बागलुङ - नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गण्डकी प्रदेशको आर्थिक र सामाजिक विकासको लागि नेपाल–चीन जोड्ने मुस्ताङको कोराला नाका पूर्णरूपमा सञ्चालनमा ल्याउनु पर्ने बताएका छन । बागलुङ उद्योग बाणिज्य संघको ६०औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै ढकालले अन्तरदेशीय व्यापार र पर्यटन प्रवर्द्धनका लागि कोराला नाका नियमित संचालनमा ल्याउन जरुरी रहेको बताए । उनले दुई देश विचको व्यापारिक सम्बन्धलाई सुमधुर बनाई आयात र निर्यात दुवै गर्नका निम्ती कोराला नाका नियमित संचालन गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
ढकालले बागलुङ लगायत धौलागिरी क्षेत्रका स्थानीय उद्योगी व्यवसायीले उत्पादन गरेको वस्तु र सेवाहरुको गुणस्तर कायम गरि देशभित्र र बाहिर निर्यातको लागि आवश्यक पहल गर्न महासंघ तयार रहेको बताए । ‘बागलुङमा उत्पादन हुने आलु, भागो, मकै, बाँसको निगालोबाट बनेका वस्तुहरुलाई व्यवसायीकरण र निर्यातको लागि साना तथा मझौला व्यवसायी मिलेर काम गर्नु पर्ने छ, ढकालले भन—‘तपाईहरु मिलेर उत्पादन गर्नुहोस यसको बजारिकरणका लागि यहाँको उद्योग बाणिज्य संघ छन । महासंघ केन्द्रले पनि सहजिकरण र समन्वय गर्नेछ ।’ ढकालले निजी क्षेत्रलाई सरकारले लगानी मैत्री वातावरण बनाउन अझै नसकेको गुनासो गरे । यहाँ धेरै व्यवसायीले लगानी गर्न खोजे पनि सोही अनुसारको वातावरण सृजना हुन नसकेको उनको गुनासो थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष सञ्जीव बहादुर कोइराला, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज बलावती शर्मा, बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, श्रीरंगवैंकटेश मुक्तिनारायण मन्दिरका अध्यक्ष स्वामी ऋषि प्रपान्नाचार्य, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य युवराज राजभण्डारी, बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष ध्रुवराज गौतम, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
साधारणसभाको अवसरमा बागलुङ सदरमुकाममा सिसि टिभी क्यामेरा जडान कार्यमा प्राविधिक र आर्थिक रुपमा सहयोग गर्ने संघ सस्था, बैंक तथा वित्तीय सस्थाहरुलाई, बागलुङ उद्योग वाणिज्य संघको अगुवाईमा रुकुम पश्चिम र जाजरकोटका भूकम्प प्रभावितहरुलाई राहत वितरणमा सहयोग पु¥याउने स्थानीय तह तथा संघ सस्थालाई सम्मान गरिएको अध्यक्ष नरेश कंडेलले जानकारी दिए ।
बागलुङ उद्योग वाणिज्य संघमा स्थापना भएको तारा मेमोरियल अवार्डबाट अन्तर्गत सफल व्यवसायीबाट इनम ब्रदर्शका इन्द्रराज श्रेष्ठ, उद्यमीबाट कोदोको विस्कुट बनाउने गाजा इन्टरनेशनल इन्भेष्टमेन्ट एण्ड रिसर्ज सेन्टरका चानसिंह श्रीष, आर्थिक खोजमुलक पत्रकारीता पुरस्कार नेपाल टेलिभिजनका किरण आचार्य, लक्ष्मी स्मृति अक्षय कोषबाट श्रीरंगवैंकटेश मुक्तिनारायण मन्दिरका स्वामी ऋषि प्रपान्नाचार्य, बागलुङ उद्योग वाणिज्य संघ धौलागिरि बहुमुखी क्याम्पस वाणिज्य पुरस्कारबाट क्याम्पसमा व्यवस्थापन संकाय अध्ययनरत सुमन थापा, संघका कर्मचारी तर्फ रामकृष्ण पौडेल हस्तकला तथा कलाकारिता तर्फ मिलन खत्रीलाई नगद दोसल्ला तथा सम्मान पत्रले सम्मान गरिएको थियो । त्यस्तै सचिवालय तथा कार्यक्रम व्यवस्थापन तर्फ महिला उद्यमी विकास समितिलाई पनि सम्मान गरिएको थियो । साधारण सभाले महासचिव ऋषिराम गौतमको प्रगति प्रतिवेदन र कोषाध्यक्ष नविन कुमार श्रेष्ठको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ ।
कार्यक्रम बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलको अध्यक्षता तथा स्वागत, वरिष्ठ उपाध्यक्ष राजन कुमार शाक्यको धन्यवाद मन्तव्य र महासचिव ऋषिराम गौतमको संचालनमा सम्पन्न भएको थियो ।