बागलुङ । जिल्ला सदरमुकाम रहेको बागलुङ नगरपालिकाले आउँदै गरेका दशै तिहार लगायतका चाडपर्वलाई लक्षित गरी सुपथ मुल्य पसल संचालन गर्ने भएको छ । नगरबासीलाई सस्तो र सुलभ मूल्यमा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको हो । आफ्नै मातहतमा सुपथ मुल्य संचालन गर्ने जिल्लामै पहिलो स्थानिय तह हो ।
बागलुङ नगरपालिकाका उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक राजु खड्काको अध्यक्षतामा बसेको बैठकले बागलुङ नगरमा सुपथ मूल्य पसलको माध्यमबाट आम उपभोक्तालाई सेवा प्रवाह गर्ने भएको हो । नगरभित्रका उपभोक्ताको आवश्यकतालाई मध्यनजर गरी सुपथ मुल्य संचालन गर्नुका साथै बजार अनुगमनलाई अझै प्रभावकारी बनाउने निर्णय गरेको छ । यसका लागि उपप्रमुख खड्काको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समिति गठन गरेको छ ।
समितिको सदस्यमा उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, खाद्य प्रविधि गुण नियन्त्रण कार्यलयका सौरभ श्रेष्ठ, उद्योग,वाणिज्य संघका महासचिव ऋषिराम गौतम र जिल्ला प्रशासन कार्यलयका प्रतिनिधि युवराज शर्मा रहेका छन ।
विगतका वर्षमा सुपथ मुल्य संचालन गर्ने साल्ट ट्रेड्रिङले यस वर्ष संचालन गर्न नसक्ने भए पश्चात नगरपालिकाले आफै संचालन गर्ने योजना बनाएको उपप्रमुख खड्काले जानकारी दिए ।
नगरपालिकाले सदरमुकाममा मात्र नभएर विषेश गरी ग्रामिण क्षेत्रका वडाका आम उपभोक्तालाई पनि पायक पर्ने गरी वडा तहमा पनि सुपथ मुल्य संचालन गर्ने योजना बनाएको खड्काले बताए । ‘नगरपालिकाले आम उपभोक्तालाई प्रत्यक्ष लाभ पुग्ने गरी ग्रामिण क्षेत्रका वडाहरुमा पनि सुपथ मुल्य पसल संचालन गर्ने योजना बनाएको छ, । उपप्रमुख खड्काले भने,–‘विषेश त दैनिक उपभोग्य बस्तु चिनी, नुन, तेल नै उपभोक्ताका लागि बढि आवश्यक वस्तु हो यसलाई नै नेपाल खाद्य संस्था लगायतका कार्यालयबाट समन्वय गरेर बजार क्षेत्र सँगै ग्रामिण भेगलाई पनि जोड दिएका छौं । सदरमुकाम देखी टाढा रहेका वडाका सर्वसाधारणलाई पनि पहुँचमा ल्याउने गरी संचालन गर्ने योजना रहेको उनले बताए ।
बैठकले बजारमा अखाद्य बस्तुको विक्रि वितरण रोक गर्नका निम्ती बजार अनुगमन कार्यक्रमलाई अझै प्रभावकारी बनाउने निर्णय गरेको छ । बजार क्षेत्रमा अनुगमनलाई नियमित र प्रभावकारी बनाउनका निम्ती नगरपालिकाले नगर प्रहरीलाई खटाएको र यसलाई अझै प्रभावकारी बनाउन विषय विज्ञ समेत खटाईने बताईएको छ ।
बजारका केही व्यापारीहरुले यस अघिको निर्णय अटेर गर्दे पसलमा मुल्य सूची नराखेको पाइएकोले मुल्य सूची अनिवार्य गर्न लगाउने, पानीपुरी तथा चना चटपट खुल्ला रुपमा राख्न नपाउने गरि सुचना प्रवाह गर्ने निर्णय गरेको नगर उपप्रमुख खड्काले बताए । स्थानिय उत्पादन फलफुल तरकारी बाहेकका अन्य सामाग्रीको ठेला वा सडकमा राखेर व्यापार गर्न रोक लगाउने तथा दर्ता विना संचालन भएका सवै प्रकारका घुम्ती व्यापारीलाई नियन्त्रण गर्ने नगरपालिकाले जनाएको छ ।