• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • अर्थतन्त्र

बागलुङ नगरपालिकाका सामुदायिक विद्यालयमा ‘दुई विद्यार्थी, एक डेक्स बेन्च’

  • साउन २०, २०८०

नारायण रिजाल- बागलुङ । जिल्लाको बागलुङ नगरपालिकाले दुई विद्यार्थी एक डेक्स बेन्च कार्यक्रम संचालन गरेको छ । नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययरत छात्र छात्रालाई लक्षित गरी दुई विद्यार्थी एक डेक्स बेन्चको व्यवस्था गरिएको छ । विद्यार्थीहरुको पढाईमा सहजताका लागि नगरले बेञ्च वितरण थालेको हो ।
एउटा बेञ्चमा दुई जना मात्रै विद्यार्थी बस्न मिल्नेगरी तयार गरिएका बेञ्चहरु नगरपालिकाले १४ वडाका विद्यालयका सामुदायिक विद्यालयमा पु¥याउने छ । नगरपालिकाले पहिले चरणमा हरेक वडाको एक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीका लागि पुग्नेगरी यो बर्ष डेक्स बेञ्च वितरण गरेको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए ।  शिक्षामा पूर्वाधार र जनशक्तिको व्यवस्थापनले मात्रै गुणस्तर बृद्धि गर्न सकिने हुँदा नगरपालिकाले यो कार्यक्रमलाई प्राथमिकतामा राखेको नगरप्रमुख श्रेष्ठको भनाई छ । ‘नगरले तयार गरेका बेञ्चमा दुई जना विद्यार्थी आरामले बस्न सक्छन्, उनीहरुको झोला तथा खाजा राख्नका लागि बेञ्चमा नै व्यवस्था मिलाईएको छ । नगरप्रमुख श्रेष्ठले भने,–‘कक्षा कोठामा एकै खालका डेक्स बेन्च भएपश्चात विद्यार्थीलई पनि सहज हुनेछ । यसले शिक्षाको गुणस्तरमा बृद्धि ल्याउनेमा विश्वास लिएका छौं ।’ विद्यार्थीले सर्वसुलभ पूर्वाधार पाउँदा राम्रोसँग सिकाउने गुरु नपाउने अवस्था आउन नदिन शिक्षकहरु जिम्मेबार हुन श्रेष्ठले आग्रह गरे । 
‘हामीले बालमैत्री शासनको परिकल्पना गरेर आउँदो बर्ष बालमैत्री नगर घोषणा गर्ने योजनामा छौं’ श्रेष्ठले भने ‘बालबालिकाका लागि विद्यालयमा सर्वसुलभ पूर्वाधार तयार गर्नु हाम्रो दायित्व हो ।’

यो अभियानलाई सबै विद्यालयका सबै कक्षामा पु¥याउने नगरपालिकाले योजना रहेको छ । गत आर्थिक बर्षको २० लाख रुपैयाँ बजेटले १ सय ६७ बेञ्च खरिद गरिएको थियो, यो बर्ष पनि २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको र खरिद प्रक्रिया तत्काल सुरु गरिने नगरशिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए । नगरपालिकाले पहिलो चरणमा माध्यमिक र आधारभुत तहका विद्यार्थीका लागि बेञ्च उपलव्ध गराउने छ ।
यो बर्ष रामरेखा आधाभुत विद्यालयले ८, रुद्रेपिपल माविले ३३, धवलागिरी बिरेन्द्र माविले १६, कुँडुले माविले १२, कृष्ण आधारभुतले ६, लहरेपिपल माविले ७, तितौरे माविले १५, बौंडेचौर माविले १०, तित्याङ माविले ११, भैरव माविले ११, जनता आविले ९, लक्ष्मीनारायण आमाविले ९, त्रिभुवन माविले १४ र जनताधनले ८ बेञ्च गरी कुल १ सय ६७ डेक्स बेन्च प्रदान गरिएको जसमा ३ सय ३४ विद्यार्थीलाई बस्न पढन पुग्ने नगरशिक्षा अधिकारी पोखरेलले बताए । 
नगरपालिकाका २४ माध्यमिक, ९ आधारभुत र ४९ वटा प्राथमिक तहका गरी ८२ विद्यालयमा यो कार्यक्रम लागु गरिने छ । ‘एकै बर्ष बजेटले पुगेन, कार्यान्वयन पनि कठिन हुन्छ’ पोखरेलले भने ‘क्रमशः सबै विद्यालयमा पुग्ने भएकाले कोही छुट्दैनन् ।’ 
नगरपालिकाले विद्यालयहरुमा सेनेटरी प्याडसमेत वितरण गरेको छ । नगरभित्रका आधारभुत र माध्यमिक तहका सबै विद्यालयलाई सेनेटरी प्याड उपलव्ध गराईएको हो । 
विद्यालयमा गुणस्तरीय प्याड खोजी खोजी नगरपालिकाले उपलब्ध गराएको पोखरेले बताए । विद्यालयमा प्याड रहेसँगै महिनावारी हुने छात्राहरुका लागि यसले निकै सहयोग गर्नेछ भने महिनावारीको बेला छात्रालाई विद्यालय छाड्न बाध्यकारी हुनेछैन । 
संघीय सरकारको ससर्त कार्यक्रम भएकाले नगरपालिकाले सार्वजनिक खरिद प्रक्रियामार्फत प्याड खरिद गरेर वितरण गरेको बताएको छ । विद्यालयमा एउटै डेक्स बेन्च भएपश्चात विद्यार्थीमा थप हौसला बढ्दै जाने शिक्षकहरु बताउँछन । 

प्रतिक्रिया