दक्षिण अफ्रिका ओपनर रिचार्ड लेभीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन्। लेभीले पोखरा राइनोजबाटै ईपीएल खेल्न लागेका हुन्। उनले तेस्रो संस्करणमा पनि पोखराबाटै खेलेका थिए।
पोखराले पहिलो विदेशी खेलाडीको रुपमा उनको नाम सार्वजनिक गरेको हो। लेभीले २०१८ को ईपीएलमा ४ खेलमा २ सय ४ रन बनाएका थिए। दक्षिण अफ्रिकाबाट उनले १३ टि२० आईमा २ सय ३६ रन बनाएका छन्।
लेभी दक्षिण अफ्रिकाबाट टि२० आईमा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन्। लेभीले २ सय २० टि२० खेलमा ३ शतक र २२ अर्धशतकसहित ५ हजार ४ सय ६८ रन बनाएका छन्।
पोखराले गतवर्ष क्रिस गेलको नाम सार्वजनिक गरेको थियो। तर, टि२० विश्वकपको कारण उनी आउने छैनन्।
पोखरामा विकेटकिपर विनोद भण्डारी, सुनिल धमला, पृथु बास्कोटा, विवेक यादव, रित गौतम, किशोर महतो, बिक्रम शोब, बिपिन खत्री, लोकेश बम र विपिन रावल छन्। ईपीएल ९ असोजदेखि २३ सम्म टियूमा हुनेछ। ईपीएल विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन्।