बागलुङ -बागलुङ जेसीज वर्ष २०२४ ले गरेका कार्यहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलनको आयोजना गरी बागलुङ जेसीज वर्ष २०२४ ले एक वर्षमा गरेका कार्यहरु सार्वजनिक गर्दै लक्ष्य लिएका मध्य २ वटा कार्यक्रम बाहेक सबै कार्यक्रम सम्पन्न गरेको जनाएको हो । वर्ष २०२४ को कार्यकाल शुरु हुनासाथ करिव ३३ वटा कार्यक्रम निर्धारण गरेको र ती मध्ये लिट्रेचर फेस्टीवल र भित्तेपत्रिका प्रकाशन गर्न नसकेको अध्यक्ष गणेश महतोले जानकारी दिए ।
अन्य थप कार्यक्रम समेत गरि वर्ष २०२४ मा ५५ वटा कार्यक्रम गरिएको, १७ वटा कार्यक्रममा सहभागिता जनाइएको, १२ वट बोर्ड बैठक र ६ वटा साधारण सभा सम्पन्न गरिएको उनले बताए । अध्यक्ष महतोले एक वर्षको अवधिमा समाज प्रत्यक्ष प्रभाव पार्ने खालको जेसीज कप फुटवल, मेयरसँग विद्यार्थी कार्यक्रम, जेसीज सप्ताह, विभिन्न खालका तालिम सम्पन्न गरिएको र नेपाल जेसीजले आयोजना गरेका हरेक कार्यक्रममा सहभागिता जनाइएको बताए ।
उनले नेपाल जेसीजले दिएको मासिक लक्ष्यलाई पुरा गर्दै १२ महिनामा बागलुङ जेसीजले १२ वटा अवार्ड पाएको, बढि तालिम संचालन गरेको अवार्ड प्राप्त गरेको र गण्डकी प्रदेश स्तरीय वक्तृत्व कला प्रतियोगितामा समेत उत्कृष्टता हासिल गरेको जानकारी दिए । वर्ष २०२४ ले करिव १६ लाखको आम्दानी खर्च गरेको र जसमध्य ५० हजार बचत गर्न सफल भएको पनि जानकारी दिए । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बागलुङका सचिव नारायण रिजालले पनि मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव तारा प्रसाद शर्माले गरेका थिए ।