बागलुङ नगरपालिकाको बजेट १ अरब ३० करोड 

  • असार १०, २०८२

बागलुङ -  बागलुङ नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२/०८३ को लागि १ अर्ब ३० करोड ९५ लाख ५८ हजार ५६९  रुपैयाँको बजेट विनियोजन गरेको छ ।

नगर उपप्रमुख राजु खड्काले मंगलबार १७ औँ नगर सभामा प्रस्तुत गरेको बजेटमा सबै भन्दा बढि सामाजिक विकास तर्फ बिनियोजन गरिएको छ । सामाजिक विकास तर्फ कुल बजेटको ४९.१८ प्रतिशत अर्थात ६४ करोड ४१ लाख ४४ हजार ९२० रहेको छ ।
यसमा आर्थिक अभावको कारण स्वास्थ्य सेवा लिनबाट बञ्चित नगर क्षेत्रका सम्पूर्ण दलित, मुस्लिम र माझी परिवारलाई लक्षित गरी नगरप्रमुख स्वास्थ्य विमा कार्यक्रम, आवासीय विद्यालय, नगर प्रमुख शैक्षिक सुधार, नगर खेलकुद कार्यक्रम विद्यालय शिक्षा अनुदान तथा कार्यक्रम, नगर अस्पताल सञ्चालन दिवा खाजा, आधारभूत स्वास्थ्य सेवा लगायतका कार्यक्रम संचालन गरिने बजेटमा उल्लेख गरिएको छ । 
नगरपालिकाले पूर्वाधार विकास तर्फ ३०.१७ प्रतिशत अर्थात ३९ करोड ५१ लाख ३९ हजार २८० रुपैयाँ बिनियोजन गरिएको छ । यसबाट समपुरक कोष, मुक्तिनाथ बाबा परिक्रमा सडक, गलुवा भकुण्डे सडक, ब्लुहिल पर्यटकीय पूर्वाधार, निर्माणाधीन शहरी शासकीय पूर्वाधार आयोजना, नगर स्तरका निर्माणाधीन आयोजना सम्पन्न गर्ने योजना बनाएको छ । 
आर्थिक विकास तर्फ २.२६ प्रतिशत अर्थात २ करोड ९७ लाख रुपैयाँ रकम विनियोजन गरिएको छ । जसमा  बागलुङ नगरपालिकालाई पर्यटन मैत्री नगरपालिका बनाउन नगरउपप्रमुख पर्यटन विकास कार्यक्रम संचालन, कृषि, तथा पशुपंक्षीमा आत्मनिर्भर बागलुङ कार्यक्रम, सहकारी, जलश्रोत सिंचाई लगायतका कार्यक्रम रहेका छन । 
नगरपालिकाले कार्यालय सञ्चालन तथा  प्रशासनिक खर्चका लागि १३.१६ प्रतिशत अर्थात १७ करोड २४ लाख ४० हजार बिनियोजन गरेको छ । 
सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ ५.२० प्रतिशत अर्थात ६ करोड ८१ लाख ३४ हजार ३६९ रुपैयाँ बिनियोजन गरिएको उपप्रमुख खड्काले जानकारी दिए ।  यसबाट नगर प्रमुख स्वरोजगार कार्यक्रम, विपद व्यवस्थापन, उद्धार राहत कार्यक्रम, फोहोरमैला व्यवस्थापानको लागि जिरो वेष्ट बालमैत्री स्थानिय सासन दिगोपना लगायतका कार्यक्रम संचालन गरिनेछ ।  नगरपालिकाले वडा नं. १ देखी वडा नं. १४ सम्मका साना पुर्वाधार निमाृण तथा वडा स्तरीय कार्यक्रम संचालनका लागि ६ करोड ३० लाख रुपैयाँ विनियोजना गरेको छ । बजेटमा बागलुङ बजारमा कपडा बैंक स्थापनाका लागि आवश्यक बजेट व्यवस्थापन गरिएको छ भने बजार क्षेत्रमा दोहोरो नाली र फुटपाथ सहितको सडकको लागि पनि बजेट विनियोजन गरिएको छ । 
विनियोजित बजेटबाट बागलुङ नगरपालिकाका २३–२८ वर्ष उमेर समुहमा रहेका जेन–जी पुस्तालाई स्थानीय सरकारका कार्यक्रममा सहभागी गराई नगर पर्यटन विकासका क्षेत्रको प्रकृति संस्कृति र सामाजिक स्थितीमा संलग्न हुने वातावरणका लागि  समेत व्यवस्था गरिने भएको छ । 

 

प्रतिक्रिया