बागलुङ- नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले अपराध रहित समाज निर्माणका लागि प्रहरीलाई नागरिकहरुको सहयोग आवश्यक रहेको बताएका छन् । बुधबार जिल्ला प्रहरी कार्यालय बागलुङको नवनिर्मित भवनको उद्घाटन गर्दै कार्कीले प्रहरी र नागरिकको आपसी एकता र सहकार्यबाट समाजका विकृति र अपराधहरुको सामना गर्न सकिने बताए ।
‘शान्ति सुरक्षा र समाजमा अमन चयन गर्ने काम प्रहरीको हो, तर प्रहरी मात्रै एक्लैले चाहेर यो सम्भव छैन,’ उनले भने,‘प्रहरी र नागरिकको आपसी एकता र सहकार्यबाट यो समाजलाई अपराध रहित र शान्तिपूर्ण समाजको रुपमा विकास गर्न सकिन्छ ।’ दिनरात नभनी नागरिक सुरक्षा खटिने प्रहरीका लागि अत्यावश्यकीय वस्तुहरुको पनि चरम अभाव रहेको बताउँदै उनले नागरिकले प्रहरीलाई साथ दिनुपर्ने बताए ।
‘हरपल हरक्षण सुरक्षामा खटिने प्रहरीलाई आरा मगर्ने कक्ष बागलुङ सदरमुकाममै अभाव थियो,’ उनले भने,‘ गाउँ गाउँका प्रहरी चौकीको अवस्था त झन् कस्तो होला तपाईहरु आफै कल्पना गर्नुहोस् । अहिले यहाँको आवश्यक भौतिक पूर्वाधार एकैपटक निर्माण भएको छ, यसले प्रहरीलाई जनताको सेवामा थप उत्साहका साथ खटिन सहयोग पुग्नेछ ।’ जिल्ला प्रहरी कार्यालय बागलुङमा ९ करोड ७१ लाखको लागतमा ब्यारेक, मेस, हिरासत कक्ष र वरिष्ठ प्रहरी अधिकृत आवास तथा कार्यालय प्रमुख निवास गरी चार भवन निर्माण गरिएको छ ।
सुविधा सम्पन्न भौतिक संरचनाले प्रहरीको मनोबल उच्च बनाउन सहयोग पुग्ने उनले बताए । नागरिक प्रहरी कार्यालयमा आउँदा आफ्नै घर सम्झेर विश्वासका साथ आउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै कार्कीले प्रहरीलाई थप प्रविधिमैत्री र परिस्कृत बनाउन आवश्यक रहेको बताए । प्रहरी एपमार्फत नागरिकका गुनासा सुन्ने व्यवस्था गरिएको उल्लेख गर्दै उनले चोरी तथा सामान हराएको विषयमा समेत डिजिटल माध्यमबाट उजुरी गर्न सकिने बताए । प्रविधिको बढ्दो प्रयोगसँगै बालबालिकालाई अपराधबाट जोगाउन अभिभावक पनि सचेत हुनुपर्ने उनी बताउँछन् ।
अपराधसम्बन्धी सूचना समुदायबाटै प्राप्त हुनुपर्ने उल्लेख गर्दै उनले अपराध अनुसन्धानमा प्रहरी र समुदाय मिलेर काम गर्नु अहिलेको आवश्यकता औल्याए । अनुसन्धान र अभियोजनमा सीप तथा ज्ञानको प्रयोग गर्दै नेपाल प्रहरी जनताको सहयोग र साथबाट अघि बढिरहेको उनले बताए । प्रहरी महानिरीक्षक कार्कीले बागलुङलाई धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न ‘बागलुङ जाऔँ’ अभियान सञ्चालन गर्नुपर्ने धारणा समेत राखे ।
नेपालभर २८५ वटा प्रहरी युनिट जोखिमपूर्ण अवस्थामा रहेको थप ९७० प्रहरी युनिटको माग भइरहेको उनको भनाई छ । २०७९ सालदेखि निर्माण सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङको उक्त भवन २०८३ जेठमा सम्पन्न भएकाले प्रहरीले भाडामा बस्नुपर्ने अवस्थाको अन्त्य भएको बागलुङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक फडिन्द्र प्रसाईले जानकारी बताए ।