काठमाडौँ। एभरेष्ट बैंक लिमिटेडले नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) को सहकार्यमा ग्राहकहरूका लागि विशेष ‘गाडी कर्जा योजना’ उपलब्ध बनाएको छ ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा नयाँ गाडी खरिद गर्न चाहनेहरुको लागि आकर्षक ब्याजदरमा अटो लोनको प्रबन्ध गरिएको हो । यो कर्जा योजनाअन्तर्गत ग्राहकहरूले ५ वर्षसम्म र बढीमा ७ वर्षसम्मको अवधिमा गाडी कर्जा लिन सक्ने बैंकले जनाएको छ।
साथै, एभरेष्ट बैंकले बेसरेटमा १.२५ प्रतिशत ब्याजदर कायम गरेको छ भने कर्जा लिने ग्राहकले केवल ०.५० प्रतिशत मात्र प्रोसेसिङ शुल्क तिर्नुपर्ने बैकले जनाएको छ । त्यसैगरी, कुनै पनि सवारी खरिद गर्दा ग्राहकले फिक्स रेटको ब्याजमा ऋण लिन चाहेको खण्डमा ५ वर्षका लागि ७.४९ प्रतिशत ब्याजदरमा पनि गाडी कर्जा लिन सकिने बैंकले जानकारी दिएको छ ।
कर्जा सहमतिमा तेस्रो पक्ष बीमा सहितको बीमा अनिवार्य गरिएको छ । बैंकका अनुसार उमेरको हकमा ऋणीको उमेर ६५ वर्ष ननाघेको हुनुपर्नेछ । परिवारको कूल आम्दानी (स्वरोजगार, व्यवसाय, अन्य आम्दानी) गाडी कर्जाको मासिक किस्ताको कम्तीमा दुई गुणा हुनुपर्ने बैंकले जनाएको छ ।
विद्युतीय सवारी साधनमा पनि प्राथमिकता दिइएको यस योजनाले वातावरणमैत्री प्रविधिको प्रवर्द्धनमा समेत योगदान पुर्याउने बैंकले जनाएको छ । बैंकको विशेष गाडी कर्जा योजना गाडी किन्न चाहने उपभोक्ताहरूका लागि निकै उपयोगी बन्ने विश्वास गरिएको छ । नाइमाले आयोजना गरेको यस एक्स्पो २५ गतेसम्म चल्नेछ।