नेपाली कांग्रेसको मनोनीत केन्द्रीय सदस्य त्यागेका रोमी गौचन पार्टीको मुस्ताङको जिल्ला सभापति बनेका छन् । पटक–पटक मन्त्री बनेर काम गरिसकेका गौचन मुस्ताङ जिल्लामा सर्वसम्मत सभापति चयन भएका हुन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला सभापति निर्वाचित भएका गौचन नै पहिलो व्यक्ति हुन् ।
वि.सं. २०५९ सालमा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले केन्द्रीय सदस्य मनोनीत गर्न लाग्दा उनले आफूलाई क्रान्तिकारी भन्दै मनोनीत केन्द्रीय सदस्य नबन्ने बताएका थिए । गौचन ०६४ सालमा कोइराला पक्षबाट केन्द्रीय सदस्य मनोनीत हुन लाग्दा ‘पार्टी एकता कस्तो हुन्छ हेरौँ न’ भन्दै टाढिएका थिए ।
०५७ सालमै परराष्ट्र सहायक मन्त्री बनेका गौचन ०७३ सालमा वाणिज्य तथा आपूर्तिमन्त्री बनेका थिए । ०३४ सालदेखि पुल्चोक क्याम्पबाट विद्यार्थी आन्दोलन गर्दै राजनीतिमा प्रवेश गरेका गौचन ०३६ सालको विद्यार्थी आन्दोलनका कारण परीक्षा दिन वञ्चित भएका थिए ।
सहायक मन्त्री हुँदै फुल मन्त्री खाइसकेका गौचन जिल्लामा किन गए त ?
“मेरो एउटै उद्देश्य पार्टी बचाउने हो । नयाँ कुनै योजना लिएर म पार्टी सभापति बनेको होइन,” गौचनले बाह्रखरीसँग भने, “मुस्ताङमा ०४८ सालपछि पहिलोपटक स्वस्फूर्त चारतारे झन्डासहितको जुलुस निस्किएको छ ।”
उनले स्वस्फूर्त रूपमा मुस्ताङमा १५ सयजनाको जुलुस निस्किएकाले कांग्रेसप्रतिको उत्साह कति छ भन्ने कुरा प्रतिविम्बित भएको बताए । अब कम्युनिस्टले कब्जा गर्न खोजेको मुस्ताङका सबै तहमा कांग्रेसको झन्डा फहराउने आफ्नो योजना रहेको उनले सुनाए ।
कस्तो कांग्रेस बनाउने ?
गौचन कांग्रेसले आफ्नो मौलिक पहिचान र अस्तित्व दुवै गुमाउन लागेको भन्दै कांग्रेसलाई कांग्रेसजस्तै राख्नुपर्ने बताउँछन् । “अहिले सिद्धान्त र दिशाविहीन कांग्रेस बनेको छ । कांग्रेसलाई अब कांग्रेसजस्तै बनाउने हो,” गौचनले भनेका छन्, “नागरिक सर्वोच्चता, स्वच्छ र स्वतन्त्र निर्वाचन प्रणाली यी प्रजातन्त्रका मुलभूत सिद्धान्त हुन् । त्यसको प्रभाव कांग्रेसको आन्तरिक राजनीतिमा देखिनुपर्छ ।”
अहिले सबैभन्दा अलोकतान्त्रिक र गैरजिम्मेवार क्रियाशील सदस्यता वितरण भएको भन्दै उनले यसलाई नसच्याए कांग्रेस जोगाउनै मुस्किल पर्ने बताए ।
“जुन ढंगले क्रियाशील सदस्यता वितरण गरिँदै छ । यसले कांग्रेस धान्न सकिँदैन,” गौचनले भने, “क्रियाशील सदस्यता महाधिवेशनको दुई वर्षसम्म खोल्ने र पछिल्लो दुई वर्ष बन्द गरेर नयाँ क्रियाशीलको कांग्रेसप्रतिको बुझाइ परीक्षण गर्नुपर्छ ।”
उनले कांग्रेससँग एकता भएर, समायोजित वा विलय भएर आउने पार्टीहरूको सदस्यताका विषयमा पनि उनीहरू आउँदा नै टुंगो गर्नुपर्ने बताए । “अहिलेजस्तो हचुवामा नेता–नेताका मन्छेलाई सदस्यता भन्दै पार्टी कब्जा गर्ने हतियार बनाउनु हुँदैन,” गौचनले भने ।
कसरी केन्द्रीय सदस्य हुनबाट वञ्चित भएका थिए गौचन ?
गौचनका अनुसार ०५६ मा सांसद निर्वाचित भएपछि उनले अराजकतालाई नै क्रान्तिकारिता मान्ने गरेका थिए ।
“कसैलाई मान्छे नै नगन्ने स्वभाव हामीमा थियो । सुरेश मल्ल, म, महादेव गुरुङ, पुस्करनाथ ओझाको एउटा टिम थियो,” गौचन भन्छन्, “नेताहरूलाई समेत हामीले नगन्दा हामी केन्द्रीय नेताहरूबाट मनोनीत हुने अवसर गुमाएका थियौँ ।”
उनीहरूको टिम नेपाली कांग्रेसको विजभाजनसँगै फुटेको थियो । “०५९ सालमा पार्टी विभाजन हुँदा म गिरिजाबाबुतिर लागेँ । मलाई गिरिजाप्रसादको चम्चा भनियो,” गौचनले भने, “तर, मलाई केन्द्रीय सदस्य मनोनीत गर्छु भन्दा मैले साथीहरूसहित गर्नुपर्छ भन्ने अडान राखे । त्यसैले म मनोनीत भइनँ । सबैलाई मनोनीत गर्न सम्भव नहुने रहेछ भन्ने कुरा धेरै ढिला मात्र थाहा पाएँ ।”
अन्तर्राष्ट्रिय मञ्चमा गौचन
सांसद निर्वाचित भएपछि थकालीले भ्रष्टाचारविरुद्ध सांसदहरूको विश्वव्यापी संगठन ‘गोप्याक’मा समेत काम गरेका छन् । “भ्रष्टाचारविरुद्ध सांसदहरूको विश्वव्यापी संगठन ‘गोप्याक’मा सन् २००७ मा नेपाल च्याप्टरको उपाध्यक्ष भएर काम गरेको थिएँ,” थकालीले भने, “२०१३ मा सार्क राष्ट्रको सचिव भएर काम गरेँ । २०१४ देखि २०२० सम्म विश्वव्यापी समितिको बोर्ड सदस्य भएर कार्यकारी बडीमा काम गरेका थिएँ ।” उनले नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि धेरै काम गर्न बाँकी रहेको बताए । बाह्रखरी