बागलुङ- प्रायजसो भदौको हरितालिका तिज देखी सामान्य तह मेला महोत्सव चल्ने गर्छन । आफ्नो संस्कृति संरक्षणका लागि होस वा उद्योग व्यापारको प्रर्वद्धनका लागि यस्तै उद्देश्यका साथ मेला महोत्सव संचालन गर्ने गरिन्छ । बागलुङको ताराखोला गाउँपालिकामा भने खेतीपाती भ्यायर मध्ये वर्खामा असारे मेला लाग्ने गर्दछन ।
कोरोना महामारीका कारण विगत दुई वर्षसम्म रोकेको परम्परागत मेला यसपाली भव्यताका साथ संचालन गरियो । हरेक वर्ष असार तेस्रो मङ्गलबारदेखि यहाँ ‘असारे’ मेला लाग्छ । यस वर्ष पनि असार २२ गते देखी २६ गते सम्म मेला संचालन भयो ।
खुसी साट्ने, मीठो–मसिनो खाने
विषेशत तरामीमगरको पुस्तैनी मेला ‘असारे’ रहेको छ । खुसी साट्ने, मीठो–मसिनो खाने, प्रकृति र देउता पुज्ने पर्वका रुपमा ताराखोलाका रैथाने मगर ‘असारे मेलालाई लिन्छन ।
पहिले असारे भनेर प्रचलित भए पनि नयाँपुस्ताले ‘असारे मेला’ का रुपमा विकसित गराएका छन । बर्खाको खेतीपाती भ्याएर विश्राम लिन असारे मेला मनाउने गरेको बुढापाका बताउँछन । उजेली पक्ष पारेर मेला सुरु हुने असारे मेला एक साता पहिले जमरा राख्ने र मेला सुरु भएपछि पहिले पिङ राख्ने काम गरिने परम्परागत भेलो सास्कृतिक समितिका संयोजक झकबहादुर घर्ती बताउँछन ।
तन्देरीले पिङ बाट्छन, तरुनीले खाजा बनाउँछन
डोल्पाको ताराभोटबाट आएका पूर्वजले असारेको चलन बसालेको उनको भनाई छ । मेलामा पुखौली परम्परादेखी पूजाआजा गर्ने, बलि चढाउने चढाईन्छ । ‘तारा गाउँमा रहेको ढुंगामा राँगोको बलि दिने गरिन्छ । घर्तिले भने,–‘अघिल्लो दिन गहुँ, चामलको रोटी खाने र भोलिपल्ट मङ्गलबार बूढापाकाले लठ्ठो बाट्ने, युवाले पिङ राख्ने चलन रहेको छ । ‘तन्देरीले पिङ बाट्छन, तरुनीले खाजा (रोटी) बनाउँछन । उनले थपे, पहिले त मेला अवधी भर केही पनि काम नगरी मनोरञ्जन मात्र गर्ने गथ्र्यौ अहिले त्यो पुग्दैन ।
असारे झरीको प्रवाह नगरी मेला मनाईन्छ
मेलालाई साँचेर कूल घरमा राखिएको जमरालाई त्यही पिङमा चढाउने र वाचा बाँध्ने गरिन्छ। गाउँलेले मेलालाई ‘असारे बस्ने’ भनेर पनि चिन्छन्। असारे बसेका बेला खेतीपातीको काम गर्न नहुने मान्यता छ। वर्षात्मा बाढी पहिरोजस्ता प्रकोप नहोस्, रोगव्याधि नलागोस्, अन्नबाली सप्रियोस् भन्ने कामना गर्दै प्रकृति पुजिन्छ ।
पहिलेपहिले यहाँ आउँदा बालबालिका हराउने गरेको र पछि ढुङ्गामा बलि चढाएर पूजा गर्न थालेपछि हराउन छाडेको भन्ने धार्मिक विश्वास छ । विसं १७६६÷६७ तिर डोल्पाबाट बसाइँ सरेर आएका तरामीमगरले थातथलो बसाएको ताराखोला गाउँपालिका–४ र ५ मा असारे विशेषरुपमा मनाइन्छ । बलि र पूजापाठ वडा नं ४ को तारागाउँमा हुने गरे पनि मेला भने ५ को करिमेलामा चल्छ । असारेलाई ताराखोलावासीले आफ्नो मौलिक संस्कृति मान्छन् । बर्खे झरीकोसमेत पर्वाह नगरी हर्षोल्लासपूर्वक असारेमा रमाउँछन् ।
३ सय वर्ष देखीको पुरानो संस्कृति
३०० वर्षअघिदेखि असारेको थिति बसेको बूढापाका बताउँछन्। असारे युवा क्लबका अध्यक्ष ओमबहादुर रोकाले क्लबले असारेको परम्परा धान्दै आएको उल्लेख गरे । उनले मेलाको परम्परा धान्ने र नयाँ पुस्तालाई हस्तान्तरणका निम्ती पनि प्रत्येक वर्ष मनाउँदै आईउको छ । कोरोना महामारीले गर्दा दुई वर्षसम्म रीतिथितिअनुसार पूजापाठ र वाचा बाँध्ने मात्र काम भएको मेला यस वर्षदेखि पुन निरन्तरता दिईएको उनलेब ताए ।
ऐतिहासिक र साँस्कृतिक महत्वको मेला
असारे ताराखोलाको ऐतिहासिक र साँस्कृतिक महत्वको मेला भएको उहाँको भनाइ छ । तारागाउँमा रहेको थानमा पूजाआजापछि करिमेलामा सांस्कृतिक कार्यक्रम तथा खेलकुदको आयोजना हुने गरेको क्लबले जनाएको छ । मेलामा पुरुष÷महिला भलिबल, सामूहिक नृत्य, रस्साकस्सी, धनुषवाण, भाले छुनेलगायतका प्रतियोगिता राखिएको छ। ताराखोलामा प्रचलित सांस्कृतिक झाँकी, गीत तथा नृत्य पनि प्रदर्शन गर्ने गरिएको छ। मेलामा युवायुवती पिङ खेल्ने, मीठा परिकार खाने, असारे गीत तथा नाचमा रमाउने गर्छन्। खेतीपातीपछि आराम गर्ने, आफन्त र मित्रजनसँग भेटघाट हुने अवसरका रुपमासमेत मेलालाई लिइन्छ।
परिश्थिति सँगै मेलाको स्वरुप परिवर्तन
पछिल्लो समय मेलाको स्वरुप केही फेरिँदै गएको छ । धार्मिक आस्था, मान्यता र परम्परासँगै मेलालाई नयाँपन दिन थालिएको हो । परम्परागत रुपमा गरिने सँगै मेलामा विभिन्न प्रतियोगिता पनि संचालन गरिँदै आईएको छ । मेला धार्मिक, सांस्कृतिक मान्यतासँग पनि जोडिएका हुनाले विभिन्न खेलकुद र सासर््कृतिक कार्यक्रम पनि संचालन गर्ने गरिन्छ । मेला भर्न हिल, अर्गल, हटिया, हरिचौर, तमान, खुङ्गा म्याग्दीको रुम, निस्कोट, किमचौरलगायतका ठाउँबाट सर्वसाधारण आउँछन्। ताराखोलाको अर्गल, हिल, अमरभूमि लगायतका गाउँमा पनि बर्खे मेला हुने गरेको छ ।
पाल्पाको अर्गली र डोल्पाको ताराभोटबाट बसाइँसराइ गरी आएका मगरका पूर्वजले मेलापर्वको चलन बसालेका हुन् । ताराखोला मगर समुदायले भदौरे सिस्नो खोस्ने र भुस पोल्ने लगायतका पर्वहरु पनि आफ्नै परम्परागत रुपमा मनाउने गर्दछन ।