बागलुङ - निलगिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको बलेवा भैरव सदस्य सेवा केन्द्रको बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । बागलुङ सदरमुकाममा मुख्य कार्यालय रहेको सहकारीले बागलुङ नगरपालिका—१३ पैयुँपाटामा आफ्नो सदस्य सेवा केन्द्र विस्तार सँगै १६ औं बार्षिक साधारण सभा पैयुँपाटामा सम्पन्न गरेको छ ।
साधारण सभाको उद्घाटन गर्दै बागलुङ नगरपालिका वडा नं. १३ पैयुँपाटाका वडा अध्यक्ष एवं सेवा केन्द्रका सल्लाहकार नारायण शर्मा पौडेलले सहकारी सवै वर्गको साझेदारी संस्था रहेको बताए । उनले पछिल्लो समयमा केही एकाद सहकारीले कारोबार विगारेको कारण राम्रो गरेका सहकारीलाई पनि यसको प्रभाव परेको बताए । पौडेलले सवै सहकारीमा यस्तो समस्या नरहेका कारण आम शेयर सदस्यले ढुक्क भएर कारोबार गर्नका निम्ती आग्रह गरे ।
कार्यक्रममा निलगिरी सहकारीका केन्द्रीय अध्यक्ष नारायण पौडेलले सहकारीमा कुनै समस्या नरहेको बताए । उनले निलगिरी सहकारी कुनै एक व्यक्ति विशेषले नभएर सामुहिक रुपमा संचालन गरेको सहकारी भएका कारण कुनै समस्या नरहेको बताए । पौडेलले अहिलेको अवस्थामा पनि आफ्नो शेयर सदस्यहरुको सहजताका निम्ती सेवा विस्तार गर्दै पैयुँपाटामा सदस्य सेवा केन्द्र संचालन गरेको बताए ।
कार्यक्रममा बागलुङ नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष चक्रबहादुर खत्री, त्रिभुवन मावि पैयुँपाटाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं संस्थाका शेयर सदस्य डा. रामबहादुर केसी, बलेवा सामुदायिक सहकारीका अध्यक्ष उमानाथ शर्मा, सामाजिक व्यक्तित्व रेशमबहादुर खत्री लगायतले अहिलेको परिस्थितिमा पनि निलगिरी सहकारीले आफ्नो सेवा केन्द्र विस्तार गरी प्रदान गरेको सेवालाई प्रशंसा गरेका थिए ।
निलगिरी बचत तथा ऋण सहकारीले गत बैशाख देखी पैयुँपाटामा आफ्नो सदस्य सेवा केन्द्र स्थापना गरेको थियो । संस्थामा हाल १ हजार २ सय २८ जना शेयर सदस्य रहेका छ । संस्थाको हाल ३ करोड ७९ लाख ३४ हजार ८ सय शेयर पुँजी रहेको छ भने हाल सम्म १ अर्ब ४९ करोड, ७२ लाख ८२ हजार २२० रुपैयाँको कारोबार गरेको छ । साधारण सभामा कोषाध्यक्ष कृष्ण प्रसाद शर्माको आर्थिक प्रतिवेदन, सचिव मिनबहादुर केसीको प्रगती प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रम वलेवा भैरव सदस्य सेवा केन्द्रका संयोजक एकनाथ रेग्मीको अध्यक्ष सह संयोजक रुद्र पौडेलको स्वागत र केन्द्रीय कार्यालयका सचिव मिनबहादुर केसी मिलनको संचालनमा सम्पन्न भएको थियो । सहकारीले यही पौष १४ गते शनिबारका दिन बागलुङ बजारमा १६ औं बार्षिक साधारण सभा गर्ने बताएको छ ।