बागलुङ । काठेखोला गाउँपालिकाले आर्थिक वर्ष २०८२/ ०८३ कोलागि ५८ करोड ६९ लाख ८३ हजारको बजेट पारित गरेको छ ।पालिकाको १७औँ अधिवेशनमा उपाध्यक्ष तेजबहादुर थापाले प्रस्तुत गरेको बजेट पारित गरिएको हो ।
बजेटमा आगामी आर्थिक वर्षको लागि सशर्त चालु तर्फ ३१ करोड १२ लाख, सर्शत (पूँजीगत) तर्फ १ करोड ४० लाख र चालु तर्फको खर्च ७ करोड ३० लाख रुपैयाँ विनियोजन गरिएको हो ।
पालिकाले पूर्वाधार विकासकोलागि २ करोड १९ लाख, आथिर्क विकास कृषि, पर्यटन, उद्योग तथा वाणिज्य, सहकारी र वित्तीय क्षेत्रको लागि एक करोड १५ लाख विनियोजन गरिएको छ ।
सार्वजनिक सेवा तथा क्षमता विकासको लागि ४५ लाख, वन, वातावरण तथा विपद व्यवस्थापनको लागि २५ लाख, संघीय सरकार विशेष अनुदानको लागि ४५ लाख र डाँग्रेखोला ढोटेपाटा, पिडाल्ना सिँचाई आयोजनाको लागि ६५ लाख, ढोलकाटेचोक, तंग्राम वडा कार्यालय भवन सात्लेस हुँदै धम्जा देउराली सडक स्तरोन्नतिको लागि १ करोड २१ लाख विनियोजन गरिएको छ ।
धम्जा खानेपानी आयोजनाको लागि ३९ लाख ८३ हजार, सुलडाँडा किम्बोट, धरमदास हुँदै लामखुङ ऋषिचोक सडक स्तरोन्नतिको लागि ६० लाख ८ वटा वडाको लागि ३ करोड ७० लाख, गाउँपालिकाको दुईवटा गौरवको आयोजनाको लागि १ करोड, वडागत समपुरक योजनाको लागि ६० लाख, संघ, प्रदेश समपुरक योजनाकोलागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।