लाञ्छना र भेदभावका कारण एचआईभी संक्रमितहरु खुल्न कठिन भएको बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन । ३८ औँ विश्व एड्स दिवसको सन्दर्भ पारेर प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले आयोजना गरेको बागलुङका पत्रकारहरुसंगको छलफलमा हाम्रो समाजमा अझै पनि एचआईभी संक्रमितलाई हेर्ने दृष्ट्रिकोण सकारात्मक बन्न नसकेको बताएका हुन । कार्यक्रममा एचआईभी एड्सको वर्तमान अवस्था र यसका रोगथामका उपायबारेमा छलफल गरिएको थियो । सहभागीले संक्रमितमा हुने भेदभावकै कारण अहिले समाजमा खुल्न नसकेका कारण उपचारमा समस्या भएको बताएका थिए । यस वर्ष अवरोधहरु पार गरौ एड्स प्रतिकार्य रुपान्तरण गरौ भन्ने मुल नाराका साथ दिवस मनाइएको छ ।
कार्यक्रममा एचआईभी एड्स अहिले पनि विश्वमा महामारीकै रुपमा रहेकाले यसको रोकथामका बारेमा सबै सचेत हुनुपर्ने बताईएको थियो । कार्यक्रममा सहजीकरण गर्दै प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले अहिले पनि विश्वमा वार्षिक १३ लाख व्यक्तिहरु यसको संक्रमणमा पर्ने गरेको बताए ।
सन् २०३० सम्म एड्स रोगलाई नियन्त्रण गर्ने उद्देश्यका साथ अभियान जारी रहेको उनले बताए । अहिले औषधीको उत्पादन सुरु भएसंगै एचआईभी एड्स संक्रमितहरु लामो समय बाँच्नसक्ने भएको समेत उनले बताए । ‘पहिले यसलाई प्राणघातक रोग भनिन्थ्यो, अहिले यो रोग भन्दा पनि अवस्थाको रुपमा लिन थालिएको छ,’उनले भने,‘आफ्नो राम्रो हेरचाह गर्ने र नियमित औषधी सेवन गर्नेहरु २५ दखि ३० वर्षसम्म बाँचेको देखिएको छ ।’
अस्पतालबाट औषधी निःशुल्क पाईने उनले बताए । नेपालमा अहिले ३४ हजार बढि एचआईभी एड्स संक्रमित रहेका छन् भने हरेक दिन १.७ जना संक्रमित हुने गरेको तथ्याङ्क छ । बागलुङमा १० वर्षमुनिका १९ जना बालबालिका एचआईभी एड्सबाट संक्रमित छन् भने अहिले २१५ जनाले नियमित औषधी सेवन गरिरहेका छन् । लाञ्चना र भेदभावका कारण एचआईभी संक्रमितहरु खुल्न कठिन हुने गरेको उनले बताए ।
बागलुङमा धौलागिरि अस्पताल र बुर्तिबाङ अस्पतालबाट औषधी निःशुल्क वितरण हुन्छ । कार्यक्रममा बोल्दै कार्यालय प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक प्रविण शर्माले एचआईभी एड्स रोकथाम गर्नका लागि सबैले क्षेत्र लाग्नुपर्ने बताए । ‘यसका लागि स्थानीय तहदेखि संघ प्रदेश र सरोकारवाला सबै क्षेत्र लाग्नुपर्छ,’उनले भने,‘यो कुरा लुकाउनु भन्दा आफै अस्पताल पुगेर औषधी सेवन गर्दा जीवन लामो समय जिउन सकिन्छ भन्ने चेतना जगाउनुपर्छ ।’
असुरक्षित यौनसम्पर्क, रजतजन्य पदार्थको आदान प्रदान र लागूऔषध प्रयोगकर्ताले सिरिन्ज साटासाट गर्दा यो रोग बढि सर्ने गरेको उनले बताए । कार्यक्रममा स्वास्थ्य कार्यालय बागलुङका तथ्याङ्क अधिकृत घनश्याम सापकोटाले स्वागत गरेका थिए ।