बागलुङ - बागलुङको सवै भन्दा ठुलो स्थानिय तह बागलुङ नगरपालिका स्थानिय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा जिल्लामै पहिलो भएको छ । स्वमूल्यांकनमा जिल्लाका १० स्थानीय तहमध्ये बागलुङले ८४ प्रतिशत अंक ल्याएर प्रथम भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९/८०को सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार बागलुङ नगरपालिका जिल्लामै प्रथम भएको हो । जिल्लामा ४ नगरपालिका र ६ गाउँपालिका रहेका छन । बागलुङ नगरपालिकाले शासकिय प्रवन्धमा ९ अंक, संगठन तथा प्रशासनमा ७ अंक बार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ९.५ र वित्तिय एवं आर्थिक व्यवस्थापनमा ९ अंक प्राप्त गरेको छ । नगरपालिकाले सेवा प्रवाहमा १४.७५ अंक, न्यायिक कार्यसम्पादनमा ६.५ अंक भौतिक पुर्वाधारमा ९.७५ सामाजिक समावेशिकरणमा ७.५ वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा ७.५ सहकार्य र समन्वयमा ३.५ अंक प्राप्त गरेको नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए । यस अघिको वर्षमा तेस्रो स्थानमा रहेको बागलुङ नगरपालिका यस वर्ष पहिलो स्थान प्राप्त गरेको हो ।
जिल्लाको गलकोट नगरपालिकाले ८३.५० अंक प्राप्त गरेर दोस्रो स्थान प्राप्त गरेको छ भने जैमिनी नगरपालिका र बरेङ गाँउपालिकाले ८०.७५ बराबरी अंक ल्याएर जिल्लामा तेस्रो स्थान प्राप्त गरेका छन । लिजामा निसीखोला गाउँपालिकाले ७३.५० अंक बडिगाड गाउँपालिकाले ७३ अंक, ताराखोला गाउँपालिकाले ६८.७५ अंक, तमानखोला गाउँपालिकाले ६५.२५ अंक र ढोरपाटन नगरपालिकाले ६३ अंक प्राप्त गरेका छन । जिल्लामा सवै भन्दा कम अंक प्राप्त गर्ने ढोरपाटन नगरपालिका रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजजिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
स्थानीय तहले निश्चित मापदण्डको आधारमा गरेको स्वमूल्यांकनलाई मन्त्रालयले अन्तिम गुणस्तर परीक्षण गरेपछि नतिजा सार्वजनिक गरेको हो । स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्र पहिचान गर्न स्वामूल्यांकन गरिँदै आएको छ ।
लिजाले स्थानीय तहको आवधिक समीक्षाको आधार प्राप्त हुने र स्थानीय सरकारबीच यी प्रक्रियामा प्रतिस्पर्धा गराउने गर्दछन । नेपाल सरकार, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली (लिजा) र स्थानीय तहको बित्तिय सुशासन जोखिम मुल्यांकन प्रणाली सार्वजनिक गर्दै आएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४० प्रतशित भन्दा कम अंक ल्याउनेलाई नाजुक, ४० देखि ६० प्रतशित अंक ल्याउनेलाई कमजोर, ६० देखि ८० प्रतशित अंक ल्याउनेलाई राम्रो, ८० प्रतिशमाथि अंक ल्याउनेलाई उत्कृष्ट स्थानीय तहका रुपमा वर्गीकरण गर्ने गरेको छ ।