आफू निर्वाचित भएमा (एनआरएनए)को सदस्य संख्या पाँच लाख पुर्‍याउने कुल आचार्यको उद्घोष

  • भदौ ३०, २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षका उम्मेदवार कुल आचार्यले आफू निर्वाचित भएमा संघको सदस्य संख्या पाँच लाख पुर्‍याउने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेका छन्। अहिले संघको सदस्य संख्या एक लाखभन्दा बढी रहेको छ। 

जीएनएनसँग कुरा गर्दै आचार्यले थप मुलुकहरुमा संघको शाखा विस्तार गर्ने तथा राष्ट्रिय समन्वय परिषद्‍हरुलाई क्रियाशील गराएर सदस्य संख्या पाँच लाख पुर्‍याउने आफ्नो योजना रहेको बताए। उनले संघका राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरुको संख्या एक सय पुर्‍याउने बताए। हालसम्म ८४ देशमा एनआरएनए पुगेता पनि २० भन्दा बढी एनसीसी निस्क्रिय रहेका छन्।

आचार्यले तेस्रो पुस्तापछिका गैरआवासीय नेपालीहरुको नेपालमा पैतृक सम्पत्तिको अधिकार सुरक्षित गर्नुका साथै  राहदानीसहित नागरिकताको अधिकार स्थापित गर्ने आफ्नो योजना रहेको बताए।  'मैले प्रधानमन्त्री शेरबहादुर देउवालगायत प्रमुख दलका नेताहरूसँग भेटवार्ता गरेको छु र उहाँहरु सबैजना सकारात्मक हुनुहुन्छ,' आचार्यले भने, 'म्यान्मार, थाइल्याण्ड लगायतका मुलुकमा बसोबास गरिरहेका नेपाली मूलका दाजुभाइ दिदी बहिनीहरुलाई 'पिपुल अफ नेपाली अरिजिन' (पीएनओ) को मान्यता दिलाउन अधिकतम प्रयास गर्नेछु।’

एक एनआरएन, एक रोजगार' अभियान
संघका सल्लाहकार तथा पूर्वकेन्द्रीय उपाध्यक्ष रहिसकेका आचार्यले कोभिडका कारण रोजगारी गुमाएर फर्केका युवाहरुका लागि ‘एक एनआरएन एक रोजगार अभियान’ सुरु गर्ने  घोषणा पनि गरेका छन्। नेपाल सरकार तथा निजी क्षेत्रसँगको सहकार्यमा ‘एनआरएनए सीप विकास केन्द्र’ स्थापना गर्ने र पछि सातै प्रदेशमा ती केन्द्रहरुको विस्तार गर्ने आफ्नो योजना रहेको उनले सुनाए।

गैरआवासीय नेपाली तथा नेपालमा रहेका तिनका परिवारलाई  सहुलियत दरमा गुणस्तरीय सेवा उपलब्ध गराउन विभिन्न स्वास्थ्य संस्थाहरुसँग सम्झौता गरिने कार्ययोजना बनाएका आचार्यले विदेशमा हुर्किरहेका बालबालिकाहरुलाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोबाइल एप निर्माण गर्ने र अनलाइन कक्षाहरु सञ्‍चालन गरिने पनि बताए।

गैरआवासीय नेपाली खेल प्रतिभाहरुको विकासमा सघाउन एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गर्ने योजनासमेत उनले सार्वजनिक गरेका छन्। आचार्यले हालसम्मको आफ्नो अनुभव र नयाँ कार्ययोजनाका आधारमा संसारभर फैलिएका नेपालीहरुलाई मातृभूमिसँग जोड्दै अगाडि बढ्ने आफ्नो योजना रहेको बताए। उनले आफ्नो उम्मेदवारीबारे छिट्टै एक कार्यक्रममार्फत् औपचारिक घोषणा गर्ने जानकारी दिए।

प्रतिक्रिया