म्याद गुज्रेका अखाद्य बस्तु खुलेयाम बेच्छन बागलुङका व्यवसायी

  • असोज २२, २०७८

बागलुङ जिल्ला सदरमुकाम बागलुङ बजार क्षेत्रमा म्याद गुज्रेका अखाद्य बस्तु खुलेआम बेचेको पाईएको छ । चाडपर्वको समयमा हुन सक्ने सम्भावित कालोबजारी, अखाद्य वस्तुका विक्रि रोक्नका लागि जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग, उपभोक्ता मञ्च, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङ लगायतका सरोकारवाला निकायले अनुगमन गर्दा सो अखाद्य वस्तु फेला परेको हो ।  स‌ंयुक्त अनुगमन टाेलीले गरेको अनुगमनका क्रममा बानपा –४ उपल्लाचौरमा रहेको जाल्पा सपिङ सेन्टरमा लामो समयदेखि म्याद गुजे्रको अखाद्य वस्तु बेच्नकै लागि राखिएको  अवस्थामा फेला परेको  जिल्ला प्रशासन कार्यालय बागलुङका नायव सुब्बा रामप्रसाद उपाध्यायले जानकारी दिए ।

जालपा सपिङ सेन्टरमा बेच्नकै लागि राखिएका करिब ८० प्रतिशत सामानको म्याद गुज्रेको पाईएको थियो । पसलमा राखिएको अधिकांस खाद्यान्न तथा पेयपदार्थमा म्याद गुज्रिएको पाईएको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्राविधिक सहायक सहन्सा कुमार महतोले सो पसललाई ‘डम्पिङ साईड’को संज्ञा दिए । ‘मैले आजको दिनसम्म यस्तो पसल कतै पनि देखेको थिईन । पसलको टाँडी–टाँसी हेर्दा पुरै डम्पिङ साईट जस्तो देखिन्थ्यो । करिब ८० प्रतिशत सामान त म्याद गुज्रेका थिए ।

जुन सामानको म्याद हेरे पनि म्याद गुज्रिेको थियो,’ मेहताले भने । पसलवालाले कुना कुनामा राखेका सामान त सबै दुर्गन्धित थिए । चना, केराउ लगायतका गेडागुडीमा स–साना किराहरु हिँडिरहेको देखिन्थे, फ्रिजमा राखिएका सामानहरु समेत म्याद गुज्रेका कारण खानको लागि योग्य थिएनन् ।

जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी सुर्यलाल विश्वकर्माले बजार भन्दा केहि पर रहेको जिल्लाको ग्रामिण भेगमा जाने सर्वसाधारणले म्याद नहेरी सामान खरिद गर्ने हुनाले झुक्काउनकै लागि जानाजान म्याद गुज्रेका सामान राखेको हुन सक्ने बताए ।

‘ग्रामिण क्षेत्रमा जाने सर्वसाधारणलाई लक्षिण गरेर पसल राखिएको जस्तो देखिन्छ । गाउँ जाने सर्वसाधारणले म्याद गुज्रेको पनि नहेर्ने हुनाले उनीहरुलाई लक्षित गरेर पसल राखिएको देखिन्छ,’ उनले भने,‘म्याद गुज्रेको सामान व्यवसायीक प्रयोजनका लागि राख्नु लापरबाहीको हो यो ठूलो अपराध हो ।’

जनस्वास्थ्यमाथि खेलवाड गरी नाफा कमाउने उद्देश्यले म्याद सकिएका सामग्री विक्री गर्ने पसललाई तत्काल एक हप्ताको म्याद दिएर सुधार गर्न निर्देशन सहित शिल गरिएको विकले बताए । अनुगमन टोलीले सो पसललाई एक लाख ५० हजार रुपैयाँ जरिवानासहित प्रशासनमा उपस्थित हुन समेत निर्देशन दिएको छ । विश्वकर्माले भने ‘जतिसक्दो छिटो पसल सुधार्न निर्देशन दिएका छौँ, प्रशासनलाई अटेर गरेमा पसलको दर्ता खारेजी समेत गर्न सकिने छ ।’

पसलमा राखिएका म्याद गुज्रिेका खाद्यान्न, पेयपदार्थ, चकलेट, जुस लगायत बरामद गरिएको जिल्ला प्रहरीको कार्यालयका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए । लुकिछिपी पसल सञ्चालन गरेमा कारबाही गरिने समेत उनले बताए । पसलमा राखिएका सबै जसो खाद्यान्न, पेयपदार्थ, चकलेट, जुस लगायतका सामान पसलबाट म्याद गुज्रिएका सामान बरामद गरिएको छ । म्याद गुज्रेका खाद्यान्न, पेयपदार्थ, चकलेट, लगायतका सामान स्वास्थ्यका लागि हानिकारक हुन्छन् ।

नेपालीहरुको महान् पर्व दर्शै तथा तिहार नजिकिदै गएकाले अनुगमनलाई तीब्रता दिईने उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । बजार अनुगमन टोलीले १५ वटा पसल निरीक्षण गर्दा गढीमाई स्टोर्स, न्यु धम्जाली स्टोर्स, शाह स्टोर्सले मूल्यसुची नराख्ने र म्याद गुज्रेका सामान राखिएको भन्दै पाँच–पाँच हजारको दरले जरिवाना समेत गरिएको थियो । प्रसासनले समय समयमा बजार अनुगमनको काम गर्दै आएको छ । 

प्रतिक्रिया