अन्तर्राष्ट्रिय बागलुङ समाजद्वारा भलिबल प्रतियोगिता गर्ने
बागलुङ - रोजगारी लगायत विभिन्न शिलसिलामा बागलुङबाट संसारका विभिन्न राष्ट्रमा रहेका बागलुङेहरुको साझा संस्था अन्तराष्ट्रिय बागलुङ समाजले जिल्ला भित्रका पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको छ ।
विभिन्न समयमा स्वास्थ्य शिक्षा लगायतका सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको समाजले यस पटक युवाहरुलाई लक्षित गरी पुरुष भलिबल प्रतियोगिता संचालन गर्न लागेको समाजका सचिव एवं भलिबल प्रतियोगिताका संयोजक राजु थापाले जानकारी दिए ।
जिल्ला भलिबल संघको व्यवस्थापन, बागलुङ नगरपालिका कार्यालय र जिल्ला खेलकुद विकास समितिको समन्वयमा असोज २९ गते देखी कात्तिक १ गते सम्म प्रतियोगिता संचालन हुनेछ ।
शुक्रबार प्रतियोगिताको बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी दिँदै यो जिल्लामा पालिका स्तरीय प्रतियोगिताको सर्वाधिक पुरस्कार राशीको खेल भएको आयोजकले जनाएको छ । ‘हरेक २ वर्षमा समाजको अधिवेशन हुन्छ, त्यो समयमा सवै पदाधिकारी र सदस्य पनि नेपाल आएको मौका पर्नेछ सोही समयमा प्रतियोगिता संचालन गर्ने योजना बनाएका छौं सचिव थापाले भने,–‘ यसले निरन्तरता पाउने छ यो वर्ष बागलुङमा भयो भने अर्को वर्ष अर्को पालिका छनौट गर्नेछौं ।’ उनले समाजले जिल्लाको विकास र समृद्धिका लागि हरेक क्षेत्रमा सहयोग गर्ने थापाले बताए । खेलमा उत्कृष्ट खेलाडीलाई १० हजार, विधागत उत्कृष्टलाई ५ हजार रुपियाँका दरले पुरस्कार दिईने बताईएको छ ।
आफु जन्मिएको माटो र आफु हिडेको बाटो सम्झिएर यहाँको सामाजिक क्षेत्रमा जोडिने उद्देश्यले संचालन गरेका कार्यक्रमले समग्र बागलुङको हित गर्ने बागलुङ नगरपालिका प्रमुख बसन्त कुमार श्रेष्ठले बताए । श्रेष्ठले बागलुङबाट संसारका विभिन्न देशमा पुगेका गैरआवासीयहरुको समाजले सामाजिक क्षेत्र, शिक्षा, स्वास् थ्य र खेलकुद क्षेत्रमा लगानी गर्दै आएकोमा यो बागलुङका लागि गौरवको विषय भएको बताए । ‘ कोभिडको समयमा होस वा बाढी पहिरोको समयमा होस बागलुङबाट विभिन्न राष्ट्रलाई आफ्नो कर्मभुमी बनाउनुभएका बागलुङेहरुले हरेक वखत सहयोग गर्नुभएको छ नगरप्रमुख श्रेष्ठले भने,–‘यस पाली युवाहरुसँग जोडिने भलिबल प्रतियोगिताको आयोजना गरिएको छ खेलले जिल्लाको पहिचान बढाउने, पर्यटन प्रवर्धन गर्ने लगायतको फाइदा हुने छ । श्रेष्ठले हाल निर्माण सम्पन्न भएर सञ्चालनमा आइरहेको दाबगारा बागलुङ बसपार्कमा खेल आयोजना गरिएकोले उक्त स्थानको समेत प्रवर्धन हुने बताए । प्रतियोगितामा दर्शकहरुका लागि पनि आर्कषण पुरस्कारको व्यवस्था गरिएको आयोजनकले जनाएको छ ।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत इश्वरीप्रसाद शर्मा र नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरलले प्रतियोगिता सम्पन्न गर्नका लागि सवै तहबाट सहयोगको आवश्यकता रहेको बताए ।
कार्यक्रम अन्तर्राष्ट्रिय बागलुङ समाज, खेलकुद समितिका संयोजक राजु थापाको अध्यक्षता, जिल्ला खेलकुद विकास समितिका सचिव किशोर छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।