नारायण रिजाल- बागलुङ ! २० वर्ष पहिले देखि निरन्तर खाना पकाउँदै आएको परम्परागत शैलीको चुल्हो, बर्षौ पुरानो फलामे कराई, कराईमा रैनाने बोकाको मासु, त्यही मासु डाडुले चलाउँदै पाहुनालाई स्वागत गर्छन भण्डारी बा, मध्यपहाडी लोकमार्गमा यात्रा गर्ने यात्रुले ‘भण्डारी बा’ भनेर चिनेपनि उनको बास्तविक नाम मनहरी भण्डारी हो, ६० वर्षीय भण्डारीको दैनिकी मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका–२ नागडाँडाका झण्डै २० वर्ष देखी यसरी नै वितेको छ । भण्डारीले पस्कने आर्गानिक स्वादका लागि लोकमार्गमा हिड्ने यात्रुहरु यहाँ नखाई फर्कदैनन् । विगत २० वर्ष देखी लोकमार्गको छेउमा हाम्रो भण्डारी रेष्टुरेण्ट एण्ड खाजा घर संचालन गर्दै आएका भण्डारीको भान्साको स्वाद पाहुनाको रोजाईमा परेको छ ।
आगोमा बनाउँने हुँदा स्वाद पनि फरक र मिठाे
भण्डारीलाई उनको परिवारको दरिलो साथ छ श्रीमती छोरा बुहारीले उनको व्यवसायमा साथ दिएका छन । उनलाई दैनिक ५०÷६० जनाले त फोनबाट नै भण्डारी बा मासुको झोल सँग भात खानुप¥यो ल बनाउनु है भनेर फोन गर्ने गर्छन यसका साथै नियमित आई राख्ने पाहुना त भै हाल्यो । ‘रेष्टुरेण्टमा अर्गानिक स्वाद पाईने हुँदा पाहुनाको हामी रोजाई भएका छौं भण्डारीले कालो कराईमा उम्लिएको मासु चलाउँदै भन्छन,–‘हाम्रो भान्सामा लोकल बोका र खसीको मासु, लोकल कुखराको मासु, दुध, दहि, र लोकल चामलको भात सवैको रोजाई भएको छ । यसका साथै पाहुनाको अडर अनुसार अन्य परिकारहरु पनि अर्गानिक स्वादमा नै बनाउँछौं । सवै खाने कुरा आगोमा बनाउँने हुँदा स्वाद पनि फरक र मिठो हुँन्छ । ’
पहिले पुरानो घरमा किराना र कपडा पसल संचालन गरेका भण्डारीले पछि खाजाघर सञ्चालन गर्ने सोच आयो, खाजा घर संचालन गरे सँगै भण्डारीको परिवारमा सफलता मिल्यो । अहिले दैनिक १ सय बढि यात्रुलाई अर्गानिक स्वाद खुवाएर पठाउँछन भण्डारी बा । २२ वर्षअघि अहिले बसेको घर किन्दा वरिपरि वनपाखा मात्र देखिन्थ्यो । पक्की घर बनिसकेका थिएनन् । सडक छेउमा पुरानो घरलाई व्यवस्थापन गरेर उनले रेष्टुरेण्ट संचालन गरे त्यही रेष्टुरेण्ड अहिले सवैको रोजाई भएको छ ।
मध्यपहाडी लोकमार्ग हुँदै धवलागिरी क्षेत्रका चार जिल्ला सँगै रुकुम, रोल्पा जाने यात्रुको आवातजावत भने बाक्लै हुन्छ । यही यात्रा गर्ने यात्रु अर्गानिक स्वादका लागि भण्डारी बा कोमा पस्ने गर्छन । पोखरा देखी नजिकै भएको हुँदा यहाँ घुम्न जाने पर्यटक पनि नागडाँडा पुग्ने गरेको उनि बताउँछन ।
लोकमार्गको छेउमा पाहुनाको मन जितिरहेका छन
पुख्र्यौली थलोमा भण्डारीले लोकमार्गका यात्रु र अन्य पाहुनालाई लक्षित गरेर गाउँले प्रकृतिको खाजाघर सञ्चालन गरेका हुन । पाको उमेरमा खाजाघरमा गाउँले स्वाद पस्किररहेका उनले २० वर्षदेखि लोकमार्ग छेउमा पाहुनाको मन जितिरहेका छन ।
लोकमार्गमा यात्रुको चापसँगै पर्यटकीय गतिविधि बढेपछि खाजाघरको क्षमता विस्तार गर्दै लगेको उनले बताए । यात्रुदेखि अन्य पाहुना त्यहाँको रैथाने जातको बोका र कुखुराका परिकारमा बढी लोभिने गर्छन । जैविक र गाउँले स्वादका कारण उक्त खाजाघर ग्राहकको रोजाइमा परेको हो । “स्थानीय खानाका परिकार पाहुनालाई टकार्छौ”, उनले भने, “भात पनि रैथाने जेठोबुढो, पहेँले लगायत चामलको पकाउँछौँ ।”
खाजाघरमा पाइने तात्तातो दूधले पनि पाहुनालाई लोभ्याउने गरेको छ । स्थानीय भैँसी र गाईको दूघ उपलब्ध गराउने गरेको भण्डारीले बताउँछन । खाजाघरमै बसेर दूध पिउनेदेखि किनेर घरमा लैजानेसम्मको सुविधा रहेको उनको भनाइ छ । मासु, तरकारी आदिलाई चाहिन मरमसला पनि सिलौटौमा पिँध्ने गरेको भण्डारी बा सुनाउँछन । मौसम अनुसारका गाउँमा उब्जेको तरकारी पनि उनले बिक्रीमा राख्दै आएका छन ।े साग, काँक्रो, लगायतका हरियो तरकारी अहिले पनि बेचिरहेको भण्डारीले बताए ।
बजारबाट हामीले धेरै सामान किन्दैनौँ,
“बजारबाट हामीले धेरै सामान किन्दैनौँ, भान्छामा अधिकांश स्थानीय उत्पादनको प्रयोग हुन्छ”,उनले भने, “ग्राहकले हाम्रो खाना र आतिथ्यता संस्कारलाई मन पराइदिनुभएको छ, यसमै हामी खुसी छौँ, व्यवसायबाट हाम्रो परिवार सन्तुष्ट छ ।” खाजाघरमा मासुभातको रु. चार सय ५० र मासुचिउराको रु. दुई सय ५० मूल्य तोकिएको छ । पाहुनाको माग हुँदा अन्य खाजा र खानाका परिकारहरु पनि उपलब्ध गराउने गरेको उनि बताउँछन । भण्डारीलाई श्रीमती चन्द्रकला, छोरा सुदर्शन, सुनिल र बुहारी बिमलाले व्यवसायमा सघाउँदै आएका छन । दैनिक सयभन्दा बढी पाहुनालाई खाजाघरले सेवा पु¥याउँदै आएको छ । “धेरैजसो यहाँ खाजाका लागि आउनुहुन्छ, खाना खानेको संख्या केही कम छ”, भण्डारीका छोरा सुनिलले भन्े, “विशेष गरी आगोको चूल्होमा पाक्ने स्थानीय जातको बोका र कुखुराका परिकार पाहुनाको रोजाइमा पर्ने गरेको छ ।”
इन्जिनियर विषयको पढाइ पुरा गरेका छोरा बाबुको व्यवसायमा साथ
इन्जिनियर विषयको पढाइ पुरा गरेका सुनिल पनि अहिले बुबासँगै सोही व्यवसायमा जोडिएका छन । उनलाई आफुले पढेको विषयको जागिर भन्दा बाबु आमालाई सहयोग गर्दा नै आनन्द आउने बताउँछन । दस वर्ष विदेश बसेर फर्कनुभएका भण्डारीका जेठा छोरा सुदर्शन पनि अहिले घरमै बसेर सोही व्यवसायमा हातेमालो गरिरहेका छन । “घरपरिवारको राम्रो साथ र सहयोग छ”, भण्डारीले भने “भान्छामा म आफै पकाउँछु, मैले नभ्याउँदा श्रीमतीले सघाउँछिन्, छोराछोरी पनि काममा उत्तिकै खटिन्छन् ।” ६० वर्षको उमेरमा पनि उनको सक्रियता र परिश्रमलाई धेरैले प्रशंसा गर्ने गरेका छन् । उनको प्रेरणाबाट सो क्षेत्रमा अन्य व्यवसायीलले पनि खाजाघर सञ्चालनमा ल्याएका छन् । ती खाजाघरले पनि मौलिक ढङ्गबाट व्यवसाय प्रवद्र्धन गरिरहेका छन् । भण्डारीले सुरु गर्दा यो क्षेत्रमा एउटा मात्र खाजा घर थियो अहिले वरीपरि पनि आर्गानिक स्वादकै नाममा प्रसस्त मात्रामा खाजा घर होटल रेष्टुरेण्ट खुलेका छन । भण्डारीको रेष्टुरेण्टमा यो मौसममा झनै पाहुनाको भिड लाग्ने गरेको छ । विदाको समयमा घुमघामका लागि धौलागिरी क्षेत्र र अन्नपुर्ण आधार शिविर क्षेत्रमा पर्यटकहरु बढ्ने र यो क्षेत्र हुँदै जाने हुँदा पाहुना पनि बढ्दै गएका हुन ।