बागलुङ- बागलुङमा फागुन २८ गतेदेखि जिल्ला लिग फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । जिल्ला फुटबल संघ बागलुङको आयोजनामा फागुन २८ गतेदेखि चैत ४ गतेसम्म जिल्ला लिग संचालन हुने अध्यक्ष रामराज गुरुङले जानकारी दिए । फुटबल संघले बुधबार लिगको खेल तालिका सार्वजनिक गरेको छ । संघले लिगमा सहभागि हुने ८ टिमलाई दुई समुहमा विभाजन गरि खेल तालिका सार्वजनिक गरेको छ ।
संघले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार समुह ‘क’मा रामरेखा फुटबल क्लब, गुठी युनाइटेड क्लब, पावर फिटनेस क्लब र कालिका भगवती युवा क्लब रहेका छन् । यस्तै समुह ‘ख’मा रुद्रेपिपल युवा क्लब, बिर गोर्खाली युवा क्लब, बाल जिवन खेलकुद क्लब र बागलुङ कालिका युवा क्लब रहेका छन् । संघले लिगको उद्घाटन खेल रामरेखा फुटबल क्लब र गुठी युनाइटेड क्लब विच हुने जनाएको छ ।
फुटबल संघले समुह ‘क’ र समुह ‘ख’को शिर्ष स्थानमा रहने टिम विच फाइनल खेल हुने जनाएको छ । जिल्ला फुटबल संघले लिगको लागि नयाँ ७ टिम विच नकआउट फुटबल प्रतियोगिता संचालन गरि तीन टिमलाई छनोट गरेको छ । नकआउट चरणको शिर्ष तीनमा रहँदै रामरेखा फुटबल क्लब, वीर गोर्खाली युवा क्लब र गुठी युनाइटेड क्लबले यस वर्षको लिगमा स्थान बनाएका हुन् ।
लिगमा प्रत्येक क्लबले धौलागिरी अञ्चल बाहेकका जिल्लाका तीन जना खेलाडीहरु समावेश गराउन पाउने छन् । यस्तै ए र वि डिभिजन सहित अन्य जिल्लामा लिग खेलेका खेलाडीहरुलाई सहभागि नगराइने अध्यक्ष गुरुङले बताए । लिग विजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्ने जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष गुरुङले जानकारी दिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सहित विधागत पुरस्कार समेत वितरण गरिने बताए ।