बडिगाड गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

  • जेठ ८, २०८२

बागलुङ : जिल्लाको बडिगाड गाउँपालिकाको सार्वजनिक सुनुवाई वडा नम्बर १ दगातुन्डाँडामा सम्पन्न भएको छ । बडिगाड गाउँपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ बागलुङको सहजीकरणमा मंगलबार सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीले खानेपानीको समस्या समाधानका लागि पहल गरिदिन माग गरेका छन् । बडिगाड—१ का पूर्व वडा सदस्य समेत रहेका अनिल गिरीले भने,‘२०४६ सालबाट हामीले उपभोग गर्दै आएको तारेभिर खानेपानीमा अहिले फेरी वडा नम्बर ४ जलजलाका स्थानीयले पाईप तानेर हामीले खानेपानीमा अवरोध भएको छ । लामो समयदेख भोग चलन गर्दै आएको पानीको मुहान यसरी अरुले जबरजस्ती गर्न मिल्छ ? गाउँपालिकाले यसको समाधानका लागि के गरेको छ ?’ 

पूर्व प्रधानपञ्च समेत रहेको प्रेमलाल पोख्रेलले २०३८ सालमा आफु प्रधानपञ्च हुँदा सुरु गरेको खानेपानी आयोजनामा अहिले समस्या देखिएकाले छिटो भन्दा छिटो समाधान निकाल्न आग्रह गरे । ‘हामीले बडो दुःख गरेर ल्याएको खानेपानी आयोजनामा अहिले समस्या देखिएको छ,’उनले भने,‘यदि खानेपानी भएन भने यहाँको सिंगो वडाको बस्ती नै विस्तापित हुने अवथा आउँछ । चाँडो भन्दा चाँडा समस्या समाधानमा गाउँपालिकाले ध्यान दिओस् ।’ पूर्व सदस्य गिरीले नौटुवामा स्वास्थ्य इकाई स्थापनामा ढिलाई भएको, राष्ट्रपति शैक्षिक सुधारको विद्यालय भवन हावा ढलानमै सिमित रहेको, सवारी साधनले मनपरी भाडा असुल उपर गरेको विषयमा गाउँपालिकाको ध्यानाकर्षण गराए । 

नरबहादुर विकले दलितको विषयमा गाउँपालिकाले के कस्तो कार्यक्रम ल्याएको भनि प्रश्न गरे । टिकाराम छन्त्यालले नौटुवा हम्मेल सडकको समस्या समाधान गर्न माग गरे । दिलबहादुर भुजेलले सार्वजनिक सुनुवाईमा सबै वडाध्यक्षहरु सहभागिता किन भएन, एक घर एक धाराको कार्यक्रम छिटो पूरा गर्न माग गरे । विद्यार्थी विशाल परियारले बाल विवाह लागू औषधको नियन्त्रणका लागि गाउँपालिकाले कदम चाल्नुपर्ने विषयमा प्रश्न उठाए । दिपीका थापाले विद्यालयमा किशोरीहरुका लागि वितरण गरिने सेनीटरी प्याड कहिले आउँछ भने प्रश्न उठाईन् । 

अनिला रेश्मीले निःशुल्क र अनिवार्य शिक्षा नारामा मात्रै सिमित भएको र आफुहरुले कक्षागत रुपमा तोकेरै शुल्न तिर्न बाध्य भएको गुनासो गरिन् । अनिशा सावतले दलित विद्यार्थीका लागि गाउँपालिकाले के काम गरेको छ भनि प्रश्न गरिन् । अनिल परियारले दर्ता भएका क्लबहरुलाई गाउँपालिकाले विभेद गरेको गुनासो सुनाए । बोमबहादुर थापाले बजेट निर्माण गर्दा सक्न्यार नौटुवा बाटोलाई ध्यान दिन आग्रह गरे । रेमबहादुर भुजेलले योजना छनोट र निर्माणमा दलहरुको सहभागितालाई ध्यान दिन माग गरे । 

दानबहादुर सुनार शिक्षा शाखाले विद्यालय शिक्षाको सुधारका लागि ध्यान दिनुपर्ने औंल्याए । शिक्षक विनीता दर्लामीले दगातुन्डाँडा प्राविमा फोटोकपी मेसिन समेत नहुँदा समस्या भएको र विद्यालयमा घेराबार नहुँदा विद्यार्थीहरु जोखिममा परेको सुनाईन् । कार्यक्रममा भिमकुमारी भुजेलले गाउँघर क्लीलिक सञ्चालनमा ल्याए पनि त्यसका लागि भवनको अभाव भएको बताईन् । बीरेन्द्र भुजेलले युवा लक्षित कार्यक्रमको माग गरे, दिपु भुजेलले सामाजिक सुरक्षा कोषमा आवद्धताको विषयमा प्रश्न गरे । 

ज्ञानबहादुर थापाले गाउँपालिकाले अनुदान बाँडेको बाड्यै गर्दा पनि कृषि क्षेत्र व्यवसायिक हुन नसकेको विषयमा ध्यानाकर्षण गराए । कार्यक्रममा उठेका प्रश्नको जवाफ दिंदै गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले गाउँपालिकाले सबै क्षेत्रको समस्या समाधानका लागि सहजीकरणको प्रयास गरिरहेको बताईन् । खानेपानीको विवाद समाधानका लागि नागरिकस्तरमा छलफल गर्ने गरी काम अगाडि बढेको उनले बताईन् । ‘यो विवादको विषय न्यायिक समितिमा पुगेको थियो, नागरिकस्तरबाटै छलफल गरेर समाधान निकाल्ने विषयमा कुरा अगाडि बढेको छ,’ उनले भनिन् । 

उनले गाउँपालिकाको स्वास्थ्य शिक्षा सडक जस्ता आधारभूत आवश्यकतालाई सम्बोधन गर्न आफुहरु हरदम लागिरहेको बताईन् । ‘विद्यालय भवनहरु अलपत्र छन् हामीलाई थाहा छ, तर हामी गाउँपालिकाले त्यसलाई सम्पन्न गर्ने आर्थिक स्रोत छैन, संघीय सरकारसंग जोडदार माग राखेका छौं,’उनले भनिन्,‘मिमित स्रोत साधनबाट सबै समस्याको एकै पटक समाधान गर्न कठिन छ । हामीले संघ र प्रदेश धाएकै छौं ।’ अध्यक्ष अधिकारीले गाउँघरमा परिश्रममा विश्वास गर्ने युवाको खडेरी पर्दै गएको गुनासो समेत गरिन् ।

 ‘हामीले युवा लक्षित गरी विभिन्न उद्यमका कार्यक्रम ल्याएका छौं, तर मेहनती युवाका खाँचो परेको छ, हामीले फोन गरेर ल आउनुस काम गर्नुस हामी अनुदान दिन्छौं भन्दा पनि काम गर्ने युवा देखिएका छैनन,’ उनले भनिन् । उनले सार्वजनिक शिक्षा स्वास्थ्यको विषयमा गाउँपालिका गम्भीर रहेको भन्दै विद्यालय शुल्क उठाउन नपाउने र उठाएको विषयमा गाउँपालिका जानकार नभएको उल्लेख गरिन् । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भीमसेन वनले टोल र वस्तीबाट छनोट भएर आएको आयोजना वडाबाट सिफारीस भएपछि गाउँपालिकाको योजना बैंकमा जम्मा हुने र त्यहाँबाट आवश्यकताको आधारमा बजेट विनीयोजन गरिने जानकारी दिए ।

 उनले योजना अनुगमन र गाउँपालिकामा आएका न्यायिक निरोपणका विषय गम्भीर भएर लागेको बताए । सार्वजनिक सुनुवाईमा गाउँपालिकाको चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दैै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुक्ति पौडेलले हालसम्म पुँजीगत खर्चको ४० प्रतिशत र ६२ प्रतिशत खर्च भएको जानकारी दिए । अहिलेसम्म गाउँपालिकाले निर्धारण गरेको कुल बजेट ७२ करोड ७१ लाख ६२ हजारमध्ये ७३ प्रतिशत अर्थात ५६ करोड ८७ लाख रुपैयाँ गाउँपालिकामा प्राप्त भएको उनले जानकारी दिए ।

 पौडेलले चार करोड १७ लाख ६३ हजार आन्तरिक आय निर्धारण गरिएकोमा १ करोड ३० लाख ७९ हजार रुपैयाँ उठेको जानकारी दिए । बडिगाड गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ९का अध्यक्ष कृष्णबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका सचिव नारायण रिजालले नागरिक सर्वेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष सिर्जना पन्तले सार्वजनिक सुनवाई आचारसंहिता प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन पत्रकार महासंघका सदस्य संगम घर्तीमगरले सहजीकरण गरेका थिए । 

प्रतिक्रिया