काठमाडौँ — कांग्रेसको १४औं महाधिवेशन शुक्रबार उद्घाटन भएको छ । काठमाडाैंको भृकुटीमण्डममा पार्टी सभापति एवं प्रधामन्त्री शेरबहादुर देउवासहितका अतिथीहरुले विधिवत् रुपमा महाधिवेशनको उद्घाटन गरे ।
महाधिवेशनमा विभिन्न दलका प्रमुख, विदेशीबाट आमन्त्रित विभिन्न पार्टीका पदाधिकारीहरुको उपस्थिति छ । महाधिवेशन सत्र उद्घाटन हुनुअघि विभिन्न समुदायिका सांस्कृतिक झाँक्री समेत प्रस्तुत गरिएको थियो ।
महाधिवेशनले आगामी ५ वर्षका लागि नयाँ नेतृत्वसहित १ सय ३४ सदस्यीय कार्यसमिति चयन गर्नेछ भने अन्य ३५ जना खुला केन्द्रीय सदस्य मनोनित हुनेछन् । ‘उत्साह, एकता, रूपान्तरण : सफल बनाऔं नेपालीको कांग्रेसको १४ औं महाधिवेशन’ मूल नाराका साथ सुरु हुने महाधिवेशनमा करिब ४ हजार ६ सय प्रतिनिधि सहभागी छन् ।
उम्मेदवार मनोनयन दर्ता शनिबार बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ मंसिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मंसिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ । उम्मेदवारको पहिलो नामावली प्रकाशन मंसिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मंसिर २६ गते दिउँसो १२:१५ बजे र मतदान मंसिर २७ गते बिहान ८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
मतदान भने भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा हुने जनाइएको छ । मतदानमा २९ किसिमका मतपत्र हुनेछन् भने उम्मेदवारको संख्या र पदअनुसारका आकार तथा रङका मतपत्रको व्यवस्था गरिनेछ । महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्नेबारे छलफल भए पनि अन्तत: कागजको मतपत्रमा नै मतदान गरिने भएको छ ।