निलगिरी सहकारीको १८ औँ साधारण सभा सम्पन्न

  • पुस १२, २०८२

बागलुङ- बागलुङ सदरमुकाममा मुख्य कार्यालय रहेको निलगिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ बार्षिक साधारण सभा शनिबार बागलुङ बजारमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री दिपेन्द्रबहादुर थापाले निलगिरी सहकारी हरेक  समुदायको भरोसा, आर्थिक रूपान्तरणको आधार, र सामाजिक एकताको बलियो स्तम्भ भएको बताए । उनले गाउँगाउँको अर्थतन्त्रलाई चलायमान बनाउन, उद्यमशीलता प्रवद्र्धन गर्न यस सहकारीले खेलेको भूमिका प्रशंसनीय रहेको बताए । 
थापाले सहकारीलाई बचत–ऋणमा मात्र सीमित नराखी उत्पादन, रोजगारी सिर्जना, डिजिटल प्रविधि, र पर्यटनसँग जोडेर विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए । संस्थाका पूर्व सल्लाहकार समेत रहेका थापाले विशेषगरी पूँजी परिचालनमा जोखिम व्यवस्थापन गर्दै पनि सहकारी क्षेत्रले विकास गरेको बताए । उनले हरेक शेयर सदस्यले आफ्नो सहकारीको कारोबारमा ध्यान दिन जरुरी रहेको बताए । 
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेल जिल्ला सहकारी संघका सचिव तेजप्रसाद शर्माले जिल्लामा जुन समस्या झेलेका एक दुई सहकारी बाहेक अन्य सहकारीमा कुनै समस्या नरहेको बताए । उनिहरुले अन्य जिल्लाको तुलनामा बागलुङ सहकारी क्षेत्रको विकासमा अब्बल बन्दै गएको दाबी गरे । 
२०६५ सालमा ३० जना शेयर सदस्यबाट आफ्नो सेवा सुरु गरेको निलगिरी सहकारीमा हाल १ हजार ३ सय बढि शेयर सदस्य रहेका छन । सहकारीले बलेवा क्षेत्रलाई लक्षित गरी बागलुङ नगरपालिका–१३ पैयुँपाटाबाट आफ्नो सेवा केन्द्र संचालन गरेको छ । जिविकोपर्जन र आर्थिक समृद्धिका लागि निलगिरी सहकारी भन्ने अभियानका साथ संचालन गरिएको सहकारीमा झण्डै ४ करोडको शेयर पुँजी रहेको संस्थाका अध्यक्ष मिनबहादुर केसीले जानकारी दिए । संस्थाले आ.व. २०८१।०८२ मा १ अरब ४९ करोड ४६ लाख ४८ हजार ८८१ बराबरको कारोबार गरेको छ । 
साधारण सभाको अवसरमा विभिन्न विधामा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यलाई सम्मान तथा पुरस्कृत गरिएको छ । सहकारीले सामाजिक सुरक्षा रकम प्रदान गर्दै आएको छ । शेयर सदस्य वा आफन्तको मृत्युमा होस वा जन्मोत्सवमा सुत्केरी स्याहार स्वरुप सामाजिक सुरक्षा बापत रकम प्रदान गर्दै आएको संस्थाका सचिव प्रकाश पौडेलले जानकारी दिए । साधारण सभामा सचिव पौडेलले प्रगती प्रतिवेदन कोषाध्यक्ष कृष्ण प्रसाद शर्माको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक परशुराम सुवेदीको लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाले तिनवटै प्रतिवेदन सर्वसम्मत पास गरेको छ । 
सहकारीका अध्यक्ष मिनबहादुर केसीको अध्यक्षता सदस्य हायश्वर सुवेदीको स्वागत, सचिव प्रकाश पौडेल र सहसचिव नारायण रिजालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

प्रतिक्रिया