राजश्व बुझाउन आउने पहिलो करदातालाई सम्मान

  • ब‌ैशाख ३, २०८०

बागलुङ- बागलुङ नगरपालिकाले कार्यालयमा राजश्व बुझाउन आउने  पहिलो करदातालाई सम्मान गरेको छ । नगरपालिकाले यही बैशाख महिना देखी कार्यालयमा राजश्व तिर्न आउने पहिलो करदाता सेवाग्राहीलाई सम्मान कार्यक्रम सुरु गरेको हो ।  नगरपालिकाले आम नागरिकलाई समयमा नै कर तिर्नका लागि उप्रेरणा जगाउन र उत्तरदायि बनाउनका निम्ती करदातालाई सम्मान कार्यक्रम अगाडी बढाएको हो । बैशाख महिनाको पहिलो दिन कार्यालय खुले सगै पहिलो करदाताको रुपमा बागलुङ नगरपालिका–३ का बन्दना श्रेष्ठलाई नगर उपप्रमुख राजु खड्का सहित निमित्त प्रमुख प्रशासकिय अधिकृत धनप्रसाद पोखरेल र राजश्व शाखामा कार्यरत कर्मचारीहरुले सम्मान गरेका थिए ।  श्रेष्ठलाई नगरपालिकाले मायाको चिनो समेत प्रदान गरेको छ ।

नगरपालिकामा तिर्नुपर्ने राजश्व समयमा नै तिर्नुपर्ने आम सेवाग्राहीको कर्तव्य भएका कारण यसलाई अझै प्रोत्साहन गर्नका निम्ती करदातालाई सम्मान गरिएको नगर उपप्रमुख राजु खड्काले बताए । नगरपालिकाले करको दायारालाई फराकिलो बनाउने र सवै वडा तहमा पनि शिविरहरु संचालन गर्ने तयारी गरेको खड्काको भनाई छ । ‘हामी नगरवासीको समस्यालाई ध्यानमा राखेर करको दायारा पनि फराकिलो बनाउँदै छौं नगर उपप्रमुख खड्काले भने,–‘ करको प्रणाली सुधार गर्न आवश्यक छ समयमा नै राजश्व बुझाउने करदातालाई छुटको पनि व्यवस्था गरिएको छ । वडा तहमा शिविर पनि संचालन गर्नेछौं । अबको तिन महिनालाई राजश्व संकलनमा विशेष ध्यान दिने गरी योजना बनाएका छौं ।’ उनले आम नागरिकले समयमा नै राजश्व बुझाएमा नगरपालिकाको राजश्व संकलनमा पनि बृद्धि हुने विश्वास रहेको बताए । 
खड्काले करदातालाई समयमा नै कर तिरेमा नगरपालिकाले पनि सम्मान गर्ने रहेछ भन्ने सन्देश प्रवाह गर्न करदाता सम्मान कार्यक्रम राखिएको बताए । नगरपालिकाले आर्थिक वर्षको अन्त्य सँगै उत्कृष्ट करदातालाई सम्मान समेत गर्ने जनाएको छ । 
नगरपालिकामा घरबहाल कर, सम्पती तथा भुमी कर, व्यवसाय कर , कवाडी कर , विज्ञापन र मनोरञ्जन र सिफारिस दस्तुर फोहोर मैला शुल्क पञ्जीकरण र नाता प्रमाणित लगायतका शिर्षकमा राजश्व संकलन हुँदै आएको छ । 
आ.व.०७९।०८० मा साउन देखी फागुन सम्म कुल ३ करोड ४५ लाख ४५ लाख ७० हजार २८ रुपैयाँ ९८ पैसा राजश्व संकलन भएको छ । जसमा सवै भन्दा बढि घरबहाल कर ८२ लाख १५ हजार ४७ रुपैयाँ ९४ पैसा रहेको नगरपालिकाको राजश्व शाखाले जनाएको छ । 
नगरपालिकामा प्रशासकिन सेवा शुल्क ९ लाख ५९ हजार ६९७ रुपैयाँ, बहाल विटौरी कर ७३ हजार ९७० रुपैया, नक्सापास दस्तुर २९ लाख २७ हजार ८१५ रुपैयाँ, भुमिकर मालपोतमा ३७ हजार ६५० रुपैयाँ, व्यवसाय कर तर्फ ५६ लाख ३९ हजार ३६३ रुपैयाँ राजश्व संकलन भएको नगरपालिकाका राजश्व शाखाका कम्प्युटर अपरेटर हरिनारायण उपाध्यायले जानकारी दिए । त्यसैगरी सिफारिस दस्तुर बापत २४ लाख ५५ हजार ८४३ रुपैयाँ, प्रशासकिन दण्ड जरिवाना १३ लाख ३५ हजार ९२२ रुपैयाँ, सम्पती कर तर्फ ६४ लाख ४८ हजार २६६ रुपैयाँ, पार्किङ शुल्क ५ लाख ५३ हजार ७०० रुपैयाँ राजश्व संकलन भएको छ । नगरपालिकामा प्रदुषण नियन्त्रण शुल्क बापत ३६ लाख ३८ हजार ७० रुपैयाँ व्यक्तिगट घटना दर्ता दस्तुर ३ लाख ६० हजार ५०० रुपैयाँ, नाता प्रमाणित दस्तुर १ लाख २० हजार ४०० रुपैयाँ अन्य कर ८ लाख ८८ हजार ५०० रुपैयाँ र अन्य दस्तुरमा ९ लाख १५ हजार २८४ रुपैयाँ राजश्व संकलन भएको उपाध्यायले जानकारी दिए । नगरपालिकाले चैत्र बैशाख जेष्ठ र असारमा लक्ष्य अनुसारको राजश्व संकलन गर्ने जनाएको छ ।   
 

प्रतिक्रिया