पाँच महिना देखी बन्द रहेको शहरी स्वास्थ्य केन्द्र पुन संचालनमा 

  • असार १२, २०८२

बागलुङ- जिल्लाको बागलुङ नगरपालिका–१३ पैयुँपाटा जलजला डाँडाथरमा रहेको पैयुँपाटा सहरी स्वास्थ्य केन्द्र पाँच महिना देखी बन्द अवस्थामा रहेको थियो । गत माघ ३ गते देखी बन्द अवस्थामा रहेको स्वास्थ्य केन्द्र विहिबार देखी पुन संचालनमा आएको छ । स्वास्थ्य संस्थामा नियमित काम गर्दै आएका करारका स्वास्थ्यकर्मी जागिर छाडेर विदेश गएपश्चात जनशक्ति अभावका कारण स्वास्थ्य संस्था बन्द अवस्थामा रहेको थियो । 
बन्द अवस्थामा रहेको स्वास्थ्य संस्था संचालनका लागि बुधबार स्थानिय नागरिक र सेवाग्राहीहरु बागलुङ नगरपालिका कार्यालयमा डेलिकेशनका लागि गएका थिए ।  उनिहरुले स्वास्थ्य संस्था तत्काल संचालनमा ल्याएर सेवा प्रदान गर्नका निम्ती माग गरेका थिए । जनताको गुनासो पश्चात विहिबार बागलुङ नगर अस्पतालका मेडिकल अधिकृत सन्तोष आचार्य र हेल्थ असिष्टेण्ट राधा पौडेल उक्त स्वास्थ्य संस्था पुगेर सेवा सुचारु गरेका छन । 
लामो समय देखी बन्द अवस्थामा रहेको स्वास्थ्य संस्था संचालनका लागि बारम्बार नगरपालिका र वडा कार्यालयमा जानकारी गराएपनि संचालनमा आउन नसकेपछि बुधबार स्थानिय ४१ जनाको टोली नगरपालिका पुगेर तत्काल सेवा सुचारुका लागि अनुरोध गरेको स्थानिय प्रकाश सुवेदी रखाल बताउँछन । 
‘गत माघ देखी नै स्वास्थ्य संस्था बन्द छ, स्वास्थ्य जस्तो क्षेत्रमा सरोकारवाला अलि संवेदनशिल बन्न सकेनन् रखालले भने,–‘बन्द भएको स्वास्थ्य केन्द्र संचालनका निम्ती सवै नागरिक उठेर नगरपालिका नै जानुपर्ने बाध्यता आयो । नगरप्रमुख बाहिर रहेका कारण भेट्न सकेनौं उपप्रमुख, निमित्त प्रमुख प्रशासकिय अधिकृत र स्वास्थ्य संयोजकलाई भेटेर हाम्रा कुरा राख्यौं जसरी पनि एक जना स्वास्थ्यकर्मी पठाएर तत्काल सेवा सुचारु गर्नका निम्ती आग्रह ग¥यौं विहिबार देखी सेवा सुरु भएको छ ।’ उनले अबको दिनमा पनि पुन कर्मचारीकै कारण देखाएर स्वास्थ्य संस्था बन्द नगर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन । लामो समय देखी स्वास्थ्य संस्था खोलिँदा यहाँ रहेका केही औषधीहरुको म्याद भ्याईएको हुँदा नगरपालिकाले तत्कालै औषधीको व्यवस्थापन गर्न जरुरी रहेको रखाल बताउँछन । 
नियमित काम गर्दै आएको स्वास्थ्यकर्मी विदेश गए पश्चात जनशक्तिको अभावका कारण स्वास्थ्य संस्था बन्द रहेका वडा अध्यक्ष नारायण शर्मा पौडेल बताउँछन । पौडेलका अनुसार नगरपालिकाको स्वास्थ्य शाखामा जानकारी गराएता पनि नयाँ जनशक्ति भर्ना गर्न ढिलो गरेका कारण स्वास्थ्य केन्द्र बन्द अवस्थामा रहेको थियो । 
नियमित संचालनका निम्ती नगरपालिकाले करारमा जनशक्ति भर्ना गर्न विज्ञापन गरेकोे र विज्ञापनबाट छनौट भएका स्वास्थ्यकर्मीलाई स्वास्थ्य केन्द्रमा खटाईने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले बताए ।  


नगरपालिकामा केही स्वास्थ्यकर्मी अध्ययन विदामा रहेका कारण अन्य स्वास्थ्य संस्थाबाट कामकाजका लागि पठाउने अवस्था नरहेको र नयाँ कर्मचारी भर्नाको प्रक्रियामा रहेका कारण केही दिनमा नै स्वास्थ्य संस्थामा कर्मचारी पठाएर नियमित सेवा संचालन गर्ने खनालले जानकारी दिए । 
२०७० सालमा तत्कालिन अवस्थामा पैयुँपाटा सामुदायिक स्वास्थ्य इकाईको रुपमा स्थापना भएको स्वास्थ्य संस्था हाल शहरी स्वास्थ्य केन्द्रको रुपमा रहेको छ । यस स्वास्थ्य संस्थामा दैनिक १५ देखी २० जना सेवाग्राही आउने गरेको स्थानिय बताउँछन । पैयुँपाटाको साविकको वडा नं. ४ र ५ अमलाचौरको साविकको  ३ नं. वडाका नागरिकहरु यहाँ सेवा लिन आउने गरेका छन । नियमित सेवा संचालन नहुँदा यस क्षेत्रका नागरिक सामान्य टाउको दुखेमा पनि पैदल यात्रामा बागलुङ नगर अस्पताल पुग्नुपर्ने बाध्यता रहेको छ । 

 

प्रतिक्रिया