बागलुङ- बागलुङमा डेङ्गीका विरामी दैनिक रुपमा बढ्दै गएपछि यसको नियन्त्रण तथा रोकथामका लागि ‘खोज तथा नष्ट’ अभियान सुरू गरिएको छ । समुदायमा सचेतना जगाउन यो अभियान सुरू गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङले जनाएको छ ।
उक्त अभियान वडा नं. १ मा वडा कार्यालय रामरेखा, वडा नं २ मा समीक्षालयरोड रोड, वडा नं. ३ मा बुद्ध बिहार र वडा नं. ४ मा वडा कार्यालयबाट सुरू गरिएको हो ।
अभियानमा जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थयकर्मी, टोलसुधार समितिका प्रतिनिधि र स्थानीयको सहभागिता रहेको छ । अभियानका क्रममा डेङ्गी फैलाउने लामखुट्टको बासस्थान रहेका सडक, नाली लगायत सार्वजनिकस्थलमा रहेका खाल्डाखुल्डी, पुराना टायर, ड्रम आदिको सफाइ गरिएको बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए ।
लामखुट्टेले फूल पार्ने र लार्भा हुर्काउने त्यस्ता स्थल भेटिएमा नष्ट गरिने खनालले बताए ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गी सर्ने उनको भनाइ छ ।
लामखुट्टेको टोकाइबाट बच्न सचेतना जगाउने र अभिमुखीकरण गर्ने काम भइरहेको स्वास्थ्य शाखा प्रमुख खनालले बताए । हरेक व्यक्ति, परिवार र समुदाय सचेत नभएसम्म डेङ्गी रोकथाम र नियन्त्रण गर्न कठिन हुने उनको भनाइ छ । डेङ्गी रोग सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको बासस्थान सबैभन्दा बढी पुराना टायरभित्र जमेको सफा पानीमा रहने गरेको छ ।
सफा र जमेको पानीमा उक्त लामखुट्टेले फुल पार्ने र लार्भा हुर्काउने गर्दछ । लामखुट्टको सोही जीवनचक्र खल्बल्याउन बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्ने गरिएको हो । लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गी नियन्त्रणको उत्तम उपाय मानिन्छ । डेङ्गी रोग नियन्त्रण तथा रोकथामका लागि जिल्लाका सबै वडाहरुमा विद्यालय स्वास्थ्य शिक्षा र समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ ।
जिल्लामा डेङ्गी सङ्क्रमितको संख्या दुई सय ५७ पुगेको छ । सबैभन्दा बढी बागलुङ नगरपालिकामा एक सय ३६ जनामा डेङ्गी रोग देखिएको हो । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार गलकोट नगरपालिकामा ४३, काठेखोला गाउँपालिकामा २३, ढोरपाटन नगरपालिकामा १५, जैमिनी नगरपालिकामा सात, बडीगाड गाउँपालिकामा छ, ताराखोला गाउँपालिकामा चार र निसीखोला गाउँपालिकामा दुई जनालाई डेङ्गी सङ्क्रमण भएको कार्यालय प्रमुख घनश्याम सापकोटाले जानकारी दिए ।
तमानखोला र बरेङ गाउँपालिकामा अहिलेसम्म सङ्क्रमित भेटिएका छैनन पछिल्लो समय जिल्लामा डेङ्गी रोगको प्रकोप बढ्दो क्रममा रहेको उनले बताए । डेङ्गी न्यूनीकरण, रोकथाम तथा व्यवस्थापनका लागि आइतबार सरोकार भएका पक्षहरुबीच बैठक बसी योजना बनाइएको थियो ।
डेङ्गी रोग परीक्षणका लागि किटको अभाव हुन नदिइने प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका दसवटै स्थानीय तहका स्वास्थ्य शाखामा परीक्षण किट उपलब्ध रहेको निमित्त कार्यालय प्रमुख सापकोटाले बताए ।
डेङ्गी रोग नियन्त्रण तथा रोकथामकाका लागि धवलागिरि अस्पताल, सम्बोधन परियोजना, धवलागिरि आयुर्वेद असपताललगायत स्वास्थ्य संस्था तथा निकायहरुसँग आपसी पहल र समन्वय गरिएको उनको भनाइ छ । सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुन सक्ने भएकाले डेङ्गीलाई सामान्य रुपमा लिन नहुने चिकित्सक बताउँछन् ।
डेङ्गीको लक्षण देखिएमा तुरुन्त परीक्षण गरी र आवश्यकता अनुसार उपचार सुरु गर्नुपर्ने उनीहरूको सुझाव छ ।
डेङ्गी सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्ने गरेको छ । अधिकांश डेङ्गीका बिरामी सामान्य उपचारपछि निको हुने गरेका छन् ।