बागलुङ - चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसी बागलुङको पश्चिम निसीखोला गाउँपालिकामा नागरिकको उपचारमा खटेका छन । उनि बुधबार सुटुक्क निसीखोला गाउँपालिका–३ मा रहेको बोहरागाउँ स्वास्थ्य चौकीमा पुगेका थिए । उनले सोही स्वास्थ्य चौकी माफर्त यस क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा दिएका छन ।
बुधबार स्वास्थ्य चौकी पुगेका केसीले बिरामीको चेकजाँच सँगै उपचार गरिरहेको बोहरागाउँ स्वास्थ्य चौकीमा प्रमुख कसिन्द शाहीले जानकारी दिए । शाहीका अनुसार कुनै खबर विना नै स्वतस्फुर्त रुपमा केसी स्वास्थ्य चौकी पुगेका थिए । ‘स्वास्थ्यचौकीमा हामी विरामी हेर्दै थियौं । डा.साब टुप्लुक्क आउनुभयो । यहाँको इन्चार्ज को हो ? भन्नुभयो,–शाहीले भने,‘म हो भनेर मैले जवाफ दिए । टेलिभिजनमा देखेको भएर मैले उहाँलाई सहजै चिने, उहाँले म डा. गोविन्द केसी हो तिन दिन सम्म यही बस्छु यस क्षेत्रमा सवै नागरिकलाई खबर गरिदिनु कुनै रोगको समस्या भए आउनुहुँन्छ । उहाँहरुको स्वास्थ्य जाँच गर्छु ।’ डा. केसीले यसो भनेपछि कसिन्द्रले गाउँपालिकामा खबर गरे र केही आवश्यक औषधीको व्यवस्थापन गर्न अनुरोध गरेका थिए ।
गाउँपालिकाले स्वास्थ्य संस्थामा भएका बाहेक अन्य केही आवश्यक औषधीहरु उपलब्ध गराएको निसीखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख टोपबहादुर चन्दले जानकारी दिए । ‘डा. केसी आएर विरामीको उपचार गर्न लागेको थाहा पाएपछि हामीले केही आवश्यक औषधी पढायौं स्वास्थ्य शाखा प्रमुख चन्दले भने,–‘अहिले उहाँले विषेश त हाडजोर्नीको समस्या भएको विरामी हेर्नुभएको छ सामान्य समस्या भएका विरामीको पनि स्वास्थ्य जाँच गरेर औषधी लेखिदिनुभएको छ स्वास्थ्य संस्थामा भएका स्वास्थ्यकर्मीले उहाँलाई सहयोग गरेका छन । डाक्टर साब आए सँगै यस क्षेत्रका नागरिकलाई ठुलो राहत भएको छ ।’ उनले यहाँका नागरिकलाई ‘सप्र्राईज’ भएको बताए ।
केसी एक्लै बोहोरागाउँ स्वास्थ्य चौकी पुगेका थिए । उनले दैनिक झण्डै ५० देखी ६० जना विरामीको उपचार गराएको स्वास्थ्य चौकीमा प्रमुख शाहीले बताए ।
स्वास्थ्य चौकीमा सेवा दिन केसी पुगेपछि उपचार गर्न आउने बिरामीको निकै घुइँचो लागेको शाहीले बताए । लामो समयदेखि उपचार गर्न नसकेर रोग पालिरहेका बिरामीले सेवा लिएका छन ।
केसी पुगेको ठाँउ जिल्लाको दुर्गम गाउँ हो । स्वास्थ्य सेवामा निकै पछाडि रहेको यो क्षेत्रमा डाक्टर केसी त्यहाँ पुगेर सेवा दिंदा बिरामीलाई ठूलो राहत भएको छ । यहाँका नागरिकहरु खुसी रहेका छन । ‘डा. केसी यहाँ आउनुहोला र हामीले सेवा पाउँला भन्ने मैले कहिलै कल्पना पनि गरेको थिएन निसीखोला गाउँपालिका ३ बोहोरागाउँका ४६ बर्षिय लक्ष्मण सुनार भने,–‘मेरो घुँडाको समस्या थियो नियमित दुखाई थियो धेरै अस्पताल धाए तर निको भएको थिएन । घुँडामा पानी जमेको रहेछ डाक्टर साबले खै कसरी पानि निचोरेर फालिदिनुभयो दुखाई कम भै सकेको छ । निको हुन्छ भन्नुभएको छ आशा गरौं ।’ उनले अन्य विरामीको पनि लामो समय सम्मको समस्या समाधान भएको बताए । केसीले विरामीको उपचार सँगै गाउँपालिकाले उपलब्ध गराएको औषधी पनि दिएका छन ।
डा. केसीले बोहोरागाउँ स्वास्थ्य चौकीमा शुक्रबार सम्म विरामीको उपचार गर्ने बताए । अघिल्लो वर्ष ढोरपाटनको बोबोङ क्षेत्रका नागरिकको उपचारमा आएको केसी यसपाली निसीखोला क्षेत्रमा आएको बताउँछन । केसीले पहाडी जिल्लामा पुगेर त्यहाँका नागरिकको स्वास्थ्य अवस्था बुझदै र उपचार गर्दै आएका छन । यस अगाडी पनि बाजुरा, बझाङ्ग, दार्चुल्ला, बैतडी लगायत जिल्लामा पुगेर सेवा दिइसकेका थिए ।
बेला बेलामा मेडिकल माफिया, नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध गर्दै आएका उनी पटक/पटक अनसन बस्दै आएका छन ।