बागलुङ- जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर एक कुश्मिसेरामा सोमबारबाट सञ्चालन भैरहेको दोस्रो दिन विभिन्न कार्यक्रमहरु भएका छन् । महोत्सवको दोस्रो दिन मंगलबार खुल्ला उपमेयर कप महिला भलिबल प्रतियोगिता, बि लेभल डबल ब्यामिन्टन लगायतका खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरु भएका छन् ।
मंगलबार खुल्ला उपमेयर कप भलिबलको जैमिनी नगरपालिकाका नगर उपप्रमुख लिला राना मगरले उद्धघाटन गरेका थिए । मङ्गलबार राष्ट्रियस्तरका चर्चित कलाकार रेशम निर्दोष, डिलु थापा मगर, निशा पोखरेल लगायतले आफ्नो साङ्गीतिक प्रस्तुति गरेका थिए । महोत्सवमा वडा स्तरीय रत्यौली प्रतियोगिता, वडा स्तरीय भजन प्रतियोगिता, माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता, जैमिनी डान्स आइडल, कृषि उपज तथा पशु प्रदर्शनी, भजन, सोरठी, सालैजो, यानिमाया, झ्याउरे सहितको झाँकी, हस्तकला प्रदर्शनी लगायतको रमाइलो मेला हुने छन् । त्यस्तै, महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको साँस्कृतिक कार्यक्रमहरु हुने आयोजकले जानकारी दिएको छ ।
महोत्सव स्थलमा प्रवेश गर्दा मास्क अनिवार्य
कोरोना संक्रमितको बिरामीको संख्या बढ्दै जाँदा महोत्सव आयोजक सहारा युवा क्लवले महोत्सव स्थलमा प्रवेश गर्दा मास्क अनिवार्य गरेको छ । कोरोना भाइरसको जोखिम कम होस् भनेर महोत्सव स्थलको प्रवेशद्वारमा स्यानिटाइजर तथा साबुन पानीले हात धुने व्यवस्था समेत गरेको आयोजक सहारा क्लवका अध्यक्ष सुरेश सुनारले जानकारी दिए ।
निर्धारित समय अगावै समापन हुँदै महोत्सव
माघ चार गतेसम्म सञ्चालन हुने तय गरिएको महोत्सव निर्धारित समय अगावै समापन गर्ने तयारी भएको छ । कोभिड–१९ कोरोना भाइरसको सङ्क्रमण बढ्दै जाँदा महोत्सव आयोजकले महोत्सवलाई निर्धारण गरिएको भन्दा दुई दिन अगाडि समापन गर्ने निर्णय भएको छ ।
नागरिक आफै सजग बन्नु पर्छः जिल्ला प्रशासन कार्यालय
कोरोना महामारी बढेको भन्दै सिसिएमसिले २५ जनाभन्दा बढी भिड हुन रोक लगाएको छ । कोरोना महामारी बढ्नु अगावै सञ्चालन भएको महोत्सवमा पुग्ने सर्वसाधारणलाई अनिवार्य सामाजिक दूरी कायम गर्न समेत आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले सबै नागरिकलाई थप सजग हुन तथा पूर्ण स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।