बागलुङमा २५७ जनामा डेङ्गीको सङ्क्रमण

  • असोज २७, २०८२

बागलुङ - बागलुङमा पछिल्लो समय डेङ्गी सङ्क्रमण ह्वात्तै बढेको छ । प्रदेश जनस्वास्वास्थ्य कार्यालय बागलुङको पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा दुई सय ५७ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको पाइएको छ । साउन यताको तथ्याङ्क अनुसार जिल्लामा सवै भन्दा बढि असोज महिनामा मात्र एक सय ८७ जनामा संक्रमण भएको पाईएको छ । जिल्लाका दश पालिका मध्ये सवै भन्दा बढि डेङ्गु सङ्क्रमितको संख्या बागलुङ नगरपालिकामा एक सय ३६ जना रहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका  प्रमुख घनश्याम सापकोटाले जानकारी दिए । 
सापकोटाका अनुसार जिल्लाको गलकोट नगरपालिकामा ४३ जनामा संक्रमण भएको छ भने काठेखोला गाउँपालिकामा २३ जनामा संक्रमण भएको छ । त्यसैगरी ढोरपाटन नगरपालिकामा १५ जना, ताराखोला गाउँपालिकामा ४ जना, बडिगाड गाउँपालिकामा ६ जना जैमिनी नगरपालिकामा ७ जना र निसीखोला गाउँपालिकामा २ जना रहेका छन । 
दुई पालिकामा संक्रमण छैन
जिल्लाको तमानखोला र बरेङ गाउँपालिकामा डेङ्गुका विरामीको अवस्था शुन्य रहेको छ भने अन्य जिल्लाबाट आएर बसोबास गर्ने २१ जनामा डेङ्गु संक्रमण रहेको सापकोटाले जानकारी दिए । 
गत साउनमा २१ जना विरामी रहेको बागलुङमा भदौमा ४९ जना रहेका थिए । असोज महिना लागे सँगै जिल्लामा डेंगीको संक्रमण ह्वात्तै फैलिएको तेब्बरले बृद्धि भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । 
जिल्लाको बुर्तिबाङ, कुश्मिसेरा गलकोट र धौलागिरी अस्पतालमा डेंगुको परिक्षण हुने गर्छ । परिक्षण गरिएका मध्ये बुर्तिबाङ अस्पतालमा १६ जना, गलकोट नगरअस्पतालमा ४८ जना र धौलागिरी अस्पतालमा १९३ गरी कुल २५७ जना विरामी रहेका छन । 
चाडवाड लागे सँगै  डेङ्गीको विरामी बढे
पछिल्लो समयमा नियमित वर्षा भएसँगै लामखुट्टे बढ्दै गएको र डेंगुको संक्रमण पनि बढ्दै गएको सापकोटाले बताए । ‘बागलुङमा भन्दा पोखरा काठमाण्डौ क्षेत्रमा डेंगुको संक्रमण दर बढि नै थियो दशैँ नजिकिए सँगै ति शहरबाट मानिसहरु गाउँबस्तीमा आउनेक्रम बढ्दै गयो सापकोटाले भने,–‘ जब मानिसको चाप बढ्दै गयो बाहिरबाट आएको डेंगुको संक्रमण गाउँबस्तीमा पुग्यो । एक महिनाकै समयमा भदौ भन्दा तेब्बरले बढि डेंगुका विरामी  बढेका छन ।’ उनले वर्षा अझै बाँकी रहेको र जिल्लामा डेङ्गुु सङ्क्रमण तीव्ररुपमा फैलिएकाले कात्तिकको अन्तिम सम्म सवै सचेत हुन पनि आग्रह गरे ।
डेंगुु सङ्क्रमण फैलिरहेको समयमा धौलागिरि अस्पतालमा ज्वरोको बिरामी ह्वात्तै बढेको  अस्पतालले जनाएको छ । जिल्लामा डेंगुको लक्षण भएका बिरामीको समेत धौलागिरि अस्पतालमा चाप बढिरहेको अस्पतालका डाक्टर अमित ढुंगानाले जानकारी दिए । पछिल्ला दिनमा डेंगुको लक्षण देखिने झण्डै २० प्रतिशत मात्र रहेको र अन्य ८० प्रतिशतमा डेंगु संक्रमण भएता पनि लक्षण नदेखिएको स्वास्थ्यकर्मीहरु बताउँछन ।  अहिले  अस्पतालमा दैनिक ओपिडी र इमर्जेन्सीमा आउने अधिकांश बिरामी ज्वरोको आउने गरेको पाइएको छ ।
डेङ्गु नियन्त्रणका लागि जनस्वास्थ्य कार्यालय र जिल्ला स्तिरी सरोकारवाला निकायले खोज र नष्ट गर अभियानलाई संचालन गरिएको छ । 
खोज र नष्ट गर अभियान संचालन
सोमबारदेखि बागलुङ नगरपालिकाको वडा नं. १, २, ३ र ४ मा डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको सापकोटाले जानकारी दिए । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी, आमा समूह, जनप्रतिनिधिलगायतको सहभागीतामा जोखिमयुक्त ठाउँमा पुगी डेङ्गी सार्ने लामखुट्टेको बासस्थान खोजी नष्ट अभियान संचालन गरिएको हो । 
डेङ्गी फैलाउने लामखुट्टको टोकाइबाट जोगिन घर, कार्यालय र सार्वजनिकस्थलमा रहेका खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थल भेटिएमा नष्ट गर्नुपर्ने बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए । ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गी सर्ने उनको भनाइ छ ।
आईतबार प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको विशेष उपस्थितीमा जिल्लामा डेंगु नियन्त्रण तथा रोकथामका लागि छलफल पश्चात खोज र नष्टगर अभियान संचालन गरिएको हो । 
सरोकार भएका पक्षहरुबीचको बैठकमा प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरुङले डेङ्गी रोगको नियन्त्रण तथा रोकथामका लागि समुदायस्थलमा सचेतना अभिवृद्धि गनुपर्ने बताए । सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुन सक्ने भएकाले डेङ्गीलाई सामान्य रुपमा लिन नहुने चिकित्सक बताउँछन् ।
डेंगु नियन्त्रणका निम्ती विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम संचालन गर्ने विभिन्न सन्देश लेखिएका पम्प्लेटहरु वितरण गर्ने तयारी थालिएको छ । विशेष गरी आफ्नो घर आगन सफा गरेर लामखुट्टेको लार्भा नष्ट गर्न पानीको खाल्डा पुर्ने, पानी जम्ने र लामखुट्टे उत्पादन हुने क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामप्रसाद अधिकारी बताउँछन । 
नगरपालिकामा डेंगी संक्रमण भएका विरामीको उपचारका लागि सवै स्वास्थ्य संस्थाले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छ । 
डेङ्गीको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्न सक्छन ।  सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिएमा चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन । 
अधिकांश डेङ्गीका बिरामी सामान्य उपचारपछि निको हुने गरेका छन् । डेङ्गी भएमा आराम गर्ने, झोलिलो पदार्थ प्रशस्त पिउने र जथाभावी औषधि सेवन गर्न नहुने डा. ढुङ्गानाले बताए । गर्भवती र बालबालिकामा डेङ्गी भएमा स्वास्थ्यमा जटिलता निम्तन सक्ने खतरा हुने हुँदा उच्च सावधानी अपाउनुपर्ने उनको सुझाव छ । 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय