पोखरा- गण्डकी प्रदेश सरकारमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी बागलुङका समानुपातिक तर्फका सांसद कृष्णप्रसाद पाठकले पाएका छन । यो मन्त्रालय सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालय टुक्राएर बनाइएको हो ।
स्पष्ट र निडर वक्ताका रुपमा चिनिने पाठक २०१९ माघ ११ मा हालको बागलुङ नगरपालिका १२ अमलाचौर (साविकको अमलाचौर गाविस) मा जन्मिएका हुन । उनी २०३१ मा तत्कालिन नेकपा (मसाल) नजिक विद्यार्थी संगठनमा आवद्ध भएर राजनीतिमा प्रवेश गरेका थिए । २०३९ सालमा नेकपा (मसाल) को सेल कमिटीमा संगठित भएका उनलाई विद्यार्थी क्षेत्र हेर्ने जिम्मेवारी दिइएको थियो ।
२०४१ सालमा नेकपा (मसाल) परित्याग गरी नेकपा (माले) मा आबद्ध भए । ०४५ सालमा राजकाज अपराध मुद्दा लागेर ७ दिन हिरासत बसेका पाठक २०४६ को आन्दोलनमा सक्रिय भएका थिए । २०४६ मै एमाले जिल्ला कमिटी बाग्लुङको संस्थापक सदस्यमा निर्वाचित भए । एमालेनिकट पिपुल्स भोलुन्टियर्स र प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको संस्थापक केन्द्रीय सदस्य, संघको बागलुङको संस्थापक अध्यक्ष भइसकेका पाठकले २०४६ देखि २०५८ सम्म बाग्लुङमा एमालेको संगठन निर्माण अभियानमा लाग्दा नेकपा (मसाल) बाट पटकपटक कुटपिट र आक्रमणको सामना गर्नुपरेको थियो ।
२०५४ सालमा पार्टी विभाजन हुँदा गर्दा संस्थापन पक्षमै रहे । पार्टीको पाँचौं, छैटौँ, सातौँ र दशौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि तथा प्रथम विधान महाधिवेशन प्रतिनिधि, २०४८ को संसदीय निर्वाचनमा बाग्लुङ जिल्लाको क्षेत्र नं. २ बाट नेकपा (एमाले) प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका थिए । २०६१ सालमा नेकपा माओवादीद्वारा डेथ वारेन्ट जारी गरेपछि परिवारसहित उनी बिस्थापित भएका थिए । २०६१ चैत २९ गते माओवादीबाट गाउँबाट लखेटेको उनले बताए ।
२०६२/२०६३ सालको जनआन्दोलनमा १९ दिन हिरासतमा बस्नुका साथै प्रहरी हस्तक्षेपमा मेरूदण्डको भागमा चोट लागेर गम्भिर घाइते समेत भएका थिए । २०६७ सालबाट नेकपा (एमाले) धौलागिरी अञ्चल समन्वय कमिटी सदस्य, ०७४ मा एमाले बाग्लुङको आठौँ जिल्ला अधिवेशनबाट उपाध्यक्ष भएका थिए । २०७८ सालमा कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएका उनी सोही वर्ष सम्पन्न नवौं जिल्ला अधिवेशनमा अध्यक्ष पदको उम्मेदवार भएर पराजित बनेका थिए ।
२०७९ सालमा नेकपा (एमाले) गण्डकी प्रदेश संगठन कमिटीको सचिवालय सदस्य साथै प्रदेशको विज्ञान तथा प्रविधि विभाग प्रमुख रहेका बेला ०७९ सालको संसदीय निर्वाचनमा गण्डकी प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवार भई गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । संसदीय गतिविधिमा सक्रिय पाठक स्पष्ट र निडर वक्ताका रुपमा चिनिन्छन । गत असोजमा उनी गण्डकी प्रदेश कमिटीको सदस्यमा निर्वाचित भएका थिए । उनले शिक्षा संकायमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका छन ।