गड्यौलाबाटै राम्रो आम्दानी गर्दै राङ्खानीका केदार आचार्य

  • कार्तिक ७, २०७८

बर्खाको समयमा गड्यौंला अधिकांश खेतबारीमा पाइन्छ । हड्डी नभएको किरा प्रजातिको यो जीव ओसिलो र मलखाद भएको भएको ठाउँमा पाइन्छ । यो किरा देख्न त सबैले देखेको हुनुपर्छ ।

तर यसको उपयोगिताको बारेमा धेरैलाई थाहा नहुन सक्छ । यसको महत्व थाहा पाएर जिल्लाको जैमिनी नगरपालिका—१० राङ्खानीका एक युवाले भने यही गड्यौंलालाई आम्दानीको स्रोत बनाउन तम्सिएका छन् ।

राङ्खानी पाहीका युवा कृषक केदार आचार्यले गड्यौलाबाटै राम्रो आम्दानी गर्न थालेका हुन् । विगत चार वर्ष यता गड्यौंला पाल्दै आएका उनले यसबाट मनग्य आम्दानी गर्न थालेका हुन् ।

उनले गड्यौंलाबाटै वार्षिक रुपमा दुई लाख हाराहारी आम्दानी गर्दै आएका छन् । ॅगड्यौंलाबाट राम्रो आम्दानी हुने भएपछि मैले पनि गड्यौंलाको व्यावसायिक पालनलाई अगाडि बढाउने योजना अनुसार अगाडि बढेको हुँ,’ उनले भने,ॅठिकठाकै आम्दानी हुन थालेको छ । वर्षमा एक डेढ क्विन्टल गड्यौंला विक्री गर्ने गरेको छु ।’ गड्यौंला मलको रुपमा उपयोग हुने उनी बताउँछन् ।

ॅयो मलको रुपमा प्रयोग हुन्छ,’ उनी भन्छन्,ॅप्राङ्गारिक मलको रुपमा यसको प्रयोगले राम्रो उत्पादन दिन्छ । अहिले किसानहरु यसको प्रयोगप्रति जागरुक हुन थालेका छन् ।’ गड्यौंला मलका लागि म्याग्दीबाट माग आउने गरेको उनको अनुभव छ ।

ॅबागलुङमा त यसको प्रयोग बारेमा धेरै जानकारी नभएर हो कि के हो त्यति धेरै माग छैन,’ उनले भने,ॅम्याग्दीबाट राम्रो माग आउने गरेको छ । यो मल उत्पादन गरेर नबिक्ने भन्ने समस्या छैन ।’ कम्पोस्ट मलको रुपमा प्रयोग हुने गड्यौंला उनले विगतमा पोखराबाट ल्याएर विक्री गर्ने गरेका थिए ।

पछि आफैले नै पाल्न सुरु गरेको उनकोे भनाइ छ । ॅपहिला पोखराबाट ल्याएर विक्री गर्थें पछि आफैले पाल्न थालें,’ आचार्यले भने । पानीको मात्रा बढी सोस्ने हुँदा भूक्षय कम हुने, सुक्ष्म खाद्य तत्व विरुवाले सजिलै प्राप्त गर्न सक्ने, गड्यौलाको मलमा खाद्य तत्व बढी हुने र बारीमा थोरै मल राखे पनि राम्रो उत्पादन दिने हुँदा पछिल्लो समयमा कृषकहरुको रोजाइमा गड्यौला पर्न थालेको छ ।

ॅगड्यौंला थोरै मलको रुपमा प्रयोग गर्दा पनि यसले धेरै फाईदा दिन्छ, अन्य मलसंग मिसाएर प्रयोग गर्दा पनि यसबाट लिन सकिने लाभ बढि नै छ,’ उनी भन्छन् ।

गड्यौंला मल मात्रै होईन हाँस, कुखुरा र माछाको दानाको लागि उपयोग हुने गर्छ । पोखरामा गड्यौला पालेको विषय युट्युवमा देखेपछि आफुलाई पनि गड्यौंला पाल्ने सोंच आएको उनले बताए । ६ वर्षसम्म विदेशमा बसेर पसिना बगाएको उनले अब आफ्नै देश र गाउँमा केही गर्ने निधोका साथ आचार्य जैविक नमुना कृषि फर्म सञ्चालन गरेका हुन् ।

फर्ममा अलैची, च्याऊ, सुन्तला किबी, चियाको नर्सरी समेत सञ्चालन गरेका छन् । गड्यौंलासंगै अन्य कृषि कर्मबाट उनले राम्रै आम्दानी गर्दैै आएका छन् । पाँच वर्षदेखि हालसम्म फर्मको लागि १८ लाख रुपैयाँ लगानी गरेका छन् ।

आचार्यको फर्ममा श्रीमती २ छोरी, भाई, बहिनीले साथ दिएका छन् भने एक जना बाहिरी व्यक्तिलाई समेत रोजगार दिएका छन् ।

प्रतिक्रिया