गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

  • जेठ २८, २०८१

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् ।  सोमबारको प्रदेश सभा बैठकमा माओवादीको चिह्नबाट चुनाव जितेका फणिन्द्र देवकोटाले फ्लोरक्रस गरेपछि पाण्डेलाई विश्वासको मत प्राप्त भएको हो ।  प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत पर्‍यो भने विपक्षमा २८ मत परेको छ । 
संविधानको धारा १६८ (३) बमोजिम संसद्को ठूलो दलको नेताका हैसियतले जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले आज संसद्‌मा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् । प्रदेश सभाको ठूलो दल कांग्रेसका २७ जना सांसद छन् । यसअघि खगराज अधिकारीले विश्वासको मत माग्दा तटस्थ बसेको राप्रपाले पनि समर्थन गरेको छ भने पाण्डेलाई कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र सांसद राजीव गुरुङ र माओवादीबाट चुनाव लडेका नेसपा सांसद फडिन्द्र देवकोटाले मत दिएका हुन् ।  यसैगरी विपक्षमा एमालेका २२ र माओवादीका ६ प्रदेशसभा सदस्यको मत परेको थियो । 

देवकोटा माओवादीबाट चुनाव लडेर निर्वाचित भएका पनि उनले फ्लोर क्रस गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन् । देवकोटाले आफू माओवादीको संसदीय दलमा नरहेर नेसपाकै प्रदेशसभा सदस्यको हैसियतमा रहेको दाबी गर्दै आएका छन् । उनकै फ्लोर क्रसका कारण संविधानको धारा १६८ (३) बमोजिम सर्वोच्च अदालतको आदेशबाट मुख्यमन्त्री नियुक्त भएका पाण्डेको पद जोगिएको छ । 

६० सदस्यीय प्रदेश सभामा पाण्डेले विश्वासको मत प्राप्त गर्न ३१ मत आवश्यक पर्थ्यो भने सोहीअनुसार उनले मत पाए । देवकोटा मुख्यमन्त्रीको पक्षमा मतदान गर्न गएपछि एमाले र माओवादीका सांसदले नाराबाजी समेत गरेका थिए । 

 विश्वासको मत लिएरसँगै मुख्यमन्त्री पाण्डेले मंगलबार नीति तथा कार्यक्रम र असार १ गते बजेट ल्याउने योजना बनाएका छन् ।

प्रतिक्रिया