बागलुङ । बागलुङ नगरपालिकाले छोरी प्रतिको गलत दृष्टीकोण चिर्नका निम्ती ‘नगरको छोरी’ अभियान चलाउने भएका छ । तेह्रौं नगरसभामा नगर प्रमुख बसन्त कुमार श्रेष्ठले प्रस्तुत गरेको निति तथा कार्यक्रममा छोरी बचाऊ अभियानका निम्ती नगरको छोरी कार्यक्रम संचालन गरिने बताईएको छ । कार्यक्रममा लागि छोरी जन्मने बित्तिकै ५ हजार रुपैयाँको मुद्दती खाता खोलिदिने व्यवस्था गरिएको हो । अभिभावकले सक्ने भएमा उक्त रकममा थप गर्न लगाउने र कम्तिमा २० बर्ष झिक्न नमिल्ने कार्यविधि बनाइने छ । उक्त रकम निरन्तर राख्दा ६५ वर्ष उमेर पुग्दा कम्तीमा ४ करोड रकम पुग्ने अनुमान गरिएको छ । छोरी लैैंगिक विभेदका कारण भुर्णणहत्याको प्रवृत्ति हटाउन भन्दै सो कार्यक्रम ल्याईएको नगरप्रमुख श्रेष्ठले बताए । सो कार्यक्रमका लागि नगरपालिकाले सदरमुकाममा कार्यरत बैंकसँग सम्झौता गरेर काम अगाडि बढाउने जनाएको छ । ‘गर्भ परीक्षण गरेर छोरी भए भुरुणहत्या गर्ने प्रवृत्ति अन्त्यका लागि यो नीति अवलम्बन गरिएको हो,’ नगरप्रमुख श्रेष्ठले भने, ‘छोरीप्रतिको गलत दृष्टिकोण चिरेर सम्मान गर्ने वातावरण यो नीतिले ल्याउने छ ।’ साथै यो नीतिले दूर भविष्यमा सामाजिक सुरक्षा भत्ताको भारसमेत हटाउने उनले बताए ।
नगरपालिकाले यसअघि महिला उपभोक्ता भएको योजनामा लागत सहभागिता पनि थोरै भए पुग्ने नीति लिइरहेको छ । त्यस्तै महिला उद्यमीलाई सम्मान गर्ने, उद्यमका लागि उपकरण, सामग्री खरिदमा छुट दिने र व्यवसायमा पनि महिला भएमा करको दर घटाउने गरी नीति लिएको छ । साथै आगामी असोज मसान्तभित्र कर तिर्न चाहनेलाई १० प्रतिशत छुट दिने व्यवस्था पनि गरिएको छ ।
नगरपालिकाले २०८० साललाई बालबालिका वर्षको रुपमा मनाउने नीतिसमेत लिएको छ । नगरप्रमुख श्रेष्ठले गत वर्ष पदभार ग्रहण गरेको दिन बागलुङलाई बालमैत्री नगर बनाउने निर्णय गरेका थिए । आगामी पुस मसान्तभित्र बालमैत्री नगर घोषणा गर्न आवश्यक सूचक पूरा गर्ने अभियान चलेको छ । बाल अधिकारका लागि बालमैत्री स्थानीय शासन भन्ने नारासमेत नगरले तय गरेको हो ।
हिंसा पीडित महिला र बिपन्नका लागि अल्पकालीन सेवा केन्द्र प्रभावकारी बनाउने, ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गर्ने नीतिसमेत सार्वजनिक भएको छ । एकल महिला, दलित, बिपन्न महिलाको समस्या समाधान गर्न र उनीहरुलाई व्यवसायमा लगाउन महिला जनप्रतिनिधिसँग महिला सहकार्य कार्यक्रम संचालन गर्ने श्रेष्ठले जानकारी गराए । साथै ज्येष्ठ नागरिक, सशस्त्र द्वन्द्वका घाइते र अपांगका लागि धौलागिरि अस्पताल र नगर अस्पतालमा निःशुल्क उपचार र आवश्यक शय्या आरक्षणसमेत गर्ने नीति लिइएको हो ।