पोखरा - पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक प्रविधिसहितको हवाई इन्धनगृह (डिपो) निर्माण भएको छ । तीन महिनालाई इन्धन भण्डारणगृह निर्माण गर्ने सरकारको नीति अनुसार पहिलो चरणमा नेपाल आयल निगमले सो डिपो निर्माण गरेको हो ।
निगमले ५५ वर्षपछि आफ्नै लगानी र सिपको प्रयोग गरी डिपो निर्माण गरेको हो । भ्याटबाहेक ७५ करोड रुपियाँको लागतमा तीन हजार छ सय किलोलिटर क्षमताका तीन वटा ट्याङ्कीसहित भौतिक पूर्वाधार निर्माण गरिएको निगमले जनाएको छ । उडान सुरक्षालाई ध्यानमा राख्दै अत्याधुनिक मापदण्ड अनुसारको नियन्त्रण कक्ष, कार्यालय, अग्नि शमन प्रणालीलगायतका पूर्वाधार निर्माण गरिएको छ । आगलागी भएको खण्डमा स्वचालित उपकरणबाट पानीको फोहोरा हालेर निभाउने प्रविधि यसमा जडान गरिएको छ ।
पोखरा विमानस्थल हवाई इन्धन डिपो परियोजना प्रमुख प्रदीपकुमार यादवले निगमको इतिहासमा पहिलो पटक स्वदेशी प्रविधि, स्वदेशी डिजाइन र ठेकेदारको सहयोगमा यो डिपो तयार भएको जानकारी दिनुभयो । यसको विस्तृत परियोजना प्रतिवेदन पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानले तयार पारेको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा भाडामा लिएर विमानस्थलको दक्षिणी क्षेत्रको ३२ हजार ९१५ वर्गमिटर क्षेत्रफलमा यो हवाई इन्धन डिपो निर्माण भएको छ । इन्धन डिपो निर्माणको प्रक्रिया २०७५ सालदेखि सुरु भए पनि २०८० साउनमा मात्र औपचारिक शिलान्यास गरिएको थियो । इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका सहायक डिन डा. सुरज लामिछानेले वैदेशिक परामर्शदाता, लगानी र विज्ञबिना शतप्रतिशत नेपाली विज्ञ र लगानीबाट निर्माण भएको जानकारी दिए ।
निगमका अनुसार साउन पहिलो सातादेखि परीक्षण तथा अन्तिम प्राविधिक प्रमाणीकरणको काम सम्पन्न गरी नयाँ इन्धन डिपो सञ्चालनमा ल्याइने छ ।
पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको बढ्दो भ्रमणलाई ध्यानमा राख्दै सरकार र नागरिक उड्डयन प्राधिकरणले पोखरामा आधुनिक र सुविधासम्पन्न विमानस्थल निर्माण र सञ्चालन गरिरहेको छ । यहाँबाट उडान र अवतरण गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानलाई आवश्यक पर्ने हवाई इन्धन उपलब्ध गराउन विमानस्थल परिसरमै नौ हजार २१५ वर्गमिटर क्षेत्रफलको जग्गा नागरिक उड्डयन प्राधिकरणसँग लिज सम्झौता गरी निगमले उपयोग गर्दै आएको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानको चापलाई ध्यानमा राखी यहाँ निर्माण गरिएका एक हजार दुई सय किलोलिटर क्षमताका तीन वटा ठुला भण्डारणगृहको कुल क्षमता तीन हजार छ सय किलोलिटर छ । ठाडा ट्याङ्कीको उचाइ १२ मिटर र व्यास पनि १२ मिटर रहेको छ ।
यस्तै डिपो सुरक्षामा उच्च सतर्कता अपनाउनका लागि एक हजार दुई सय किलोलिटर क्षमताको अलग्गै पानी ट्याङ्की निर्माण भएको छ । उक्त पानी ट्याङ्कीसँग डिपोको वरिपरि जडान गरिएको अग्नि शमन संरचना आबद्ध गरिएको छ । यसका अतिरिक्त प्रज्वलनशील पदार्थको थप उच्च जोखिमलाई ध्यानमा राखी चार हजार लिटर क्षमताको फोम स्टोरेज ट्याङ्कीसमेत निर्माण गरिएको छ ।
यस डिपोमा फायर फाइटिङ प्रयोजनका लागि २३० हर्सपावर क्षमताका दुई वटा फायर फाइटिङ डिजेल पम्प, १५ हर्स पावर क्षमताको एउटा जक्की पम्प, आठ इन्चको पाइप जडान गरिएको निगमले जनाएको छ ।
हाल पुरानो विमानस्थलमा रहेको डिपोबाट दैनिक दुई वटा ट्याङ्करले इन्धन आपूर्ति गर्दै आइरहेका छन्, जसबाट दैनिक २० देखि २५ किलोलिटर हवाई खपत हुने गरेको जनाइएको छ ।