बागलुङ । बागलुङमा संचालन हुने चैत्राष्टमी मेलाको हिसाब किताब सार्वजनिक गरिएको छ । गत चैत्र १३ गते देखी १७ गते सम्म संचालन गरिएको मेलामा कुल ३२ लाख ९८ हजार ९६३ रुपैयाँ खर्च भएको आयोजक बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।
पर्यटन प्रवर्द्धन, संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको प्रचारप्रसार र परम्पराको निरन्तरता दिने उद्देश्यले संचालित मेलामा कुल ३५ लाख ८६ हजार ९५ रुपैयाँ संकलन भएको थियो जसमा ३२ लाख ९८ हजार ९६३ रुपैयाँ खर्च भएको छ । खर्च कटाउँदा मेलाबाट २ लाख ८७ हजार १३२ रुपैयाँ आम्दानी भएको कालिका भगवती गुठी व्यवस्थापन समिति समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।
मेलामा सबैभन्दा बढि कलाकारका लागि खर्च भएको छ । कलाकारका लागि १० लाख ७४ हजार ९५ रुपैयाँ खर्च भएको छ । मेलाको आर्कषणको रुपमा रहेको कालिका कप खुल्ला भलिबल प्रतियोगितामा ८ लाख ३८ हजार ६ सय १३ रुपैयाँ खर्च भएको छ । त्यस्तै लोकदोहोरी गित प्रतियोगितामा ३ लाख ८ हजार, छेलो प्रतियोगतामा २२ हजार ५ सय रुपैयाँ खर्च गरिएको छ । स्टेशनरी तथा मशलन्दमा २७ हाजर ६० रुपैयाँ, सुरक्षा तथा स्वयम सेवकको लागि १ लाख १३ हजार ५१६ रुपैयाँ साउण्ड सिष्टमका लागि २ लाख रुपैयाँ, प्रचार प्रसार ९५ हजार रुपैयाँ, खाना तथा आवासका लागि १ लाख १४ हजार ९ सय रुपैयाँ खर्च भएको अध्यक्ष खड्काले जानकारी दिए । मेलामा अतिथि सत्कार १ लाख १९ हजार ९ सय ६०, सम्मान पुरस्कार ५३ हजार ३०० रुपैयाँ, व्यानर मञ्च टेन्ट व्यवस्थापन ६२ हजार २९५ रुपैयाँ भाडा १ लाख, पानी बिजुली १८ हजार रुपैयाँ, इन्धनमा १८ हजार ३८० रुपैयाँ, यातायातमा ४४ हजार १०० रुपैयाँ फोन तथा इन्टरनेटमा ३ हजार ५ सय र विविधमा ४ हजार ७४० रुपैयाँ खर्च भएको गुठी व्यस्थापन समितिले जनाएको छ ।
त्यसैगरी मेलाका लागि कालिका भगवती गुठी व्यवस्थापन समितिले १० लाख रुपैयाँ सहयोग गरेको थियो । मेलाका लागि रमाईलो मेलाबाट ५ लाख ५० हजार रुपैयाँ, प्रायोजन ४ लाख ७४ हजार ९९५ रुपैयाँ, सह आयोजक संस्थाबाट ८ लाख २७ हजार रुपैया, स्टलबाट २ लाख ९० हजार ५०० रुपैयाँ दर्ता शुल्क ५६ हजार ५०० र अािर्थक सहायता ३ लाख ८७ हजार १०० रुपैयाँ सहयोग प्राप्त भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका कार्यालय प्रमुख तारा शर्माले जानकारी दिईन ।
आम्दानी मध्ये प्रभु बैंकको १ लाख ८१ हजार १ सय र विभिन्न सहयोगी संस्थाबाट ९ लाख ४२ हजार ९४ रुपैयाँ मेला आयोजक संस्थाले भुक्तानी पाउन बाँकी रहेको गुठी व्यवस्थापन समितिले जनाएको छ । मेला मुल आयोजक समिति कालिका गुठीले हरेक वर्ष पत्रकार सम्मेलन मार्फत मेलाको आय व्यय सार्वजनिक गर्दै आएको छ ।