बागलुङ – बागलुङको गलकोटमा निर्माणधिन मध्य दरमखोला ‘ए’ (३ मेगावाट) र ‘वि’ (४.५ मेगावाट) जलविधुत आयोजनालाई प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकले लगानी गर्ने भएका छन् । मध्य दरमखोला ‘ए’ प्रवर्धक कम्पनी ह्वाईटगोल्ड मल्टी इनर्जी प्रा.लि. र मध्यदरम खोला ‘वि’ प्रवर्धक कम्पनी माइलस्टोन हाइड्रोपावर प्रा.लि. तथा प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबिच लगानी सम्झौता भएको छ ।
लगानी सम्झौतामा कम्पनीको तर्फबाट ह्वाईटगोल्डका अध्यक्ष हेम बहादुर खत्री र माइलस्टोनका अध्यक्ष शिव गिरीले तथा प्रभु बैंकको तर्फबाट चिफ विजनेस अफिसर (सिविओ) रेणु प्रसाद पाँण्डे र सेञ्चुरी कमर्सियल बैंकको तर्फबाट चिफ क्रेडिट अफिसर ((सिसिओ) राजेश भण्डारीलेले हस्त्ताक्षर गरेका छन् ।
मध्य दरमखोला ‘ए’ साना जलविद्युत आयोजना ३ मेगावाट (३०००किवा) र मध्य दरमखोला ‘वि’ साना जलविद्युत आयोजना ४.५ मेगावाट (४५००किवा) दुई बर्षभित्रमा विधुत उत्पादन गर्ने गरी कार्य समपन्न गर्न वैंकको केन्द्रिय कार्यालय काठमाण्डौंमा मंगलवार लगानी सम्झौता भएको कम्पनीका सञ्चालक सदस्य हरिनारायण गौतमले वताए ।
मध्य दरमखोला ‘ए’ जलविधुत आयोजना समपन्न गर्न रु. ६७ करोड र मध्य दरमखोला ‘वि’ जलविधुत आयोजना समपन्न गर्न साढे ९४ करोड लाग्ने अनुमान गरिएको छ । त्यसमध्ये दुई बैंकले रु. १ अर्ब लगानी गर्नेछन् । दुवै कम्पनीमा स्वपुँजी ६४ करोड ७३ लाख लगानी हुनेछ । स्वपुँजी प्रवर्धक र स्थानीयले जुटाउने छन् ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै सेञ्चुरी बैंकका सिसिओ भण्डारीले आयोजनालाई तोकिएको समयमा समपन्न गर्न प्रवर्धकहरुलाई आग्रह गरे । कम्पनीका अध्यक्ष खत्री र गिरीले आयोजना तोकिएको समय भित्रै सम्पन्न हुने र सवै प्रक्रिया पारदर्शी रुपमा गरिने वताए ।
कम्पनीका प्रवन्ध निर्देशक अनिल खड्काले आयोजनामा निर्माण कार्य भइरहेको र लगानी सम्झौता भएकोले अव निर्माणको कामले थप तिव्रता पाउने वताए । उनले अवको डेढ बर्ष भित्रमा नै विधुत उत्पादन हुने जानकारी दिए ।
इन्जिनियर शंकर बस्यालले स्थानीयको सहयोग, भौगोलिक अवस्था, यातायातको सुगमता र वातावरणीय दृष्टिले आयोजनामा काम गर्न सहज हुने भएकाले समयमा नै विधुत उत्पादन हुने विश्वास ब्यक्त गरे ।
मध्य दरमखोला ‘ए’ आयोजनाको पावर हाउस ताराखोला गाउँपालिका वडा नं. १ मा र मध्य दरमखोला ‘वि’ आयोजनाको पावर हाउस गलकोट नगरपालिकाको वडा नं. ५ मा निर्माण हुदैछ ।
यहाँबाट उत्पादित हुने विधुत नेपाल विधुत प्राधिकरणको हरिचौर सवस्टेशन मार्फत राष्ट्रिय प्रशासरण लाईनमा जोडिने सञ्चालक सदस्य गौतमले वताए ।