बागलुङ- बागलुङ नगरपालिका–४ उपल्लाचौरमा निर्माणाधिन अवस्थामा रहेको काजक्रिया सामुदायिक भवन निर्माणका निम्ती विहुँकोट समाज जापान कन्साई क्षेत्रीय समिति ओशाकाले आर्थिक सहयोग गरेको छ । ओशाकामा रहेका बागलुङको विहुका नेपाली दाजुभाईहरुले भवन निर्माणका लागि नगद १ लाख ५५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गरेका हुन । बढ्दो शहरीकरणका कारण बजार क्षेत्रमा कसैको मृत्यु भएमा पनि काजक्रिया गर्नका निम्ती स्थानको अभावले समस्या पर्दै आएका कारण सवै समुदायको सहजका लागि काजक्रिया सामुदायिक भवन निर्माण गरिएको भवन निर्माण समितिका अध्यक्ष सन्तोष जिसीले जानकारी दिए । भवन निर्माणका लागि जापानमा संकलन गरिएको रकम शनिबार एक कार्यक्रमका विच भवन निर्माण समितिलाई हस्तान्तरण गरिएको छ ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै विहुँकोट समाज जापानका विशिष्ट परिषद सदस्य ईन्द्रलाल सुवेदीले बजार क्षेत्रमा बस्ने सवै समुदायको सहजका लागि निर्माण हुन लागेको भवनको लागि समाजको तर्फबाट केही रकम प्रदान गरिएको बताए । उनले विदेशमा रहेर पनि आफ्नो समाज र समुदाय प्रति सधै काम गर्न नेपाली दाजुभाई इच्छुक रहेको बताए ।
कार्यक्रममा विहुँकोट समाज जापानका अध्यक्ष सुर्दशन कंडेल, सामुदायिक भवन निर्माण समितिका सल्लाहकार जगन्नाथ आचार्यले विदेशमा रहेर पनि नेपाली समाज प्रतिको मायाँले समुदायमा थप विकास भएको बताए । उपल्लाचौर क्षेत्रमा बसोबास गर्ने सवै समुदाय मिलेर निर्माण गरिएको भवनमा ३ कोठा सहित काजक्रिया गर्ने स्थान दुई वटा धारा र शौचालय निर्माण गरिएको छ । भवन निर्माणका निम्ती हाल सम्म २५ लाख रुपैयाँ खर्च भै सकेको अध्यक्ष जिसीले बताए । भवन निर्माणका लागि जग्गा भने स्थानिले निःशुल्क उपलब्ध गराएका थिए । भवन निर्माण सँगै यस क्षेत्रका सवै समुदायका लागि काज क्रिया गर्न सहज हुने स्थानिय बताउँछन ।
कार्यक्रम भवन निर्माण समितिका अध्यक्ष सन्तोष जिसीको अध्यक्षता सचिव रामकाजी भण्डारीको स्वागत र विहुकोट समाज जापानका सचिव सुवास कंडेलको संचालनमा सम्पन्न भएको थियो ।