नारायण रिजाल - बागलुङ । निर्वाचनको बेला उम्मेदवार हुँदा अधिकाशंले आफु निर्वाचित भए सँगै राज्यबाट कुनै पनि तलब भत्ता नलिने घोषणा गर्छ । निर्वाचित हुन्छन तर अधिकाशंले भने आफ्नो पुरानो बाचा कार्यान्वयमा ल्याउँदैनन । जिल्लाको ताराखोला गाउँपालिका अध्यक्ष धन बहादुर विक हिमालले भने निर्वाचन अगाडी तलब भत्ता सामाजिक कार्यमा खर्च गर्ने प्रतिवद्धता गरेको त्यो गरेका छन । विकले आफु निर्वाचित भए सँगै जम्मा भएको तलब भत्ता सामाजिक कार्यमा खर्च गरेका छन । उनले आफ्नो एक वर्षको तलब भत्ता जनयुद्वका घाईते, गाउँपालिकाको शैक्षिक कोष लगायतका क्षेत्रमा सहयोग गरेका छन ।
अध्यक्ष विकले जनप्रतिनिधिमा निर्वाचित भएको एक वर्षको आफ्नो व्यक्तिगत निजी सहयोगी, जनयुद्वका घाईते, पालिकाको शैक्षिक कोष, आफ्नो राजनीतिक दल र पालिकाका एक पत्रकारलाई सहयोग हस्तान्तरण गरेका हुन् । ‘मैले निर्वाचनको बेलामै गाउँपालिकबाट पाउने तलब भत्ता आफ्नो लागि खर्च गर्दिन भनेको थिएँ,’ उनी भन्छन्,‘पूर्वप्रतिवद्धता अनुसार अहिले विभिन्न क्षेत्रका लागि यो तलब खर्च गर्ने निधो गरेको छु ।’
४ लाख ४८ हजार ८० रुपैयाँ सामाजिक कार्यमा
अध्यक्ष विकले प्रतिबद्धता अनुसार एक वर्षमा तलब भत्ता सहित अध्यक्षले पाउने पाँच शिर्षकमा जम्मा भएको ४ लाख ४८ हजार ८० रुपैयाँ सहयोग गरेका हुन । उनले आफ्ना निजी सहयोगी धन बहादुर घर्ती मगरलाई १ लाख १६ हजार रुपैयाँ, जनयुद्वका घाईते बम बहादुर रोका ‘प्रशान्त’लाई ७० हजार रुपैयाँ, गाउँपालिकाको शैक्षिक कोष निर्माण स्थापना गर्न गुणस्तर शिक्षालाई १ लाख २२ हजार ८ सय ६८ रुपैयाँ, जनप्रतिनिधिको एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक पत्रकार सम्मेलनलाई ६० हजार रुपैयाँ, ताराखोलामा रहेको जनमुखी न्यूजका पत्रकार पूर्णभद्र निउरेलाई ६ हजार रुपैयाँ र नेकपा माओवादी केन्द्रलाई लेबी बापत ७३ हजार २ सय १२ रुपैयाँ सहयोग गरेका छन् ।
जनयुद्धका घाईते र शैक्षिक कोष निर्माणमा खर्च
‘मलाई सधैं सहयोगीको रुपमा भूमिका खेलेका सहयोगी भाईलाई सहयोग गरे । मलाई सहयोग गरे पनि कुनै तलबभत्ता उसले लिएको थिएन । गाउँपालिकाको शैक्षिक कोषका लागि, पार्टीको कोषका लागि र पत्रकारको हौसलाका लागि खर्च गर्ने योजना बनाए,’ उनले भने,‘जनयुद्धमा लागेर वर्तमान उपलब्धी ल्याउन महत्वपूर्ण भूमिका खेल्नुभएका साथी अहिले घाईते हुनुहुन्छ उहाँका लागि पनि सहयोग गर्ने निधो गरे ।’ अध्यक्ष विकले चुनावमा आफुले दुई ओटा नारा उठाएको र त्यसलाई पुरा गर्न लागेको बताए । उनले गाउँपालिकाबाट बसाइसराइ र रोजगारीको लागि विदेशीने क्रम बढ्दो रहेकोले पालिकामै रोजगार सिर्जना गर्ने चुनावी घोषणा बमोजिम पालिकामा श्रम बैंक कार्यक्रम र सहकारी स्थापना मार्फत कार्य सुरुवात गरिएको बताए । निर्वाचनको समयमा आफ्नो तलब भत्ता र पारिश्रमिक वापतको रकम नलिने प्रतिबद्धता बमोजिम एक वर्ष पुगेको अवसरमा आफुले पाउने सबै सेवासुविधा वितरण गरेको अध्यक्ष विकको भनाई छ ।
वडा अध्यक्षको पनि सवै तलब भत्ता सामाजिक कार्यमा
विक मात्र है ताराखोला गाउँपालिका–३ का वडाअध्यक्ष कर्ण बहादुर भण्डारीले पनि सम्पूर्ण सेवा सुविधाको रकम वडाको योजनामा खर्च गरेका छन् । वडाअध्यक्ष भण्डारीले चुनावमा वडाअध्यक्षमा निर्वाचन पश्चात सम्पूर्ण सेवा सुविधाको रकम वडाको योजनामा समावेश गर्ने प्रतिबद्धता अनुरुप, शिक्षा, स्वास्थ्य र सामाजिक शिर्षकमा सहयोगगरेको बताए ।
वडाअध्यक्ष भण्डारीले स्वास्थ्य तर्फ स्वास्थ्य चौकी सरसफाईमा १हजार,पानी मर्मतमा ११ हजार पाँच सय, टिटि सुई खरिदमा ३ हजार, नागरि दिवस कार्यक्रममा १४ हजार, सुत्केरी आमा पोषण कार्यक्रमलाई ३ हजार रुपैयाँ, हिल गाउँ महिला भवनमा ३० ओटा फर्निचर कुर्ची खरिद २१ हजार, जेरा बराखोला बाटो मर्मत २ हजार ४ सय रुपैयाँ, मकाखोर पनादी मोटरबाटो सरसफाई ४ हजार सादी हुलाक दराजखरिद १५ हजार, घुसमेली ढुङ्गा फोरेको ५ हजार रुपैयाँ, डोण्टा मोटरबाटो सरसफाई ४ हजार रुपैयाँ र हिलगाउँ बाटो मर्मतमा ९ हजार रुपैयाँ सहयोग गरेको बताए । यसरी आफ्नो पारिश्रमिक सामाजिक कार्यमा खर्च गर्ने जनप्रतिनिधि जिल्लामा कमै रहेका छन ।