चैते दशैंको दुर्गा सुरु भएपछि बागलुङ कालिका मन्दिरमा ४२ लाख बढि भेटी संकलन भएको छ । बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार नवरात्रको अवधीभर ४२ लाख ६३ हजार एक सय ५५ रुपैयाँ भेटी संकलन भएको छ । गण्डकी प्रदेशकै प्रसिद्ध ऐतिहासिक शक्तिपिठ बागलुङ कालिका मन्दिरमा चैते दशैंको अवसरमा आएका झण्डै ७ लाख दर्शनार्थीहरुले उक्त रकम भेटी स्वरुप चढाएका हुन् ।
अध्यक्ष खड्काका अनुसार नवरात्रको पहिलो दिन चैत १७ गते तीन लाख ४९ हजार ८ सय ६ रुपैयाँ भेटी संकलन भएको छ । दोस्रो दिन दुई लाख ३१ हजार चार सय ७०, तेस्रो दिन ५ लाख २० हजार एक सय ६५, चौथो दिन दुई लाख ८१ हजार ७ सय ५९ रुपैयाँ भेटी संकलन भएको छ । पाँचौं दिन चार लाख ८२ हजार तीन सय ३५, छैठौं दिन ५ लाख ६८ हजार ७५० रुपैयाँ संकलन भएको छ । मन्दिरमा सबैभन्दा धेरै भेटी महाअष्टमीको दिन चैत २३ गते ११ लाख ८१ हजार ५ सय ९० संलकन भएको अध्यक्ष खड्काले बताए ।
‘अष्टमीको दिनमा अहिलेसम्मकै धेरै भेटी संकलन भएको छ, विगतका वर्षहरुको तुलनामा पनि यो वर्ष धेरै संकलन भएको छ,’उनले भने,‘अष्टमीमा एकै दिन तीन लाख दर्शनार्थीले कालिका मन्दिरको दर्शन गर्नुभएको छ ।’ चैत २४ गते चार लाख ११ हजार ५ सय १० र २५ गते दुई लाख ३५ हजार ७ सय ७० रुपैयाँ संकलन भएको छ । बागलुङ कालिका मन्दिरमा शनिबार र मंगलबार विशेष पूजा हुन्छ । चैते दशैं र वडा दशैंको नवदुर्गामा बली चढाउने र दर्शन गर्न आउनेहरुको ठूलो भिड लाग्छ । वडादशैंमा भाकलको बलि चढाउनेहरु र चैते दशैंमा मेला भर्न तथा मन्दिर दर्शनका लागि आउनेको संख्या बढि हुने गरेको खड्काको अनुभव छ ।
गण्डकी प्रदेशकै ऐतिहासिक प्रसिद्ध शक्तिपिठ भएकाले यहाँ पूजा अर्चना गर्नाले मनोकामना पूरा हुने विश्वासका साथ दर्शनार्थीहरु आउँछन् । चैते दशैंमा विशेष मेला लाग्ने भएका कारण पनि यो समयमा यहाँ आउनेहरुको संख्या हरेक वर्ष बढ्दै गएको पाइन्छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजना चैते दशैं मेला चैत २० बाट सुरु भएर सोमबार मात्रै समापन भएको छ ।