बागलुङ- जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा परेको प्रभाव र समस्याबारे बागलुङमा छलफल भएको छ । विश्व खाद्य कार्यक्रम र गण्डकी प्रदेशको योजना आयोगले बुधवार बागलुङमा गरेको कार्यक्रममा जलवायु परिवर्तन र यसले कृषि क्षेत्रमा पारेको प्रभावबारे छलफल र चर्चा गरिएको हो । पुनरुत्थानशिलता विश्लेषण तथा जिविकोपार्जन सम्बन्धी विस्तृत अध्ययन कार्यक्रम कार्यक्रममा जलवायु परिवर्तनका लागि कृषि क्षेत्रमा नकरात्मक प्रभाव परेका कारण खाद्य संकटको चूनौति रहेको बताएका छन् ।
जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव कृषि क्षेत्रमा पर्ने र वाताबरणीय समस्याका कारण पुशपालन पनि प्रत्यक्ष प्रभावित हुने गरेकाले कृषकका लागि चूनौतिपूर्ण हुँदै गएको बताए । जलवायु परिवर्तनका कारण मौसमको व्यवहार पनि परिर्वतन हुँदै गएकाले खेतीपातीमा नराम्रो असर पर्दै गएको कार्यक्रममा सहभागीका भनाई थियो । वेमौसमी वर्षात बढ्ने र वर्षातको समयमा अनावृष्टि र अतिवृष्टि कारण कृषि उत्पादनमा नकारात्मक प्रभाव परेको सहभागीले बताए । कार्यक्रममा प्रस्तुतीकरण गर्दै विश्व खाद्य कार्यक्रमका गण्डकी प्रदेश संयोजक विष्णु आचार्यले जलवायु परिवर्तनका कारण किसानहरु बढि मारमा परेको बताए ।
‘जलवायु परिवर्तनका कारण किसानहरु बढि नै मर्कामा छन्,’ उनले भने,‘यसले खाद्य सुरक्षमा खतरा बढेको देखिन्छ ।’ राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक महेश खरेलले कृषि र पशुपालनमा निर्भर रहेको नेपालको ठूलो जनसंख्याको जिविकोपार्जन जलवायु परिवर्तनका कारण संकटमा पर्ने अवस्था दिएको बताए । ‘जलवायु परिर्तनको असर तत्कालै कृषि र पुशपालनको क्षेत्रमा बढि देखिन थालेको छ,’ उनले भने,‘यसको संकट टार्न नेपालले कार्यक्रम तय गर्नका लागि यो कार्यक्रम गरिएको हो ।’
उपयुक्त कार्यक्रम तय गरी जलवायु परिवर्तन पारेका असरसंग जुध्न अहिले अध्ययन थालिएको उनको भनाई छ । ‘विभीन्न ठाउँमा यसबारेमा छलफल र अध्ययन भएका छन्, कतिपय ठाउँहरुमा अध्ययनको काम जारी छ,’ उनले भने । अनुसन्धानले पनि नेपालको खाद्य सुरक्षामा असर परेको देखिएको उनले जानकारी दिए । युवाहरुलाई नेपालमै कृषि र पशुपालनको क्षेत्रमा लगाउन नसके परनिर्भरता कारण नेपालमा खाद्य संकट विकराल हुनसक्ने जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गाना बताउँछन् ।
‘युवाहरुको पलायन बढ्दो छ, खेती र पशुपालनको काम गर्ने मान्छे छैनन्, यसले भोलीको दिनमा ठूलो समस्या ल्याउनसक्छ,’ उनले भने । संविधान सभा सदस्य एवं जिल्ला कृषि सहकारी संघका अध्यक्ष नरबहादुर थापाले स्थानीय जातका बीउहरु उन्नत जातले विस्थापित गर्दा दीर्घकालिन रुपमा समस्या पर्न जाने बताए । उनले स्थानीय रुपमा उत्पादन हुने बीउहरुको संरक्षण गर्दै कृषि क्षेत्रलाई व्यवसायीकरण गर्नुपर्नेमा जोड दिए । राज्यले कृषि क्षेत्रमा लगानी बढाए जस्तो देखिए पनि त्यसको सही व्यवस्थापन नहुँदा असली किसानले सेवा नपाएको उनको गुनासो थियो ।
काम गर्छु भन्नेले बजेट नपाउने र काम नगर्नेले सुविधा उपभोग गरेका कारण कृषि क्षेत्रमा लाग्नेहरु विस्थापित भैरहेको उनको तर्क थियो । कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराइले कृषि क्षेत्रमा अनुगमनको क्षेत्रमा समस्या देखिएको बताए । ‘संघीय संरचनामा गएपछि कृषि क्षेत्रमा सबैभन्दा समस्या देखिएको छ,’उनले भने,‘अधिकार त स्थानीय तहमा पुगेको छ । तर कतिपय सवालहरुमा समस्या देखिएको छ । अनुगमनको पक्ष कमजोर देखिएको छ ।’ कृषिका बीउ र नस्ल सुधारेर जलवायु परिवर्तन अनुकुल बनाउने काम थाल्नुपर्ने उनको भनाई छ ।
जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे, तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा, बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा, ताराखोला गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी पुन लगायतले आफ्नो पालिकाको खाद्य सुरक्षाको अवस्था बारेमा जानकारी गराएका थिए ।
यो अध्ययनबाट भेटिएका समस्या समाधान र खाद्य सुरक्षाका लागि योजना आयोग, मन्त्रालय र विश्व खाद्य कार्यक्रमबाट आवश्यक नीति र कार्यक्रम तय गर्ने लक्ष राखिएको आचार्यले जानकारी दिए । समन्वय अधिकारी कृष्णराज गौतमको संचालनमा सम्पन्न कार्यक्रममा विश्व खाद्य कार्यक्रमका यज्ञ पुन र विश्व खाद्य कार्यक्रमका गण्डकी प्रदेश संयोजक विष्णु आचार्यले कार्यपत्र प्रस्तुत गरेका थिए ।