नारायण रिजाल- बागलुङको बलेवामा रहेको भैरवस्थान मन्दिरमा धार्मिक पर्यटक बढ्न थालेका छन । बागलुङ नगरपालिका वडा नं.– १२ अमलाचौरमा रहेको भैरवस्थान मन्दिरको दर्शनका लागि दर्शनार्थीको भिड लाग्ने गरेको छ । दुई दर्जन हिम श्रृंखलाको दृश्यावलोकन पनि गर्न सकिने अग्लो ठाउँको मन्दिरमा पुग्दा मनको इच्छा पुग्ने धेरैको विश्वास रहेको छ । नियमित पूजा हुने मन्दिरमा साताको मंगलबार र शनिबार भक्तजनहरुको चाप बढ्दो रहेको छ ।
कोरोना कहर रोकिए सँगै पछिल्लो गत भदौ देखी यता मन्दिरमा दर्शनार्थीको भिडलाग्न थालेको मन्दिरका पुजारी टेकबहादुर शाहीले बताए । ‘अहिले मंगलबार र शनिबारको दिनमा ४ हजार भन्दा बढि भक्तालुहरु आउँछन । पुजाका लागि लामलागेर पालो पर्खन्छन पुजारी शाहीले भने, ‘बडादसैं र चैतेदसैं लगायतमा अन्य सामान्य दिन भन्दा बढी भीड हुन्छ । मन्दिरमा दर्शन गर्नका धौलागिरी क्षेत्रका चार जिल्ला लगायत कास्की, स्याङजा, गुल्मी, तनहुँ बुटबल लगायतका स्थानबाट भक्तालुहरु आउने गर्दछन । मन्दीर भित्र मूर्ति छोपिएको र गडेको अवस्थामा छन भने तामाको छाना छाइएको मन्दिरको छुट्टै ऐतिहासिक महत्व रहेको छ । कुनै काम विशेषको सफलताका लागि भैरवको भाकल गरेर पूजागर्न आउने चलन रहेको पुजारी शाहीको भनाई छ ।
भैरवको पूजागर्दा आँटेको पुग्छ भन्ने विश्वास
मन्दिरलाई बलेवा क्षेत्रका दर्जनभन्दा बढी गाउँको कोटको रूपमा समेत चिनिएको छ । उक्त मन्दिरमा दर्शनार्थि सँगैै आन्तरिक पर्यटक पुग्ने क्रम बढदो रहेको छ । नारायणस्थान, पैयुँपाटा, अमलाचौर, भकुन्डे, रायडाँडा र कुश्मीसेरा लगायतका गाउँवासीले भैरवस्थानलाई परम्परागत कोटको रूपमा पनि मान्दै आएका छन । मौसमी समस्या र अन्य कामका लागि कोटको पूजागर्ने चलनरहेको छ । भैरवको पूजागर्दा आँटेको पुग्छ भन्ने विश्वासका साथ विभिन्न क्षेत्रबाट दर्शनार्थिहरु आउने गरेको मन्दिर व्यवस्थापनका ठेकेदार राजु मल्लले बताए । गुरुयोजना बनाएर मन्दिर पुनःनिर्माणका लागि व्यवस्थापन समितिले योजना बनाए पनि कुनै काम हुन नसकेकोमा उनले गुनासो पोखे । ‘मन्दीर पुनःनिर्माणका लागि गुरुयोजना बनाएर काम अगाडी बढाईएको हो । केही काम त भएका छन । अहिले अन्य निकायबाट आएको बजेट पनि ज्यादै न्यून छ, पर्याप्त बजेट ल्याएर कामगर्न सके हजारौं पर्यटक लैजान सकिन्छ मल्लले भने, ‘लगानी अनुसारको प्रतिफल पनि उठाउन सकिने सम्भावना छ तर निर्माणको कामगर्न धेरै कठिनाई छ । अग्लो पहाड माथि डाँडामा भएकाले मन्दिर पुनःनिर्माण र नयाँ संरचना बनाउनका लागि समस्या रहेको मल्लले बताए । मल्लका अनुसार यस वर्ष मन्दिरको सत्तल निर्माणका लागि पुर्वाधार विकास कार्यालयबाट पर्यटन विकास कार्यक्रम मार्फत १० लाख रुपैयाँ विनियोजन भएको र त्यो रकम सत्तल निर्माण र मन्दिर अगाडीको ग्राउण्ड सम्माउनका लागि खर्च गरिने छ ।
निस्कृय जस्तै छ मन्दिर व्यवस्थापन समिति
गुरुयोजना बनाएर काम अगाडी बढाए पनि मन्दिर व्यवस्थापन समिति निस्कृय हुँदा सवै काम रोकिएको बागलुङ नगरपालिका–१२ अमलाचौरका वडा अध्यक्ष गुरुप्रसाद पाठकले बताए । विगत ४ वर्ष यता नै मन्दिर व्यवस्थापन समिति सक्रिय नहुँदा विभिन्न निकायबाट आएको रकम पनि उपभोक्ता समिति मार्फत काम गर्नुपर्ने बाध्यता रहेको पाठकले बताए । ‘मन्दिर जस्तो पवित्र स्थलमा राजनितिक नियुक्तीका आधारमा आएको व्यवस्थापन समितिले न काम गर्छ न अरुलाई काम गर्ने मौका दिन्छ ।, पाठकले भने,–‘यहाँ गुठी संस्थानबाटै अध्यक्ष नियुक्ती हुँदा राजनितिक दबाबका आधारमा जिल्ला तहको नेतृत्वमा रहेको राजनितिक दलका नेता आउँछन । उनिहरुले न काम गर्छन न अरुलाई गर्न दिन्छन । गुरुयोजना बनाएर काम गर्ने भनेको अहिले त्यही गुरुयोजना अलपत्र अवस्थामा जस्तै छ ।’ पाठकले मन्दिरको संस्थागत विकासका लागि सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तिलाई अध्यक्ष बनाउनुपर्ने कुरामा जोड दिए । अहिले मालपोत कार्यालयले मार्फत मन्दिरको पुजा आजा संचालनका लागि र त्यहाँबाट उठेको भेटि संकलनका लागि बार्षिक रुपमा ६ लाख ५१ हजार तिर्ने गरी ठेक्का लगाईएको छ । खानेपानीको समस्या रहेको मन्दिरमा दुई वर्ष पहिले ८ लाख रुपैयाँ खर्च गरेर लिफ्टििङ प्रविधिबाट खानेपानीको व्यवस्था गरिएको छ भने मन्दिर वरीपरि स्लेट ढुंगाहरु विछ्याईएको छ ।
१७ करोडको गुरुयोजना, तर बजेट छैन
मन्दीर पुर्ननिर्माणका लागि मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र बहादुर थापाको कार्यकालमा १७ करोडको गुरुयोजना रहे पनि गुरुयोजना अनुसार काम हुन सकिरहेको छैन । गुरुयोजना अनुसार मन्दिर, सत्तल, फूलबारी, आकर्षक गेट, पशु बलि व्यवस्थापन र फोहोर व्यवस्थापन गर्ने छुट्टै ठाउँ बनाइनेछ । गुरुयोजना पूरा गर्ने पुरातत्व विभाग र पर्यटन बोर्डमा पनि सहयोग माग गरिएको अध्यक्ष पाठकले बताए । मन्दिर सम्म पुग्नका लागि पुर्वाधार विकास कार्यक्रम मार्फत सडक कालेपत्रे हुने काम भै रहेको छ ।
दर्जनौ हिमश्रृङ्खला हेर्न पुग्छन पर्यटन
विसं १७८९ मा चौबीसे राज्य अन्तर्गत मन्दिर रहेको क्षेत्र पर्वते राजाको नियन्त्रणमा रहेको किंवदन्ती रहेको छ । मन्दिरमा तत्कालीन राजाहरूको भनिने पुराना खड्ग र त्रिशूल पनिरहेका छन । भैरवस्थान मन्दिरबाट बाट माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि, निलगिरि लगायतका हिमालश्रृंखला देख्न सकिन्छ । यिनै हिमश्रृङ्खला हेर्नका निम्ती पनि आन्तरिक तथा बाह्रय पर्यटक त्यहाँ पुग्ने गरेका छन । पैयुँपाटा, नारायणस्थान र अमलाचौरको विषेश पुजा समेत हुने यस मन्दिर नजिकै पाग्जाकोटको धुरी पनि छ । धुरी नजिकै भ्युटावर पनि निर्माण गरिएको छ । भैरवस्थानबाट होमस्टे सञ्चालनमा आएको भकुन्डे नजिकै पर्छ । प्राकृतिक दृश्यावलोकन गरेर होमस्टेमा बस्ने चाहना भएका पर्यटक पनि भैरवस्थान पुग्ने गरेको स्थानिय बागलुङ नगरपालिका–१३ पैयुँपाटाका वडा अध्यक्ष नारायण शर्मा पौडेल बताउँछन ।
बागलुङ सदरमुकाम देखी झण्डै १० किलोमिटरको दुरीमा रहेको उक्त मन्दिरमा पर्वतको कुश्मा देखी यान्त्रिक पुल तरेर करिब २ घण्टाको पैदल दुरीमा त्यहाँ पुग्न सकिन्छ । पछिल्ला केहीवर्षदेखि बागलुङ र पर्वतका उद्योग वाणिज्य संघले पनि भैरवस्थानलाई केन्द्र मानेर विकास निर्माण र पर्यटकीय क्रियाकलाप थालेका छन । मन्दिर नजिकै प्याराग्लाईडिङका लागि आवश्यक पुर्वाधार निर्माण भएको छ । यसलाई पोखराको बैकल्पिक ठाउँको रुपमा लिइएएको छ ।