बागलुङ- नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्षहरुले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ गरी साबिकको धौलागिरि क्षेत्रमा लगानी बढाउने संकेत गरेका छन् । उनीहरुले यहाँका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गरेर संभावित लगानी र पर्यटन प्रवद्र्धन, धार्मिक क्षेत्रको उत्थानसमेत गर्ने योजना सुनाए ।
पुर्व अध्यक्ष कुशकुमार जोशी, सुरज वैद्यसहित भास्करराज राजकर्णिकारले बागलुङको पञ्चकोट, मालिकालगायतका क्षेत्रको भ्रमण गरेर लगानीको संभावना र आफ्ना चाहनाहरु प्रकट गरेका हुन् । बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठको निमन्त्रणमा उनीहरु आएका थिए । आफ्नो नियमित भ्रमणसँगै श्रेष्ठको आग्रहले उनीहरुले यी क्षेत्रमा भ्रमण गरेको बताए ।
‘हामीले यो क्षेत्रको धार्मिक उत्थान, पर्यटकीय संभावनाको विकास गर्ने र जनतालाई उत्पादनमा लगाउने खालको केही न केही लगानी गरौं भन्ने लक्ष्य राखेका छौं,’ पूर्वअध्यक्ष जोशीले भने, ‘त्यसका लागि यो क्षेत्र उपयोगी छ ।’ चिसो हावापानी, हिमाल देखिने र सडक यातायातले पनि जोडिएकोले ती क्षेत्रमा लगानी गर्दा युवा पलायन रोकिने, पर्यटकीय क्षेत्रको प्रभावले स्थानीय तहहरुले विकास गर्न सक्ने, आयश्रोत बढाउन सक्ने उनले बताए । त्यसका लागि आफ्ना इन्भेस्टमेन्ट कम्पनीहरु सक्रिय बनाउनेसमेत उनले बताए ।
अर्का पूर्वअध्यक्ष सुरज वैद्यले धार्मिक आस्थासमेत राख्ने व्यक्ति भएकोले धार्मिक क्षेत्रमै लगानी गर्न खोजेको बताए । उनले देशमा लगानी मैत्री वातावरण भने चाहिने भन्दै राज्यले वातावरण बनाउन सकेमा उद्योग, व्यवसाय र पर्यटन क्षेत्रमा प्रसस्त लगानी गर्ने उनीहरुको भनाइ थियो । राजकर्णिकारले बागलुङ धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रले महत्वपूर्ण भएकोले सबैको लगानीको साझा लक्ष्य बनाइएको बताए ।
कस्तो खालको व्यवसायमा लगानी गर्ने भन्ने उनीहरुले खुलाएका छैनन् । पर्यटन प्रवद्र्धन भने उनीहरुको लक्ष्य रहेकोले सोही प्रकृतिको हुन सक्ने श्रेष्ठले बताए । पर्यटकीय आर्कषकको गन्तव्य बन्ने बित्तिकै बागलुङको व्यवसायमा चहलपहल बढ्ने छ । तसर्थ पुर्व अध्यक्षहरुलाई बोलाएको उनको भनाइ छ । बागलुङ उद्योग बाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले व्यवसायिक क्षेत्रमा सफल नगर बनाउने चाहना राखेपनि लगानीका वातावरण र अवसर नभएकोले अलमल परेको बताउने गरेका छन् । नगरपालिकाको अगुवाईमा पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि क्युआर कोड बनाउने, पर्यटन लोगो र नारा बनाउने काम भने पर्यटन समिति मार्फत भैसकेको छ ।
बागलुङ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवदेखि चैतेदशै मेला र समय समयमा हुने धार्मिक र सांस्कृतिक मेला महोत्सवलाई अबका दिनमा अन्य उद्यम व्यवसाय र उद्योगधन्दा समेत खोलेर आम नागरिकको रोजगारमा समेत जोड्ने लक्ष्य उनले सुनाए ।
पञ्चकोटमा १ सय ३५ फिट अग्लो विश्वशान्ति सर्वसिद्दी कलस निर्माण गर्ने लक्ष्य छ । उक्त कलसबाहेक अन्य संरचना भने बनिसकेका छन् । नजिकै गौशाला समेत बनिसकेको छ । मालिका मन्दिर एउटै ढुंगा काटेर बनाएपछि गत तीजमा उद्घाटन भएको छ । उक्त मन्दिरमा पुग्दा आँटे–ताकेको पुग्ने विश्वास छ ।