नसर्ने रोग रोकथामका लागि स्थानिय सरकार सँग समन्वय गरेर काम गर्छौ - मन्त्रि पाठक

  • भदौ २४, २०८१

बागलुङ- गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले पछिल्लो समयमा नसर्ने रोगको समस्या झनै विकाराल बन्दै गएको हुँदा यसको रोकथामका निम्ती प्रदेश सरकारले जोड दिने बताएका छन । स्वास्थ्य कार्यालय बागलुङको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै पाठकले नसर्ने रोगको समस्यालाई प्रदेश सरकार स्थानिय सरकार सँग समन्वय गरी यसको न्युनिकरण तथा रोकथामको प्रयास थाल्ने बताए । उनले  स्वास्थ्य क्षेत्रमा नीतिगत सुधार गर्दै नसर्ने रोगको रोकथाम गर्न सकेमा आम नागरिकको ज्यान बचाउन सकिने धारणा व्यक्त गरे । 
पाठकले रोग लागेर मृत्यु भएकाहरुमा कुल मृत्युको ७१ प्रतिशत नसर्ने रोगको कारण भएको पत्ता लागेको बताउँदै उक्त तथ्यांक भेटेकै कारण पदबहाली गर्दा नसर्ने रोगको स्क्रिनिङ गर्ने निर्णय गरेको समेत जानकारी दिए । दुई दिन सम्म स्वास्थ्यका सवै सूचकलाई मसिनो गरी नियालेका पाठकले आफु स्वास्थ्य क्षेत्रको सुधारका लागि काम गर्ने र यसमा कर्मचारीहरुले सहयोग गर्नका निम्ती आग्रह गरे । पाठकले स्वास्थ्य क्षेत्रमा हुने वेथिति रोक्न प्रयास गर्ने भन्दै कोही कसैलाई पनि गलत काम गरे छुट नहुने बताए । हामी संवेदनशिल क्षेत्रमा काम गर्न आएका छौं । स्वास्थ्य क्षेत्रमा सिमित श्रोत साधनको उपभोगले आम सर्वसाधारणको स्वाथ्यको हेरचाह गर्नुछ । पाठकले भने.हरेक क्षेत्रमा नतिजा आउनेगरी काम गर्नुपर्छ । अब गण्डकी प्रदेशलाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउनुपर्नेछ । त्यसका लागि सवै लागौं र सहयोग गरौं । 
उनले अस्पतालको संख्या बढाएर नागरिकको उपचार र सेवामा पहुँच बढाउन खोजेको बताए । नागरिकको स्वास्थ्य सेवामा सरकारले लगानी बढाउँदा विकास निर्माण र अन्य क्षेत्रको सुधार छिटो हुने उनको दाबी थियो । त्यस बाहेक बालविवाह अन्त्य र आमा सुरक्षाका कार्यक्रम प्रभावकारी भएमा गण्डकी प्रदेश स्वास्थ्य क्षेत्रमा अब्बल बन्ने पनि पाठकले बताए । मन्त्री पाठकले आफ्नो इच्छाशक्ती र स्वास्थ्यकर्मीको पहलकदमीले त्यो सफलता पाउने पनि दाबी गरेका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले स्वास्थ्य सेवा प्रभावकारी हुँदा दक्ष जनशक्ती निर्माणमा सहयोग पुग्ने बताए । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले स्वास्थ्यकर्मी प्रोत्साहित भएमा सेवा चुस्त हुने भन्दै मातृ मृत्यु शुन्य बनाउने अभियानमा स्थानीय सरकारले पनि साथ दिने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले सूचकहरु सुधार गर्नेगरी काम गर्दा उपलब्धी पनि देखिने र आम नागरिकको स्वास्थ्य पनि सुधार हुने बताए । दुई दिन सन्चालन भएको समिक्षा कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्का, प्रदेश आपुर्ति व्यवस्थापन केन्द्रका महानिर्देशक डा. रेखा पौडेल, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका महानिर्देशक मनमोहन मिश्र, तालिम केन्द्रका निमित्त महानिर्देशक हेमन्त पौडेल, क्षयरोग केन्द्रका निमित्त निर्देशक डा. विशाल तिवारी लगायतले प्रदेश सरकार जिल्ला हुँदै स्थानिय सरकार सँग समन्वय गरेर स्वास्थ्य क्षेत्रको सुधारका लागि काम गर्ने बताए । उनिहरुले स्थानिय तहका समस्यालाई समाधानको उपाय खोज्ने बताए । 
समिक्षामा बागलुङ नगरपालिकामा जनस्वास्थ्य अधिकृत रामप्रसाद खनाल, गलकोट नगरपालिकामा जनस्वास्थ्य अधिकृत सुशिल पौडेल, ढोरपाटन नगरपालिकामा जनस्वास्थ्य अधिकृत भुमिश्वर शर्मा, जैमिनी नगरपालिकामा स्वास्थ्य शाखा प्रमुख गोविन्द शर्मा आचार्य नगरपालिकाबाट बार्षिक रुपमा सम्पादित कार्यक्रमका बारेमा प्रस्तुतीकरण गरेका थिए । साथै बरेङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदमबहादुर पुन ताराखोलाका उदिन थापा, निसीखोलाका टोपबहादुर चन्द र तमानखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलबहादुर छन्त्यालले पालिकाको बार्षिक प्रगति प्रस्तुत गरेका थिए । 
समीक्षामा गतवर्ष कामको मूल्यांकनको आधारमा बडिगाड गाउँपालिका प्रथम, गलकोट नगरपालिका द्वितिय, तमानखोल तृतिय र बरेङ चौथो भएका थिए । उनीहरुलाई पुरस्कृत समेत गरिएको छ  गरिएको थियो । कार्यालयले गत वर्षको बार्षिक प्रगतीको आधारमा स्वास्थ्य संस्थालाई पनि पुरस्कृत गरेको थियो । जसमा निसीखोला गाउँपालिकाका बोहोरागाउँ स्वास्थ्य चौकी प्रथम, बडिगाड गाउँपालिका ५ मा रहेको ग्वालीचौर स्वास्थ्य चौकी दोस्रो, बडिगाड ९ मा रहेको दर्लिङ स्वास्थ्य चौकी तेस्रो र बडिगाड गाउँपालिका २ को खर्बाङ आधारभुत स्वास्थ्य केन्द्र चौथो भएको थियो । 
व्यवस्थापनतर्फ व्यानर समेत बनाएर रिपोर्टिङ गर्नेमा गलकोट प्रथम, ढोरपाटन द्वितिय, बागलुङ तृतिय भएका थिए । समीक्षापछि आगामी दिनको कार्ययोजना समेत बनाएर पालिकाका स्वास्थ्य शाखाका प्रमुख सहितका स्वास्थ्यकर्मी कार्यक्षेत्रमा खटिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले बताए ।
कार्यक्रममा स्वास्थ्य सेवा निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्का सहितका नेतृत्व पनि सहभागि थिए । उक्त अवसरमा  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेल ले जिल्लामा आत्महत्याको न्युनिकरणका लागि के कार्यक्रम गर्न सकिन्छ भन्ने विषयमा जानकरी गराएका थिए । कार्यक्रमम धौलागिरी अस्पतालका डा. रविरञ्जन प्रधान, र आर्युवेद औषधालयका प्रमुखले वार्षिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रम स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यको अध्यक्षता क्षयकुष्ठ निरिक्षक देवप्रकाश घिमिरेको स्वागत जनस्वास्थ्य निरिक्षक लक्ष्मी शर्माको धन्यवाद मन्तव्य र तथ्याङ्क अधिकृत घनश्याम सापकोटाको संचालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया