• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • अर्थतन्त्र

गणेशमानका नाममा ४० बढी योजना 

  • जेठ २७, २०८२

काठमाडाैं-  सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा ३ करोड रुपैयाँ विनियोजन गर्‍यो । मन्त्रालयले गणेशमान सिंह स्मृति भवनका नाममा बजेट विनियोजन गरे पनि खासमा यो नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलको भवन निर्माण गर्न हो ।

तरुण दल अध्यक्ष विद्वान गुरुङले वक्तव्य जारी गर्दै भवन निर्माणका लागि बजेट विनियोजन गरेकोमा धन्यवाद भनेका छन् । गुरुङले बजेटका लागि पहल गरिएको भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई धन्यवाद दिएका छन् ।

सहरी विकासमन्त्री कांग्रेसकै प्रकाशमान सिंह छन् । तरुण दलले उनलाई पनि बजेट विनियोजन गरिदिएको भन्दै आभार प्रकट गरेको छ । यद्यपि, सार्वजनिक रूपमा आलोचना भएपछि उक्त विज्ञप्ति गुरुङले सच्याएका छन् । तर, यथार्थ भने बाहिरिइसकेको छ ।


त्यो एउटा प्रतिनिधिमूलक बजेट शीर्षक मात्रै बाहिरिएको हो । उपप्रधानमन्त्री सिंहको नेतृत्वमा रहेको  सहरी विकास मन्त्रालयको आयोजना विकासे भन्दा कार्यकर्तामुखी देखिएको छ ।

आफ्ना पिताका नाममा मन्त्री सिंहले नयाँ पुराना गरी ४० बढी आयोजनामा बजेट हालेका छन् ।  मन्त्रालयले करोडौं बजेट विनियोजन गरी गणेशमान सिंहका नाममा पार्क, भवन, सभाहल जस्ता पूर्वाधार बनाउने योजना बनाएको छ ।

मन्त्रालयले छुट्याएको गणेशमान सिंहका नाममा विनियोजित बजेट र योजना सर्वसाधारणभन्दा कांग्रेस निकट कार्यकर्तालाई लाभ हुने गरी ल्याएको देखिन्छ ।

काठमाडौं जरसिंह पौवामा पार्क निर्माण गर्ने र यसका लागि आवश्यक पर्ने प्रतिवेदन तयार पार्नेसहित गरी साढे ४ करोड बढी बजेट छुट्याइएको छ ।

गणेशमान सिंहका नाममा छुट्याइएका बजेट र योजना

  • काठमाडौं जरसिंह पौवामा गणेशमान सिंह पार्क निर्माण : ४ करोड
  • पाँचथर फिदिम नगरपालिका–४ मा गणेशमान सिंह पार्क तथा खेल मैदान निर्माण : ३ करोड
  • झापा शिवशताक्षी नगरपालिका–११ मा गणेशमान सिंह अध्ययन प्रतिष्ठानको आवश्यक पूर्वाधार : ४ करोड
  • झापाकै गणेशमान सिंह अध्ययन प्रतिष्ठान : थप ३ करोड
  • झापाकै दमक–८ मा गणेशमान मार्ग : ३ करोड
  • मोरङ बेलबारी नगरपालिका–११ मा गणेशमान सिंह रंगशाला : ३ करोड
  • बारा निजगढ नगरपालिका–४ मा गणेशमान सिंह पार्क मोहरी व्यवस्थापन : ४ करोड
  • काठमाडौं शंखरापुरमा गणेशमान सिंह लोकमार्ग : ८ करोड
  • काठमाडौं–१३ मा गणेशमान सिंह स्मृति भवन : ३ करोड
  • काठमाडौं–२९ मा वीर गणेशमान सिंह ज्येष्ठ नागरिक सेवा केन्द्र : ३ करोड
  • काठमाडौं–३१ मा गणेशमान सिंह वाटिका स्तरोन्नति, पूर्वाधार निर्माण : ३ करोड
  • काठमाडौं–१५ शोभा भगवतीमा गणेशमान–मंगलादेवी पार्क निर्माण : ३ करोड
  • भक्तपुर सूर्यविनायक नगरपालिका–६ मा गणेशमान सिंह स्मृति वाटीका पूर्वाधार स्तरोन्नति : ३ करोड
  • पोखरा उपमहानगरपालिका–४ मा गणेशमान सिंह स्मृति प्रदेश भवन : ३ करोड
  • पर्सा ठोरी–२ मा वीर गणेशमान पार्क निर्माण : १ करोड ६० लाख
  • ललितपुर–१ मा गणेशमान सिंह शान्ति पार्क र गणेशमान सिंह संग्रहालय : २ करोड
  • दैलेख भैरवी गाउँपालिका–१ मा गणेशमान प्रतिष्ठान भवन निर्माण : १ करोड ६० लाख
  • सुर्खेतको चौकुने नगरपालिका–३ मा गणेशमान स्मृति भवन : १ करोड
  • धनगढी उपमहानगरपालिका–१ मा गणेशमान स्मृति बगैँचा पुस्तकालय ५० लाख
  • रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ मा गणेशमान सिंह स्मृति सभाहल : ४० लाख
  • सिन्धुपाल्चोक इन्द्रावती–३ मा गणेशमान सिंह स्मृति भवन पूर्वाधार निर्माण : ४० लाख
  • अछाम कमलबजार नगरपालिका–८ मा गणेशमान सिंह स्मृति पार्क, पदमार्ग : ७० लाख
  • काठमाडौं–१४ बल्खुमा गणेशमान सिंह स्र्पोट्स पार्क निर्माण : ४० लाख
  • दाङ घोराही उपमहानगरपालिका–९ मा सर्वोच्च नेता गणेशमान सिंह अध्ययन केन्द्र पूर्वाधार निर्माण : ४० लाख
  • चन्द्रागिरि नगरपालिका–१३ मा गणेशमान सिंह बहुप्राविधिक शिक्षालय पूर्वाधार निर्माण : ७० लाख
  • बझाङ जयपृथ्वी नगरपालिका–१० मा गणेशमान स्मृति भवन निर्माण : ४० लाख
  • काठमाडौं तारकेश्वर नगरपालिकामा गणेशमान सिंह स्मृति पार्क : २५ लाख
  • काठमाडौं नागार्जुनमा गणेशमान सिंह पार्क जाने बाटो निर्माण : ४० लाख
  • प्युठान नगरपालिका–७ मा गणेशमान स्मृति पार्क निर्माण : २५ लाख
  • अछाम मंगलसेन–४ मा गणेशमान सिंह स्मृति सामुदायिक भवन पूर्वाधार निर्माण : २५ लाख
  • ललितपुर महालक्ष्मी नगरपालिका–९ मा गणेशमान सिंह पार्क स्तरोन्नति : ७० लाख
  • इलामको माइ नगरपालिका–२ मा गणेशमान सिंह स्मृति वाटिका पूर्वाधार निर्माण : २५ लाख
  • काठमाडौं शंखरापुरमा गणेशमान स्मृति पार्क मार्ग स्तरोन्नति : ४० लाख
  • काभ्रे मण्डनदेउपुर–९ मा गणेशमान स्मृति पार्क निर्माण : ३ करोड
  • काठमाडौं चन्द्रागिरि–१४ स्थित गणेशमान पार्क निर्माण : ३ करोड


मदन भण्डारीका नाममा पनि उस्तै

सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका दिवंगत पूर्वमहासचिव  मदन भण्डारीका नाममा पनि  बजेटमा तजिबिजी गरेको देखिन्छ । मदन भण्डारी फाउन्डेसनको पूर्वाधार निर्माण भन्दै ३ करोड बजेट छुट्याइएको छ ।

फाउन्डेसन एमाले निकट गैरसरकारी संस्था हो, जहाँ जबजलाई केन्द्रित गरेर एमाले कार्यकर्ताले कार्यक्रम गर्दै आएका छन् ।

उदयपुरको त्रियुगा नगरपालिकामा मदन भण्डारी स्मृति सभाहलका लागि ५ करोड छुट्याइएको छ । मोरङ उर्लाबारीमा  मदन भण्डारी प्लानेटोरियम निर्माण गर्न ३ करोड र बारा कलैयामा मदन–आश्रित भवन निर्माण गर्न ३ करोड बजेट सहरी विकासले कार्यक्रम हालेको छ ।

त्यस्तै कपिलवस्तुको मदन–आश्रित स्मृति भवनका लागि ३ करोड रुपैयाँ सहरी विकासले छुट्याएको छ । बर्दिया गुलरियास्थित मदन–आश्रित स्मृति प्रतिष्ठान भवन निर्माण गर्न पनि ३ करोड छुट्याइएको छ ।

बजेट बढाएर खुद्रे योजना 

सहरी विकास मन्त्रालयल बजेट अनुसार १ लाखको समेत ५०औं आयोजना छन्, बाडेगाउँको कृष्णप्रसाद भट्टराईको आश्रम नजिकको पहिरो संरक्षण गर्न १ लाख रुपैयाँ बजेट छुट्याइएको छ । यस्तै शंखमुलमा पूर्वकर्मचारी सेवा परिषद् नेपाल भवनका लागि पनि १ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

सरकारले सहरी विकास मन्त्रालयको आगामी आवको बजेट २६ अर्बले बढाएको छ । जानकारका अनुसार अहिले सहरी विकास मन्त्रालय खुद्रे आयोजना बाँडफाँट गर्ने मुख्य अड्डा जस्तै भएको छ । चालु आव २०८१र८२ मा सहरी विकास मन्त्रालयको बजेट ९२ अर्ब ६३ करोड थियो । यस वर्ष बढाएर १ खर्ब १८ अर्ब पुर्‍याइएको छ ।

सहरी विकासमा बढेको अस्वाभाविक बजेट राजनीतिक एजेन्डा व्यवस्थापनका लागि बजेट छर्ने प्रवृत्तिको निरन्तरताका रूपमा विज्ञले लिएका छन् ।

सामान्य प्रशासन तथा संघीय मामिला मातहत रहेको स्थानीय पूर्वाधार विभाग अहिले सहरी विकास मन्त्रालय ल्याइएको छ । यसै विभाग मार्फत सरकारले खुद्रे आयोजना घुसाइरहेको छ ।

सहरी विकासले स्थानीय पुल र झोलुंगे पुलमा मात्र झन्डै ९ अर्ब बजेट विनियोजन गरेको छ । तराई–मधेस समृद्धि तथा स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागिमात्र १ अर्ब विनियोजन गरिएको छ ।

सहरी विकास मन्त्रालय मार्फत ७ सय २७ किलोमिटर सहरी तथा ग्रामीण सडक, ४६ स्थानीय पुल सडक बनाउने बजेटमा छ ।A

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय