नारायण रिजाल, बागलुङ ! बागलुङ बजारमा रहेको “सिर्जना फर्निचर” नाम धेरैका लागि केवल एउटा फर्निचर पसल होइन, संघर्ष, आत्मविश्वास र श्रमले कोरेको सफलताको प्रतीक बनेको छ । तर यही फर्निचर र यहाँ उत्पादन हुने ब्रान्डको पछाडि एउटा यस्तो कथा लुकेको छ, जहाँ अभाव, उपेक्षा , संघर्ष र अन्ततः सफलता पनि ।
बागलुङ नगरपालिका वडा नं.–१३ पैयुँपाटाको ढाँडमा सामान्य परिवारमा जन्मिएका विराज हरिजनका लागि जीवन कहिल्यै सजिलो थिएन । बुबा ताराखर सार्की र आमा शान्ति सार्की गाउँघरमा ज्यालादारी गरेर परिवार पाल्थे । बिहान काम खोज्न निस्कने बाबुआमालाई हेर्दै हुर्किएका विराजले बाल्यकालमै जीवनको कठोर यथार्थ बुझिसकेका थिए । उनले बाबु आमाको संघर्षलाई सानै देखी हेरिरहे ।
बुबा घर, गोठ, ढुंगा–माटो र काठको काम गर्थे। विराज सानैदेखि बाबुको पछिपछि लाग्थे । बाबुले काठ काटेको, घर बनाएको र पसिना बगाएको दृश्य उनका लागि विद्यालयभन्दा ठूलो पाठशाला बन्यो । त्यही पाठशालाले उनलाई सीपको महत्व सिकायो । त्यही भएर होला उनलाई निरन्तर विद्यालय जाने मन पनि लागेन र विद्यालयको तहको शिक्षा आर्जन गर्न पनि । उनि विद्यालय भन्दा पनि काममा नै ध्यान दिन लागे ।
बाबुको सिपलाई पछ्याउँदै आएका विराज १२ वर्षको उमेरमै कामको खोजीमा उनी पर्वतको कुश्मा बजार पुगे । बाल्यकालका रहरहरू त्यतिबेला जीविकोपार्जनको संघर्षमा हराइसकेका थिए । कुश्मामा केही समय काम गरेपछि उनी बागलुङको रजनी फर्निचर पुगे । त्यहाँ उनले काठलाई आकार दिने कला सिके । त्यसपछि कालिका फर्निचरमा पनि काम गरेर आफ्नो सीपलाई अझ निखारे ।
उमेरले १९ वर्ष टेक्दै गर्दा विराजको मनमा एउटा प्रश्न उब्जियो– “सधैं अरूकै लागि काम गर्ने कि आफैं केही गर्ने?” यही प्रश्नले उनको जीवनको दिशा बदल्यो ।
बागलुङ बजारमा नै काम गर्ने क्रममा उनी सिर्जनासँग विवाह बन्धनमा बाँधिए । प्रेम विवाह गरेका विराजकी श्रीमती सिर्जना उनको जीवनयात्राकी सहयात्री मात्र होइनन्, संघर्षका हरेक मोडमा साथ दिने सारथी बनिन् । त्यो बेला विराजसँग एउटा पुरानो एलेन्जर मेसिन बाहेक केही थिएन । न पूँजी थियो, न ठूलो कार्यशाला, न कुनै पहुँच । तर उनीसँग एउटा कुरा थियो– सीपमाथिको अटल विश्वास ।
विराजको बागलुङ नगरपालिका–३ गुठीमा एउटा सानो टहरोबाट फर्निचर व्यवसायको यात्रा सुरु भयो । उनले सुरुमा घरमा पूजा गर्न राखिने साना मन्दिर बनाउन थाले । अन्य फर्निचरमा काम गर्दै आएका विराजले आफैले व्यवसाय सुरु गर्दा परिवारले भने, “व्यवसाय नगर, अरूकैमा काम गर, जोखिम धेरै छ ।” तर विराजले अरुको आवाज सुनेनन् आफ्नो मनको आवाज सुने । उनले जोखिम रोजे । साथमा रहेको दुई हजार पाँच सयबाट आफ्नो व्यवसाय यात्रा तय गरेका विराजसँग राम्रो काठ किन्ने पैसा समेत थिएन । नजिकैको कालिका फर्निचरबाट फालिने बक्कल (काठको बाहिरी भाग) ल्याएर उनले टेबल, कुर्सी, ¥याक र अन्य सामग्री बनाउन थाले । आज करोडौंको कारोबार गर्ने विराज कहिलेकाहीँ ती दिन सम्झन्छन् ।
“हिजो फालिएको बक्कल बोकेर सामान बनाउने मान्छे थिएँ, आज आफैं काठ किन्ने अवस्थामा पुगेको छु । त्यो सम्झँदा अझै गर्व लाग्छ, विराज भन्छन् ।”
बुद्धचोकमा चारवटा टिनको पाता जोडेर बनाइएको सानो टहरोबाट सुरु भएको व्यवसाय विस्तारै फैलिन थाल्यो। उनका हातले बनाएका सामग्रीको फिनिसिङ यति राम्रो हुन्थ्यो कि तयार भएको सामान लामो समय पसलमा बस्दैनथ्यो ।
जब श्रीमतीले काँधमा काठ बोकिन्
संघर्षका ती दिन केवल आर्थिक अभावका कथा थिएनन्, ती श्रीमान–श्रीमतीको साझा यात्राका कथा पनि थिए । काठ किन्ने पैसा जुटाउनै मुस्किल थियो । ढुवानीका लागि ट्याक्टर भाडा त झन् टाढाको कुरा । त्यसैले विराज र सिर्जनाले मालिका र मूलपानीमा पुगेर अन्यलै नै किनेका रुखमा बाँकी रहेका हाँगा आफैं बोकेर ल्याए । त्यसलाई कला दिने र केही नयाँ सामाग्री निर्माण गर्ने निधो गरे । दैनिक रुपमा दुई जनाले नै काँधमा काठ बोक्ने र फर्निचरमा ल्याउने गर्थे । त्यही क्रममा उनीहरूलाई शंका गरियो । दुःख गरेर ल्याएको काठका कारण प्रहरीसम्म पुग्नुप¥यो । केही व्यक्तिले फसाउने प्रयास पनि गरे । ती दिन सम्झँदा विराजको स्वर अझै भावुक बन्छ ।
“हामीले चोरी गरेका थिएनौं, कसैको हक मारेका थिएनौं । तर गरिब र सोझो भएकै कारण धेरैले शंका गरे । दुःखले भन्दा पनि त्यो अपमानले बढी पोल्थ्यो।” सिर्जना पनि ती दिन बिर्सन सक्दिनन्। “छोरा सुतेपछि साँझतिर मुलपानी पुगेर रुखका हाँगालाई काठको रुपमा बोक्ने गथ्यौं । दाउराका लागि ल्याइने काठबाट टेबल–कुर्सी बनाउँथ्यौं। कहिलेकाहीँ यसरी खै कतिदिन सम्म चल्ने हो भन्ने चिन्ता हुन्थ्यो । तर हार मान्ने सोच कहिल्यै आएन ।” भनिन्छ, अभावले मानिसलाई या त तोड्छ, या झन् बलियो बनाउँछ । हामीलाई त्यो अभावले झन् दृढ बनायो ।
सिर्जनाले राम्रो भविष्यको खोजीमा कोरियन भाषा अध्ययन गरिन्, आवेदन पनि भरिन् र कोरिया जानका लागि नाम समेत निकालिन् । तर जीवनले उनको लागि अर्कै बाटो रोजेको थियो । विदेशको आकर्षक अवसरलाई विराजले त्याग्न लगाए सिर्जना पनि त्यसलाई त्यागेर श्रीमान्को संघर्ष र सपनामाथि विश्वास गरिन् । यदि त्यतिबेला सिर्जना कोरिया गएकी भए, सायद आजको “सिर्जना फर्निचर“ यो उचाइमा पुग्ने थिएन । उनले विदेशको सपना छोडेर आफ्नै माटोमा पसिना बगाउने निर्णय गरिन्, जसको प्रतिफल आज एउटा सफल व्यवसाय, दर्जनौंको रोजगारी र स्थापित ब्रान्डका रूपमा देखिएको छ ।
आगलागीले खरानी बनाएको सपना
२०६६ सालमा विधिवत् फर्निचर व्यवसाय सुरु गरेका विराजको यात्रा सधैं उकालो मात्र थिएन । फर्निचर व्यवसायी सुरु गरेको केही वर्षमा नै उनको फर्निचरमा आगलागी भयो। वर्षौंको मेहनत, पसिनाले जोडिएको सम्पत्ति केही घण्टामै खरानी बन्यो । त्यो क्षण उनी जीवनकै सबैभन्दा ठूलो निराशामा पुगे । तर त्यही बेला सिर्जनाले उनको हात समातिन् । जब फर्निचर जलेपछि विराज चिन्तमा थिए व्यवसायनै छाड्ने पक्षमा पुगेका थिए सिर्जनाले ढाडस दिईन र भनिन् “हिजो २ हजार ५०० रुपैयाँबाट सुरु गरेका थियौं, फेरि उठ्न सक्छौं, हामीले गरिराखेको व्यवसाय छाड्नु हुँदैन ।” त्यही विश्वासले विराज फेरि उठे । खरानी टौटकाएर उनी फेरि उभिए । पुरानो ठाउँमा छाडेर बागलुङ नगरपालिका –४ कुँडुलेमा फर्निचर उद्योग संचालनमा ल्याए । फर्निचर उद्योगसँगै उनले बागलुङ बजारको हल्लनचोकमा सिर्जना फर्निचर उद्योगको सोरुम पनि संचालन गरे । पछि पुन गुठीको पेन्सन क्याम्प चोकमामा नयाँ सोरुम स्थापना गरे उनको व्यवसाय झनै बढ्दै गयो । विराज र सिर्जनाको विस्तारै व्यवसाय बागलुङ बजार हुँदै म्याग्दीको बेनीसम्म फैलियो । अहिले उनको व्यवसायमा ट्याक्टर भ्यान, र आफु चढ्ने गाडीसँगै म्याग्दी बागलुङमा एक÷एक फर्निचर र तिन सोरुम रहेका छन । उनको सोरुममा फर्निचरका सामाग्रीसँगै पर्दा र अन्य सामाग्रीहरु पनि विक्रि गर्ने गरिन्छ ।
सीपले बनाएको करोडपति
विराजको औपचारिक शिक्षा धेरै छैन । घरको आर्थिक अवस्थाले पढाइलाई निरन्तरता दिन सकेनन् तर जीवनले उनलाई एउटा अमूल्य सम्पत्ति दिएको थियो– सीप । उनले विद्यालयका प्रमाणपत्रभन्दा हातको कलालाई भरोसा गरे । आज उनीसँग भ्यान, गाडी, मेसिनरी र संरचना गरी पाँच करोड रुपैयाँ भन्दा बढीको लगानी रहेको छ । २ हजार ५०० रुपैयाँबाट सुरु भएको यात्रा आज करोडौंको व्यवसायमा रूपान्तरीत भएको छ । हाल सिर्जना फर्निचरमा २५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । कर्मचारीहरूले न्यूनतम २२ हजारदेखि ४० हजार रुपैयाँसम्म मासिक तलब पाउँछन् ।
सामाजिक उत्तरदायित्व पनि उत्तिकै
व्यवसायमा सफल बनेपछि विराज समाजबाट टाढा भएनन ्। विपन्न बालबालिकालाई सहयोग गर्ने, विद्यालयलाई सामग्री उपलब्ध गराउने, सरसफाइ अभियान सञ्चालन गर्ने, सडकका खाल्टा–खुल्टी पुर्ने अभियानमा सहभागी हुने लगायतका सामाजिक काममा उनी सक्रिय छन् । आफ्नै गाउँमा सार्वजनिक शौचालय निर्माणमा समेत उनले सहयोग गरेका छन ।
आज विराजलाई धेरैले सफल व्यवसायीका रूपमा चिन्छन ्। तर उनी आफूलाई अझै पनि त्यही गाउँको श्रमिक ठान्छन् । “मैले रिक्सा पनि चलाएँ, काठ पनि बोकेँ, मजदुरी पनि गरेँ। मानिस कामले कहिल्यै सानो हुँदैन, सोचले हो ।”
विराज भन्छन, पहिलो, हातमा सीप हुनुपर्छ, दोस्रो, परिवारको साथ हुनुपर्छ, तेस्रो, निरन्तर मेहनत गर्न सक्ने आँट हुनुपर्छ, “मेरो धेरै पढाइ छैन । तर हातमा सीप थियो । त्यही सीपले मलाई यहाँसम्म ल्यायो।” विराज सघर्षको कथा केवल एक व्यवसायीको सफलता होइन, यो सीप, श्रम र आत्मविश्वासले अभावलाई पराजित गर्न सक्छ भन्ने जीवित उदाहरण हो । यसका साथै युवाका लागि प्रेरणाको श्रोत पनि हो । कुनै समय चारवटा टिनको पातामुनि भविष्य खोजिरहेका विराज आज धेरै युवाका लागि प्रेरणाको नाम बनेका छन् । उनिसँग करोँडौको सम्पती छ र आफ्नै घर पनि । जुन दिन उनीहरू श्रीमान श्रीमती मिलेर काँधमा काठ बोकेर फर्किन्थे सायद कसैले कल्पना पनि गरेको थिएन कि यही जोडी एक दिन बागलुङको स्थापित फर्निचर ब्रान्डको मालिक बन्नेछ । अभावले थिच्यो, आगलागीले जलायो, समाजले शंका ग¥यो, तर उनीहरूको सपना कहिल्यै मरेन । संघर्षको त्यो लामो यात्राको नाम हो— विराज हरिजन । उनको व्यवसायीक संघर्षले एउटा सन्देश दिन्छकी “ठूलो सपना देख्न पैसा चाहिँदैन, सपना पूरा गर्न निरन्तर मेहनत र सीप चाहिन्छ ।”