बागलुङ- विषम परिस्थीतिमा पत्रकारिताको भूमिका अझ महत्वपूर्ण हुने बागलुङमा आयोजित एक कार्यक्रममा सहभागीले बताएका छन् । नेपाल प्रेस युनियन बागलुङले विजयादशमी, दीपावली, नेपाल सम्वत् र छठ पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा सहभागी वक्ताले देश अहिले विषम परिस्थीतिमा प्रवेश गरेकाले पत्रकारिता क्षेत्रले अझ चनाखो भएर अगाडि बढ्नुपर्ने बताए ।
‘जेन जी पुस्ताले गरेको आन्दोलनपछि देश अहिले संवेदनशील अवस्थामा पुगेको छ,’ उनीहरुले भने,‘देशमा निर्वाचन गराउनका लागि अन्तरिम सरकार बनेको छ । समयमै भयरहित वाताबरणमा निर्वाचन गराउनका लागि पत्रकारहरुले पनि भूमिका खेल्नुपर्ने हुन्छ ।’ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रका लागि लोकतन्त्र रहनु आवश्यक रहेको उनीहरुको भनाई थियो ।
‘अहिलेको अवस्थाले लोकतन्त्र नै धरापमा पर्छ भन्ने अवस्था देखाएको छ,’उनीहरुले भने,‘पत्रकारिता पेशा रहनका लागि र वाक स्वतन्त्रताका लागि लोकतन्त्र बलियो हुनुपर्छ । लोकतन्त्र बिना पत्रकारिता र वाक स्वतन्त्रताको विकास सम्भव छैन ।’ उनीहरुले अहिलेसम्म प्राप्त उपलब्धीहरुको रक्षा गर्दै देशलाई अगाडि बढाउनका लागि पत्रकारिता क्षेत्रले विशेष निगरानीका साथ आवाज उठाउनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियनका केन्द्रीय परामर्श समिति सदस्य एवं बागलुङका पूर्व अध्यक्ष जगन्नाथ आचार्यले पत्रकारिताको विकासका लागि लोकतन्त्र पहिलो शर्त भएको बताए । ‘पत्रकारिता क्षेत्रको विकास र वृद्धिका लागि लोकतन्त्र अनिवार्य छ,’उनले भने,‘लोकतन्त्र बिना पत्रकारिता पेशा धानिन गाह्रो छ ।’ उनले भ्रष्टाचार विरुद्ध भएको आन्दोलनले देशलाई परिवर्तनको क्षेत्रमा अगाडि बढाएको र त्यसलाई सही निश्कर्षमा पु¥याउनका लागि पत्रकारिताले भूमिका निर्वाह गर्नुपर्ने बताए ।
‘हरेक क्षेत्रमा भ्रष्टाचार मौलाएको बेलामा जेनजी पुस्ताले उठाएको आन्दोलनका मुद्दा महत्वपूर्ण थिए,’उनले भने,‘अहिले परिवर्तन पनि भएको छ । अब त्यो मुद्दालाई संस्थागत बनाउनका लागि पत्रकारले भूमिका खेल्नुपर्छ ।’ विजयको प्रतिकको रुपमा मनाईने विजया दशमीले देशलाई पनि विजयको बाटोमा हिंडाउन सहयोग पुगोस् भन्ने कामना उनले गरे ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्री सदस्य प्रदिप पन्त, नेपाल पत्रकार महासंघ बागलुङकी उपाध्यक्ष सिर्जना पन्त, प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य एवं बानपा – ११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतम, पत्रकार महासंघ बागलुङका पूर्वअध्यक्ष रामबहादुर जिसी, मु्केशचन्द्र राजभण्डारी, पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य मञ्जुल शाक्य, प्रेस युनियन गण्डकी प्रदेश सचिव नारायण रिजाल, प्रेस चौतारी बागलुङका उपाध्यक्ष अर्जुन कार्की, प्रेस सेन्टर बागलुङका उपाध्यक्ष अनिश खाती, प्रगतीशिल पत्रकार संघ बागलुङका अध्यक्ष विजय राना लगायत उपस्थीत सबैले एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले संविधान र लोकतन्त्रका लागि पत्रकारहरु सधै अग्रभागमा रहने भएकाले यसको रक्षाका निम्ति थप सशक्त र सक्रिय रुपमा लाग्नुपर्ने बताए । कार्यक्रममा जिल्लास्थित पत्रकार सम्बद्ध संघ, संगठन र विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो ।
पत्रकारहरुबीच सहकार्य, सद्भाव र एकता कायम गर्नका लागि कार्यक्रम आयोजना गरिएको प्रेस युनियनका जिल्ला अध्यक्ष संगम घर्ती मगरले बताए । युनियनका अध्यक्ष संगम घर्ती मगरको अध्यक्षता, उपाध्यक्ष सुवास आचार्यको स्वागत मन्तव्य र सचिव डम्बर बुढामगरको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।