बागलुङ- बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विपेन्द्रप्रताप केसीलाई क्रान्तिकारी कम्युनिष्ट पार्टीले कालोमोसो दलेको छ । आइतबार विहान कार्यालय हिँडेका केसीलाई बीचबाटोमा मोटरसाइलक रोकी उक्त पार्टीक कार्यकर्ताले कालोमोसो दलेका हुन् । म्याद गुज्रेको औषधि खुवाएर नागरिको जीवनमाथि खेलवाड गरेको भन्दै कारबाही स्वरुप कालोमोसो दलेको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बागलुङले विज्ञप्ती मार्फत जनाकारी गराएको छ । जिल्ला इन्चार्ज अजनवी र संयोजक प्रविणद्वारा जारी विज्ञप्तीमा बडिगाड गाउँपालिका अध्यक्ष र स्वास्थ्य शाखा प्रमुखको मिलेमतोमा म्याद सकिएको औषधि खरिद गरी कमिशनको खेलमा विद्यार्थीको स्वास्थ्यमा खेलवाड गरेकोले कारबाही गरिएको उल्लेख गरिएको छ ।
म्याद सकिएको औषधि वितरण गरी खुवाई सकेपछि जनताको विरोध रहँदा रहँदै पनि गाउँपालिका अध्यक्ष र कर्मचारीको सेटिङमा आर्थिक दुरुपयोग गरी जनताप्रति उत्तरदायी नभएको भन्दै कारबाही गरिएको पार्टीले जनाएको छ । कारबाही पत्र सार्वजनिक गर्दै क्रान्तिकारी पार्टीले भनेको छ – आर्थिक चलखेल सत्ताको दुरुपयोग गरी थप लुटतन्त्र मच्चाउँदै जाने र जनताको आवाजलाई दमन गर्ने कुनै पनि षड्यन्त्र मान्य नहुने भन्दै आगामी दिनमा त्यस्ता गतिविधि नगर्न चेतावनी दिएको छ ।
यस घटनामा नेपाल स्वास्थ्य कर्मी संघ गण्डकीले प्रेस विज्ञप्ती निकालेर खेद प्रकट गरेको छ । नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशका कार्यबाहक अध्यक्ष देवप्रकाश घिमिरेले आईतबार एक विज्ञप्ती जारी गरेर स्वास्थ्यकर्मीमाथि अपराधीक गतिविधि गर्नेलाई कारबाहीको माग गरेका छन् । कार्यालय जाँदै गर्दा बलपूर्वक गरिएको दुव्र्यव्यहारप्रति स्वास्थ्यकर्मी संघले आपत्ती जनाएको छ । उसले घटनाको तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।