बागलुङ- बागलुङमा ४५ औँ विश्व पर्यटन दिवसका अवसरमा शान्ति पदयात्रा गरिएको छ । बागलुङ नगर पर्यटन विकास समितिको आयोजनामा प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका मन्दिरदेखि बागलुङ बजारहुँदै शालग्राम संग्राहलयसम्म शान्ति पदयात्रा गरिएको हो । बागलुङको धार्मिक तथा पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारका लागि शान्ति पदयात्रा गरेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष एवं बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए । पछिल्लो समय बिस्तारै बागलुङका पर्यटकीय गन्तव्यहरु चर्चामा आउन थालेको भन्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न पदयात्राले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ ।
पद यात्रामा जिल्लाका उच्च पदस्थ व्यक्तिहरु सहभागी रहेको उनको भनाई छ । खड्काका अनुसार जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापा, बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदी, सुरक्षाकर्मी, पत्रकार, व्यवसायी लगायतको टोलीले पदयात्रा गरेको हो । अब हरेक महिना बागलुङमा धौलागिरी क्षेत्रको कला, संस्कति प्रदर्शन गरिने खड्काले बताए । असोज ११ गते विश्वभर ४५ औँ विश्व पर्यटन दिवस मनाइँदैछ । यस अवसरमा पर्यटन विकास समिति बागलुङ नगरले अन्य सांस्कृति कार्यक्रमसमेत आयोजना गरेको छ ।