बागलुङ— स्वतन्त्र विद्यार्थी युनियन धौलागिरी बहुमुखी क्याम्पस बागलुङको निर्वाचित वर्तमान कार्यसमितिको एक वर्ष पुगेको अवसरमा सम्मान तथा सांस्कृति कार्यक्रम सम्पन्न गरिएको छ । अध्यक्ष सुदिप सागर कंडेल नेतृत्वको स्ववियुको एक वर्ष पुगेको अवसरमा क्याम्पसमा १ करोडको छात्रबृत्तिकोष निर्माणका निम्ती देउसी भैलो कार्यक्रममा सहयोग गर्ने कलाकार, सरकारी सेवामा प्रवेश नियमित विद्यार्थी र निवर्तमान स्ववियु कार्यसमितिलाई सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राध्यापक डा. खडक केसीले क्याम्पसको शैक्षिक विकासका निम्ती विद्यार्थी संगठन र स्ववियु आवश्यक रहेको बताए । उनले स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पसलाई अब्बल क्याम्पसको रुपमा स्थापित गर्न महत्वपुर्ण भुमिका खेलेको बताए । केसीले स्ववियुले संचालन गरेको १ करोड रुपैयाँको छात्रबृत्ति कोषको प्रशंसा गर्दै क्याम्पस विद्यार्थीको राजनितिक गर्ने थलो मात्र नभएर केही नयाँ अभियान पनि संचालन गर्ने संस्थाको रुपमा विकसित भएको बताए । ‘क्याम्पसमा जेहेन्दार र विपन्न विद्यार्थीका लागि लक्षित गरी स्ववियुले छात्रबृत्ति कोषको स्थापना गर्न लागेको रहेछ केसीले भने,—‘यो निकै उदाहरणिय कार्य हो यसमा सवैको साथ र सहयोग पनि आवश्यक छ । बार्षिक प्रतिवेदन पनि निकै उत्कृष्ट लाग्यो । यस्ता रचनात्मक क्रियाकलापले क्याम्पसको शैक्षिक विकासका निम्ती ठुलो सहयोग पुग्नेछ । ’
कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख एवं क्याम्पसका पुर्व स्ववियु सभापती बसन्त कुमार श्रेष्ठले धौलागिरी क्याम्पससँग स्थानिय सरकारले समन्वय गरेर पे—इन्टनसिपका कार्यक्रमहरु अगाडी बढाउने बताए । उनले यहाँ पढेका विद्यार्थीलाई आफ्नै ठाउँमा रोजगारी सिर्जना गर्नका निम्ती स्थानिय सरकारले आगामी निति तथा कार्यक्रममा विभिन्न रचनात्मक कार्यक्रमहरु ल्याउन जरुरी रहेको बताए । कार्यक्रममा क्याम्पस संचालन समितिका अध्यक्ष प्र्रा.डा. दिनबहादुर थापा, क्याम्पस प्रमुख प्राध्यापक डा. रामप्रसाद उपाध्याय, त्रिभुवन विश्वविद्यालयका स्ववियु अध्यक्ष स्यामराज ओझा, नेपाली काँग्रेसका जिल्ला सचिव एवं जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, नेकपा एमालेका अध्यक्ष एवं क्याम्पसका पुर्व स्ववियु सभापति हिराबहादुर केसी, राष्ट्रिय जनमोर्चाका थानेश्वर सुवेदी, निवर्तमान स्ववियु सभापति मनिष थापा मगर, पुर्व स्ववियु सभापति चिरञ्जीवी गौतम, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य मनोज सापकोटा, नेविसंघ कास्कीका जिल्ला अध्यक्ष गौरब बराल, अनेरास्ववियुका ईकाइ सचिव घनश्याम रिजाल लगायतले बोलेका थिए ।
कार्यक्रम स्वतन्त्र विद्यार्थी युनियन धौलागिरी बहुमुखी क्याम्पकास अध्यक्ष सुदिप सागर कंडेलको अध्यक्षता, उपाध्यक्ष दिपक सुवेदीको स्वागत र कोषाध्यक्ष सृष्टि आचार्य र सुनिल गौतमको संचालनमा सम्पन्न भएको थियो ।