बागलुङ- बागलुङको काठेखोला गाउँपालिकाले आगामी आर्थिक वर्षका २०८०/८१ का लागि आईतबार निति तथा कार्यक्रम र बजेट एकै पटक ल्याएको छ । गाउँपालिकाका अध्यक्ष राजु थापाले प्रस्तुत गरेको निति तथा कार्यक्रम पश्चात उपाध्यक्ष तेजबहादुर थापाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका हुन । गाउँपालिकाको प्रशासकिय भवन निर्माणलाई प्राथमिकतामा राखेर ल्याएको कार्यक्रममा बजेटमा पनि यसैलाई प्राथमिकतामा राखिएको छ । आगामी आर्थिक वर्षमा प्रशासकिय भवन निर्माणका निम्ती जग्गा व्यवस्थापन गर्ने र निर्माण कार्यको परारम्भ गर्ने उद्देश्यले त्यसका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ । कुल ५६ करोड १२ लाख ३४ हजार रुपैयाँको चालुतर्फ ३६ करोड १२ लाख रुपैयाँ र पूँजीगततर्फ २० करोड ३४ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि आर्थिक विकास तर्फ २ करोड ६३ लाख ५२ हजार, पूर्वाधार विकास तर्फ ७ करोड ४३ लाख ९ हजार, सामाजिक विकास तर्फ ४ करोड ६७ लाख २० हजार, सार्वजनिक सेवा तथा क्षमता विकास तर्फ ८९ लाख ८६ हजार र वन, वातावरण तथा विपद व्यवस्थापन तर्फ ७१ लाख ६७ हजार रुपैयाँ बजेट विनियोजित गरेको छ । उपाध्यक्ष थापाले कृषि तथा पशु तर्फ ६० लाख, उद्योग तर्फ १२ लाख, उर्जा तर्फ ८ लाख, शिक्षा तर्फ २३ करोड १२ लाख, स्वास्थ्य तर्फ ३ करोड ९७ लाख, खेलकुदमा १ लाख, सामाजिक सुरक्षा तथा रोजगार प्रवद्र्धनमा १ करोड ३ लाख र झोलुङ्गे पुल तर्फ ४० लाख रुपैयाँ बजेट विनियोजित गरेका छन् ।
उपाध्यक्ष थापाले गाउँपालिकामा साझेदारी योजना तथा कार्यक्रम संचालनका लागि २ करोड रुपैयाँ विनियोजन गरेका छन् । गाउँपालिकाले गौरवको योजना अन्तरगत काठेखोला–६ विहुँ सुलडाँडा, किम्बोट, चिरपानी, धरमदास हुँदै ठुलढुंगा जोड्ने सडक स्तरोन्नतिका लागि ५० लाख र सुलडाँडा, लेखानी मोटरबाटो अन्तरगत भुँदीखोला सिरीमपाटा खण्डको सडक स्तरोन्नतीको लागि क्रमागत योजनाका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाले व्यवसायिक पशुपालन विकास कार्यक्रम संचालन तथा व्यवस्थापनका लागि १० लाख रुपैयाँ, कृषि तथा पशुपालनका लागि उत्पादनमा आधारित दुध तथा खसी बोका अनुदान कार्यक्रम संचालनका लागि १० लाख रुपैयाँ, लघुउद्यम कार्यक्रमका लागि ७ लाख रुपैयाँ अध्यक्ष शैक्षिक सुधार कार्यक्रमका लागि २० लाख रुपैयाँ, उपाध्यक्ष सँग् विद्यालय सघन तथा नियमित, प्रविधिमैत्री अनुगमन कार्यक्रमका लागि १० लाख रुपैयाँ, स्थानीय पाठ्यक्रम छपाईको लागि १२ लाख रुपैयाँ, काठेखोला गाउँपालिका भित्रका दीर्घरोगी निर्वाह खर्च श्रोत भर्नाका लागि १० लाख रुपैयाँ, हरेक वडामा मुल संरक्षणका लागि पोखरी निर्माण तथा संरक्षणका लागि १० लाख रुपैयाँ विनियोजित गरिएको छ ।
बजेटको पूर्णपाठ