै थिएनन्।
'न मसँग कार्ड थियो, न भाषा आउँथ्यो। त्यस्तो अवस्थामा पनि मैले त्यहाँका हेडसेफसँग सिधै कुरा गरेर काम पाएको थिएँ। तर त्यो अवसर कोरोनाले खाइदियो,' उनले भने।
कोभिड महामारीले पोर्चुगलको होटल क्षेत्रमा निकै असर पारेको थियो। होटलमा उनी नयाँ थिए। कामबाट निकालिनेमा उनी पनि परे।
भुवन फेरि कृषि कामतिरै फर्किए। कृषिकर्मका लागि तोरेस भेद्रास गए। त्यहाँ डेढ वर्ष काम गरे। कागजात मिलाउनुपर्ने भएकाले त्यहाँको काम छाडेर उनी फेरि लिस्बन फर्किए।
लिस्बनमा एक नेपालीकै रेस्टुरेन्टमा भाँडा माझ्ने काम पाए। उनमा कुक बन्ने रूचि थियो। पोर्चुगिज परिकार बनाउन सिक्ने इच्छा जागिरहेको थियो। त्यही क्रममा उनलाई खाना पकाउने मौका जुर्यो।
'त्यहाँका सेफले मलाई १५ दिनको समय दिनुभयो। १५ दिनमा काम सिक्यौ भने किचन सम्हाल्न सक्छौ, नभए तिमीलाई कामबाटै निकाल्छु भन्नुभयो। मैले मलाई सिकाउनुस्, म गर्छु भनेँ। मैले १५ दिनमै सिकेँ पनि। १६ औं दिनमा उहाँ बिदा हुनुभयो,' उनले भने।
त्यसपछि भुवनले नै उक्त रेस्टुरेन्टमा कुकको जिम्मेवारी सम्हाले। त्यहीँ काम गर्दा वेटर काम पनि सिके।
'यहाँ आउने पर्यटकहरूलाई बाटोमा उभिएर आग्रह गर्दै बोलाउनुपर्छ। मैले त्यो काम पनि गरेँ। नबोलाएसम्म मान्छे आउँदैनन्। धेरै कुरा सिक्ने मौका पाएँ,' उनले भने।
त्यसपछि उनले कहिले पोर्चुगिज त कहिले नेपालीका विभिन्न रेस्टुरेन्टमा काम गरे।
पोर्चुगल सरकारको स्वामित्वमा रहेको इनतेल फाउन्डेसनले सञ्चालन गर्ने हलमा पनि काम गर्ने मौका पाए। तर त्यहाँ लामो समय टिकेनन्। चार महिना काम गरेर राजीनामा दिए।
हाल उनी वेटर छन्। घरनजिकैको इटालियन तथा सुसी रेस्टुरेन्टमा वेटर काम पाएपछि कुकको काम छाडेको उनले बताए।
'अवसर पाएका बेला धेरै काम सिक्यो भने जुन अवसर आउँछ, त्यसमा गर्न सकिने रहेछ। कुनै पनि काम सिकेर कसैलाई घाटा छैन,' उनले भने, 'जस्तो, मलाई किचनमा काम गर्न मन लागेन भने वेटर हुन सक्छु। वेटर मन लागेन भने बारमा काम गर्न सक्छु। अलराउन्डर भइसकेपछि त अवसरको केही समस्या हुँदैन।'
पोर्चुगल गएपछि उनी एनआरएनए लगायत संघसंस्थामा पनि सक्रिय भए। उनी एनआरएनए पोर्चुगलका पूर्वमहासचिव हुन्।
भाषा र सीप सिकेर जान सके पोर्चुगलमा होटल तथा रेस्टुरेन्ट क्षेत्रमा निकै राम्रो अवसर भएको भुवन बताउँछन्।
उनी पोर्चुगल गएको सात वर्ष पूरा भयो। दुई पटक गरेर डेढ वर्षभन्दा बढी समय कृषि क्षेत्रमा काम गरे। बाँकी करिब पाँच वर्ष होटल तथा रेस्टुरेन्टमा काम गरे।
भुवनले अब परिवारलाई पनि पोर्चुगल लैजाने प्रक्रिया सुरू गरेका छन्। तर पोर्चुगलले कडाइ गरेका कारण प्रक्रिया छिटो अघि बढ्न सकेको छैन।
तर नेपालको अवस्था सुध्रियो, राजनीतिक स्थिरता कायम भयो र लगानी गर्ने वातावरण बन्यो भने आफू फर्किन चाहेको उनी बताउँछन्।
'पहिले पनि म विदेश जान चाहेको मान्छे होइन। देशमै केही गरौं भनेर सुरू गरेका काम असफल भए। किराना पसल चलाउँथेँ, त्यसले धानेन। अनि यहाँ आउनुपर्ने अवस्था आयो,' उनले विगत सम्झिए।
नेपाल छँदा उनले कहिले जागिर त कहिले व्यवसाय गरे। बागलुङमा भाषा सेन्टर पनि चलाएका थिए। त्यो छाडेर केही समय किराना पसल चलाए।
'संघीयतापछि गाउँबाट मान्छेहरू बजार कम झर्न थाले। उतै सामान पुग्न थाल्यो। त्यसैले व्यापार खस्कियो,' भुवनले भने, 'जीवन धान्न नपुगेपछि म विदेशिएको हुँ।'